ताजा खबर

किमलाई पहिलो स्वर्ण

कजान,  २०७२  साउन १६,

पछि परेको अवस्थामा सुधार ल्याउँदै १६ वर्षीया स्विमर किम कुक ह्याङले उत्तर कोरियालाई विश्व स्विमिङ च्याम्पियनसिपमा पहिलो गोल्ड मेडल दिलाएकी छिन् । उनले कजानमा जारी विश्व स्विमिङ च्याम्पियनसिपअन्तर्गत बिहीबार सम्पन्न महिलाको १० मिटर प्लेटफर्ममा उत्तर कोरियालाई पहिलो स्वर्ण दिलाएकी हुन् । सुरुवातमा कमजोर प्रदर्शन गरेकी किमले दोस्रो र तेस्रो डाइभमा उत्कृष्ट पुनरागमन जनाइन् । उनले स्वर्णका लागि ३९७.०५ अंक प्राप्त गरिन् । उनले अन्तिम डाइभमा ९१.२० अंक बटुलेकी थिइन् । चीनकी १४ वर्षीया रेन क्वियन दोस्रो भइन् ।

प्रारम्भिक चरण र सेमिफाइनलमा टप गरेकी उनले ३८८.०० अंक जोडेकी थिइन् । मलेसियाकी पान्डेलेला रिनोङ पाम्ग तेस्रो भइन् । उनले ३८५.०५ अंक जोडिन् । साबिक विजेता चीनकी सी याजिई भने चौथो बनिन् । पहिलो सहभागितामै उत्तर कोरियालाई स्वर्ण दिलाएकी किनले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु, फाइनलको प्रत्येक क्षणलाई म सम्झिरहनेछु र समर्थनका लागि मेरो देशप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’ उनले यो सफलताका लागि आफूले ठूलो मिहिनेत गरेको पनि बताइन् । ‘मैले १२ वर्ष हँुदादेखि स्विमिङ सिकेको हुँ, म सधैँ दिनमा पाँच घन्टा ट्रेनिङ गर्थेँ,’ उनले भनिन्, ‘बिहानमा तीन घन्टा तथा बेलुका दुई घन्टा अभ्यास गर्थेँ ।’ उनले स्विमिङमा आफ्नो रोलमोडल चीनकी च्याम्पियन चेन राउलिन भएको र उनीसँग प्रतिस्पर्धा गर्ने इच्छा रहेको बताइन् । ‘मेरो रोलमोडल चीनकी च्याम्पियन राउलिन हुन्, उनीसँग प्रतिस्पर्धा गर्ने इच्छा छ,’ उनले भनिन्, ‘त्यो अवसर पाएको अवस्थामा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’ उनले अबको उद्देश्य ओलम्पिकमा मेडल जित्ने बताइन् । प्रतिस्पर्धामा दोस्रो भएकी चीनकी रेन क्वियन पनि पहिलो सहभागितामै ठूलो सफलता हात पार्न सफल भइन् ।

‘मेरो पनि यो पहिलो सहभागिता हो, म केही नर्भस थिएँ, अझ किमले ठूलो स्कोर गरेपछि नर्भस बनेकी थिएँ,’ किमले भनिन्, ‘अर्काे सहभागितामा योभन्दा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’ प्रतियोगिताको डुइटफ्री रुटिनतर्फ १९ पटकका विश्व च्याम्पियन नाटालिया इस्चेन्को र १८ वर्षका विश्व च्याम्पियन स्वेतलाना रोमासिनाले स्वर्ण जिते । उनीहरूले ९८२.०० अंकसहित स्वर्ण जिते । चीनकी हुएङ छ्युछेन र सुन वेन्यानले दोस्रो स्थान हात पारे भने लोलिता अनानासोभा र अन्ना भोलोसिना तेस्रो बने । मिक्स डुइटफ्रीतर्फ रसियाका एलेक्सान्दर माइतसेभ र दरिना भालिटोभाले ९१.७३३३ अंकका साथ स्वर्ण जिते । उनीहरूले अमेरिकाका बिल मे र क्रिस्टिना लुम अन्डरउडलाई पराजित गरे । ५ किलोमिटरको वाटर टिम इभेन्टको स्वर्ण भने जर्मनीले जित्यो । जर्मनीले त्यसका लागि १४.०.४ सेकेन्डमा दूरी पूरा गरेको थियो । ब्राजिल दोस्रो तथा नेदरल्यान्ड तेस्रो भयो ।

श्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *