
२०७२ श्रावन १६,
भोलिसम्म अन्तिमटुंगो लगाइने
काठमाडौँ : संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई टुंगो लगाउनका लागि मुख्य चार बिहानदेखि नै छलफल र वार्तामा व्यस्त छन्।
शीर्ष तहबाट टुंगो लगाएर आजै त्यसलाई संवैधानिक–राजनीतिक संवाद समितिको पूर्ण बैठकमा पेस गर्ने भनिए पनि विशेष समितिमा छलफल जारी रहेकोले सम्वाद समितिको बैठक केहीबेर बसेर भोलि चार बजेसम्मका लागि स्थगित गरिएको छ।
सम्वाद समितिको बैठक सकिएपछि पनि सभाध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा शीर्ष नेताहरुको बैठक भने जारी छ।बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार सहभागी छन्।
बैठकमा सम्वाद समितिका सभापति डा बाबुराम भट्टराई पनि सहभागी छन्। जनताबाट आएका सुझावलाई छलफल गरी दुई सय बुँदामा झारिएको र त्यसलाई भोलीसम्म निश्कर्षमा पुर्याइने भट्टराईले बताए। जनताबाट दुई लाख जति सुझाव आएका थिए। तीनलाई विभिन्न चरणमा छलफल गरी दुई सयमा झारिएको हो।
जनताका सुझाव समेट्नका लागि शुक्रबार पनि राति अबेरसम्म छलफल भएको थियो।कार्यदलले दिएको सुझावमा छलफल गरी टुंगो लगाउन शनिबार बिहानदेखि चार दलका नेताहरुबीच विभिन्न चरणमा छलफल चलिरहेको छ। एमाले उपाध्यक्ष भीम रावलको संयोजकत्वमा गठित चार दलीय कार्यदलले जनताबाट आएका सुझावलाई बुँदागत टिपोट गरी शुक्रबार शीर्ष नेतृत्वसमक्ष पेस गरिसकेको छ।
कार्यदलले शुक्रबार दिनभर बैठक बसेर जनताबाट आएका सुझावको सारसंक्षेप तयार गरेको थियो। दलहरुको बैठक खासगरी धर्म निरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी, संघीयता र सिमांकन, स्थानीय निकाय, समावेशी व्यवस्था, नागरिकतालगायतका विषयमा बढी केन्द्रित छ ।
धर्म निरपेक्षता हटाउन अधिकांश जनताबाट सुझाव आएकोले धार्मिक स्वतन्त्रता वा अन्य कुनै उपयुक्त वैकल्पिक शब्दावली राख्ने सहमति दलहरुबीच भइसकेको छ। तर त्यसको अन्तिम टुंगो लागिसकेको छैन।
दलहरु सिमांकनमा पनि सहमति जुटे अन्तिम क्षणमा भए पनि यसलाई टुंग्याएर संविधान जारी गर्ने तयारीमा छ। यो विषयमा दलहरुको बैठकमा विभिन्न कोणबाट छलफल भइरहेको छ।
जनताबाट आएको सुझावसहितको प्रतिवेदन छलफलका लागि डा.बाबुराम भट्टराई अध्यक्ष भएको संवैधानिक, राजनीतिक तथा सम्वाद समितिमा आएपछि जनताको सुझाव समेट्नका लागि शीर्ष नेताहरुसहितको एउटा विशेष संयन्त्र बनाइएको थियो। चारै दलका प्रमुख नेता सम्मिलित उक्त संयन्त्र बिहीबारदेखि नै सक्रिय भएको छ । यसलाई सघाउन चार दलका सभासद्हरु रहेको अलग्गै संयन्त्र बनाइएको छ।
दलहरुबीचको छलफललाई निरन्तर परामर्श दिने र सहजीकरण गर्ने काम सभाध्यक्ष सुवास नेम्वाङले गरिरहेका छन् । नेम्वाङ बिहानदेखि बेलुकासम्म नै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बसेर छलफललाई छिटो निश्कर्षमा पुर्याउन दलहरुलाई सल्लाह र प्रात्साहन प्रदान गरिरहेका छन् ।
श्रोत : अन्नपुर्ण पोस्ट