स्कटल्यान्डसँग नेपाल ९ विकेटले पराजित

काठमाडौं , २०७२ श्रावन १६,

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन च्याम्पियन्सिप अन्तरगत पहिलो चरणको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ९ विकेटले पराजित भएको छ ।

शुक्रबारको खेल पानी परेर स्थगित भएपछि आज खेलाइएको थियो । स्कटल्यान्डस्थित ऐरमा भएको खेलमा नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याउँदै स्कटल्यान्डले १.४ ओभर ब्याटिङ गर्दै विना नोक्सान १५ रन जोडेको अवस्थामा खेल रोकिएको थियो ।

आज सोही ओभरबाट शुरु भएको खेलमा स्कटल्यान्डले एक विकेट गुमाउँदै जित निकालेको हो । वर्षाले प्रभावित भएको खेल २२ ओभरमा छोट्याएर स्कटल्यान्डलार्इ ११० रनको नयाँ लक्ष्य पाएको थियो ।

स्कटल्यान्डले मात्र एक विकेट गुमाउँदै लक्ष्य भेट्टाएपछि पहिलो खेलमा साहसिक प्रदर्शन गर्दै ३ रनको झिनो अन्तरले पराजित नेपाल दोस्रो खेलमा भने फराकिलो हार भोग्न बाध्य भयो । नेपालका लागि सोमपाल कामीले एक विकेट लिए ।

यसअघि स्कटल्यान्डले टस जितेर ब्याटिङको निम्तो दिएपछि नेपालले ४९.१ ओभर खेल्दै सबै विकेट गुमाइ १६७ रन बनाएपछि स्कटल्यान्डले सहज लक्ष्य पाएको थियो ।

सामान्य स्कोर बनाउने क्रममा नेपालका लागि शरद भेसवाकरले सर्वाधिक ३० रन जोडेका थिए । त्यसैगरी ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र पृथु बास्कोटाले समान १६/१६ रन जोडेका थिए ।

स्कटल्यान्डविरुद्धको पहिलो खेलमा सफल ब्याटिङ लाइनअप आजको दोस्रो खेलमा फ्लप भयो । पहिलो खेलमा ९७ रन जोडेका अनिल मण्डल र अर्का ओपनर महेश क्षेत्री दोहोरो स्कोर नगरी आउट भएका थिए ।

नेपालका लागि बसन्त रेग्मीले १९ र अविनाश कर्णले १७ रन जोड्न सफल भए । कप्तान पारस खड्काले १० रनमात्र जोड्न सके ।

कसिलो बलिङ गरी नेपाललाई सामान्य स्कोरमा रोक्ने क्रममा स्कटल्यान्डका लागि अलास्डेयर इभान्सले ३, साफ्यान सरिफ, गाभिन म्यैन र मिचेल लेस्कले समान २/२ विकेट लिए ।

श्रोत : अन्नपुर्ण पोस्ट

Related posts