ताजा खबर

नेपाल–चीन दौत्य सम्बन्ध ६०औं वर्षमा

काठमाडौं, २०७२  साउन १६,

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको शनिबार ६० वर्ष पुगेको छ । यो अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले बधाई सन्देश साटासाट गरेका छन् । राष्ट्रपति रामवरण यादवले चिनियाँ समकक्षी सी जिनपिङलाई नेपाल–चीनबीचको सम्बन्ध ६० वर्ष पुगेकोमा बधाई सन्देश पठाउँदै नेपाली जनताले चिनियाँ जनतालाई उच्च महत्त्व दिने बताएका छन् । यादवले पञ्चशीलको सिद्धान्तले दुवै देशबीचको सम्बन्धलाई मजबुत बनाएको र नेपालले चीनको नीतिलाई सम्मान गर्ने सन्देशमा उल्लेख गरेका छन् । उनले चीनको निरन्तर प्रगति र समुन्नतिका लागि सन्देशमा शुभकामना दिएका छन् । त्यस्तै, चिनियाँ राष्ट्रपति सीले सन्देशमा नेपाल राम्रो छिमेकी, मित्र र साझेदार भएको उल्लेख गरेका छन् ।

गएको ६० वर्षमा नेपाल र चीन बीचको सम्बन्ध तीव्र गतिमा विकास भएको र बृहत् साझेदारीले दिगो मित्रता स्थापना भएको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति सीले दुवै देशको हितका लागि मिलेर काम गर्न सधैँ तत्पर रहेको पनि सन्देशमा उल्लेख गरेका छन् । त्यसैगरी, प्रधानमन्त्री सुशील कोइराला र ली खछियाले पनि बधाई सन्देश साटासाट गरेका छन् । प्रधानमन्त्री कोइरालाले नेपाल र चीनबीच आपसी सम्मान, गहिरो विश्वास र मित्रताले नेपाल–चीन सम्बन्ध मजबुत भएको बताएका छन् । नेपाल र चीन आदर्श छिमेकी भएको र आपसी रुचिका मुद्दामा नजिक रहेर काम गरिरहेको र चीन नेपालको भरपर्दो छिमेकी भएको कोइरालाले सन्देशमा उल्लेख गरेका छन् ।

त्यसैगरी, उनले सन्देशमा एक चीन नीतिमा नेपाल स्पष्ट रूपमा प्रतिबद्ध भएको र चीनविरुद्ध कुनै पनि गतिविधि नेपाली भूमिमा हुन नदिने उल्लेख गरेका छन् । ‘प्रधानमन्त्रीले चीनको अभूतपूर्व विकास र समृद्धिबाट नेपाल पनि लाभान्वित हुने आशा व्यक्त गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ । उनले नेपालको विकास प्रयासमा चीनले गरेको सहायता, भूकम्पपछिको मानवीय सहायताको प्रशंसा गरेका छन् । त्यस्तै, चिनियाँ प्रधानमन्त्री लीले चीनका तर्फबाट शुभकामना दिँदै पञ्चशीलको सिद्धान्तले साना र ठूला देशबीचको सम्बन्धलाई मित्रतापूर्ण बनाउन सहायता गरेको विज्ञप्तिमा जनाइएको छ । ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक एकता कायम राख्ने नेपालको प्रयासमा सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नेपालको एक चीन नीतिको प्रशंसा गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

श्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *