ताजा खबर

आइएसविरुद्ध लड्न बेलायतले अमेरिकालाई सघाउने

लन्डन, २०७२ श्रावन १६,

बेलायतले अतिवादी समूह इस्लामिक स्टेट (आइएस) विरुद्धको कारबाहीमा संयुक्त राज्य अमेरिकालाई सघाउने भएको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले उक्त संगठनविरुद्धको कारबाहीमा अमेरिकालाई सघाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । केही महिनायता आइएसविरुद्ध अमेरिकाले मोर्चाबन्दी लडाइँ सुरु गरेको छ । अमेरिकी सैनिकको समन्वयमा विभिन्न स्थानमा आइएसविरुद्ध आक्रमण जारी रहेको छ । बेलायती प्रधानमन्त्री क्यामरुनले अमेरिकालाई सहयोग गर्ने क्रममा आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एक अमेरिकी टेलिभिजनलाई हालै दिएको अन्तर्वार्तामा सो जानकारी दिएका हुन् । क्यामरुनले आफू आतंकवादको स्पष्ट रूपमा विरुद्धमा रहेको र यसका लागि आवश्यक परेमा अमेरिकालाई जस्तोसुकै सहयोगका लागि पनि आफू तयार रहेको उनले बताए ।

सिरिया र इराकमा आइएसका क्रियाकलापहरू पछिल्लो समयमा निकै बढ्दै गएकाले उनीहरूका विरुद्धमा अमेरिकाले हवाई कारबाही सुरु गर्ने भएको छ । क्यामरुनले आवश्यक परेमा बेलायतको संसद्बाट पनि आफूले जनमत लिने जानकारी पनि अन्तर्वार्ताका क्रममा दिएका छन् । तथापि, दुई वर्षअघि मात्र बेलायतको संसद्ले सिरियामा अमेरिकाले गरेको आक्रमणका विरुद्ध मत जाहेर गरेको थियो ।

श्रोत : नया पत्रिका

Related posts