
क्वालालम्पुर, २०७२ साउन १६,
सन् २०२२ को ओलम्पिक खेलकुद प्रतियोगिता चीनको बेइजिङ सहरले आयोजना गर्ने भएको छ । शुक्रबार मलेसियाको क्वालालम्पुरमा भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को १२८औँ सेसनले चीनको राजधानीलाई आयोजक सहर चुनेको हो । बेइजिङले ओलम्पिक आयोजनाको अधिकारका लागि काजकिस्तानको अल्माटी सहरलाई पछि पारेको हो ।
सन् २०२२ को ओलम्पिक आयोजना अधिकारका लागि बेइजिङ र अलमाटीले प्रतिस्पर्धा गरेका थिए । शुक्रबार भएको भोटिङमा बेइजिङले अलमाटीलाई चार भोटले पछि पार्यो । बेइजिङले ४० मत प्राप्त गरेको थियो । पछिल्लो निर्णयसँगै बेइजिङ समर र विन्टर ओलम्पिक आयोजना गर्ने पहिलो सहर बन्ने पक्का भएको छ । यसअघि बेइजिङले सन् २००८ मा समर ओलम्पिकको भव्य आयोजना गरेको थियो । भोटिङको मत सार्वजनिक भएलगत्तै बेइजिङ सहरका प्रतिनिधि र आइओसीका अध्यक्ष थोमक बाकले आयोजक सहरको सम्झौता (एचसिसी)मा हस्ताक्षर गरेका थिए । यसपटक पहिलोपटक आयोजक सहर र आइओसीबीच भएको सम्झौतासमेत सार्वजनिक गरिएको छ ।
ओलम्पिक मुभमेन्टसम्बन्धी निर्माण गरिएको एजेन्डा २०२२ अनुसार पहिलोपटक आयोजक सहर र आइओसीबीच भएको सम्झौता सार्वजनिक गरिएको हो । बेइजिङ आयोजक सहर चुनिएपछि मात्रै ओलम्पिक एजेन्डा २०२० पास भए पनि त्यसअघिबाटै त्यसको कार्यान्वयन सुरु भएको थियो । एजेन्डा २०२० ले ओलम्पिक खेलकुदको दिगोपन, विरासत र पारदर्शितामा जोड दिएको छ । जसले गर्दा ओलम्पिकमा बढी सम्भावना भएका र चर्चित खेललाई मात्रै समावेश गरिने सम्भावना बढेको छ ।
बेइजिङले पनि ओलम्पिक एजेन्डा २०२० ले दिएको सुविधाको फाइदा उठाउँदै आफूअनुकूलको योजना बनाउन सक्नेछ । साथै बेइजिङले अघिल्लो ओलम्पिकमा निर्माण गरिएकै भौतिक पूर्वाधार बढी प्रयोग गर्ने देखिएको छ । सन् ००८ को ओलम्पिकमा बर्ड नेस्ट स्टेडियम चर्चित थियो । बेइजिङले सन् ०२२ को ओलम्पिकको ओलम्पिक भिलेज, स्पोर्टस् भेन्युलगायत अन्य भौतिक संरचनाका लागि १.५ बिलियन अमेरिकी डलर प्रस्ताव गरेको छ । यो रकम बेइजिङले सन् ००८ को ओलम्पिकका लागि खर्च गरेभन्दा कम हो । बेइजिङले सो रकम टिकट बिक्री, मार्केटिङ तथा अन्य आम्दानीमार्फत परिपूर्ति गर्नेछ । त्यसमा आइओसीले बेइजिङलाई प्रतियोगिताको सफल आयोजनाका लागि ८ सय ८० मिलियन अमेरिकी डलर सहयोग गर्नेछ ।
श्रोत : नया पत्रिका