ताजा खबर

नेपालसँग जयसूर्या खेल्ने निश्चित

काठमाडौ,  २०७२ श्रावण १६,

श्रीलंकाका महान् क्रिकेटर सनथ जयसूर्या नेपाल–११ सँग यस हप्ता हुने च्यारिटी खेलमा विश्व–११ का एक स्टार हुनेछन् । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा अगस्ट ९ मा नेपालको भूकम्पपीडित सहयोगार्थ उक्त खेल हुनेछ ।

इभेन्टका लागि यसअघि नै समर्थन जनाइसके पनि जयसूर्याले खेल्ने नै निश्चित भएको थिएन । मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरामले जयसूर्याको सहभागिता निश्चित गरेका हुन् । वैशाख १२ को ठूलो भूकम्पछि मलेसियाले यो इभेन्ट आयोजना गर्ने निर्णय गरेको थियो ।

जयसूर्यासँगै पाकिस्तानका पूर्वविकेटकिपर रसिद लतिफ, बंगलादेशका पहिलो टेस्ट कप्तान अमिनुल इस्लाम, अब्दुर रज्जाक, शोहाग गाजी, अस्ट्रेलियाका स्टिभ ओ’किफे, मार्कुस स्टाइनिस, मलेसियाका फैज नूर, सुरेश नभरत्नम, सिंगापुरका चेतन सूर्यवंशीले विश्व–११ बाट खेल्नेछन् ।

यसमा सहयोग गर्ने सबैलाई भालिपुरामले धन्यवाद दिए । ‘हामीले यस इभेन्टलाई सफल बनाउन नेपाल क्रिकेट संघसँग मिलेर निकै मिहिनेत गरिरहेका छौं । हामीले विश्वका थुप्रै देशका क्रिकेट बोर्डबाट यसका लागि सहयोग पाइरहेका छौं,’ उनले भने, ‘विश्व–११ मा कुनै खेलाडी नपरेका देशबाट पनि हामीलाई सहयोग छ ।’

उनले अगाडि भने, ‘यो इभेन्टले खेलकुदमा कति शक्ति हुन्छ भनेर देखाउनेछ । क्रिकेटबाट भूकम्पपीडितलाई सहयोग गर्न पाउँदा हामी धन्य छौं ।’ मलेसिया क्रिकेटले खेलको टिकट रकम ३०, २००, ८०० र १२०० रिंगेट तोकेको छ । क्वालालम्पुरस्थित नेपाली रेस्टुरेन्टहरूमा उक्त टिकट बिक्री गरिरहेको उनले जनाए । ‘मलेसियामा नेपाली क्रिकेट प्रशंसकको ठूलो बाहुल्यता छ । म्याच एउटा खेलमात्र नभएर भूकम्पपीडितहरूका लागि सहयोगको प्रयास पनि हो,’ भालिपुरामले भने ।

श्रोत : कान्तिपुर

Related posts