ताजा खबर

कास्कीमा पहिरोले मृत्यू हुनेको संख्या ३५ पुग्यो, ४ अझै वेपत्ता

दिननाथ बराल,

पोखरा, २०७२  साउन १६,

कास्कीका तीन गाविसमा बुधबार राती गएको पहिरोमा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ । पहिरोमा परी वेपत्ताहरुको खोजि गर्ने क्रममा थप ३ जनाको शव भेटिएपछि मृत्यू हुनेको संख्या ३५ पुगेको कास्कीका प्रहरी प्रवक्ता केदारप्रसाद रजौरेले बताए । गएराती लुम्लेमा २ जनाको र भदौरेमा शनिबार दिउँसो थप एक जनाको शव भेटिएको रजौरेले बताए ।

प्रहरीले दिएको जानकारी अनुसार पहिरोले लुम्लेमा २७, भदौरेतामागीमा ६ र ढिकुरपोखरीमा २ जनाको मृत्यू भएको हो । लुम्लेमा १ र भदौरेमा ३ गरी ४ जना अझै वेपत्ता छन् । वेपत्ताको खोजी जारी रहेको छ । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिएका छन् । ५ बर्षीया कविता शेर्पा अझै वेपक्ता छिन भने ६८ बर्षीय इन्द्र प्रसाद देवकोटा र ६२ बर्षीया रुद्रवति देवकोटाको शव भेटिएको प्रहरीले जनाएको छ ।

कास्कीकै भदौरेतामागीमा बुधवार राती आएको पहिरोमा परेर वेपत्ता भएका ४ जना मध्ये शनिवार एकजनाको शव भेटिएको छ । योसँगै भदौरेमा मृतक संख्या ६ पुगेको छ । शनिवार मित्रलाल पराजुलीका छोरा समीर पराजुलीको शव भेटिएको स्थानिय समाजसेवी दामबहादुर विकले बताए । उक्त पहिरोमा परेर अझै ३ जना वेपत्ता छन् । सो पहिरोमा परेर ५ बर्षका विश्व पराजुली, १० महिनाका किस्मत सुनार र १० बर्षका मनबहादुर विक वेपत्ता छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्कीले पीडित परिवारलाई राहत प्रदान गरेको छ । पीडित ३० परिवार र घर बगाएकाहरुलाई घर निर्माणका लागि गरेर कुल १२ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । मृतक परिवारलाई किरीया खर्च ४० हजारको दरले र पुर्ण रुपमा क्षेति भएका घर परिवारलाई प्रारम्भीक चरणमा ५ हजार प्रदान गरेको राउतले बताए । पहिरोले पुराएको क्षतिको बारेमा गृह मन्त्रालय सहित सरकारी निकायमा प्रतिवेदन पठाएको उनले बताए ।

त्यस्तै नेपाल रडक्रस सोसाइटी कास्कीले पनि राहत वितरण गरेको छ । पीडित परिवारलाई खाद्यान्न सामग्री दाल, चामल, नुन, तेल तथा त्रिपाल, कम्मललगायतका सामग्री वितरण गरिएको रेडक्रस कास्कीले जनाएको छ । त्यस्तै, पहिरोले लुम्लेमा ट्याङ्की नै बगाएपछि पानी खान समस्या भएकाले युनिसेफको सहयोगमा रेडक्रस कास्कीले ३० हजार लिटरको ट्याङ्की ल्याएर प्रदान गर्ने तयारी गरिरहेको रेडक्रस कास्कीका खेमराज सापकोटाले बताए ।

Related posts