ताजा खबर

इंग्ल्यान्ड तेस्रो दिनै ८ विकेटले विजयी

एजेन्सी एजबास्टन, २०७२  साउन १६,

इंग्ल्यान्डले अस्ट्रेलियालाई एसेज सिरिजको तेस्रो टेस्टमा आठ विकेटले हराएको छ । इंग्ल्यान्डले पाँच टेस्टमा २–१ को अग्रता लिएको छ । इंग्ल्यान्डले तेस्रो दिनै सफलता हात पार्ने क्रममा अस्ट्रेलियाले प्रस्तुत गरेको १२१ रन पार गरेको हो । अस्ट्रेलिया दोस्रो इनिङमा २६५ रनमा अलआउट भएपछि इंग्ल्यान्डले सहज लक्ष्य पायो । इंग्ल्यान्डले शुक्रबार तेस्रो दिन ३२.१ ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १२४ रन बनायो । घरेलु टोलीका लागि इयान बेल र जोए रुटले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । बेलले ९० बलमा ६५ रनको योगदान दिए । उनले १० चौका प्रहार गरेका थिए । रुटले ६३ बलमा ६ चौका र एक छक्काको मद्दतमा ३८ रन बनाए ।

अस्ट्रेलियाका मिचेल मार्सको ओभरमा रुटले चौका प्रहार गर्दै इंग्ल्यान्डलाई सानदार जित दिलाए । रुट र बेलबीच साझेदारी हुनुअघि इंग्ल्यान्ड ५१–२ को स्थितिमा थियो । अस्ट्रेलियाले पहिलो र दोस्रो इनिङमा फितलो ब्याटिङ गर्‍यो । पहिलो इनिङमा अस्ट्रेलिया १३६ रनमै अलआउट भएको थियो । पहिलो इनिङमा इंग्लिस बलर जेम्स एन्डरसनले ४७ रन खर्चेर ६ विकेट हात पारे । इंग्ल्यान्डले आफ्नो पहिलो इनिङमा २८१ रन जोड्दै १४५ रनको अग्रता बनायो । अस्ट्रेलिया दोस्रो इनिङमा फर्कने विश्वास गरिएको थियो । तर, स्टेभन फिनले घातक बलिङ गर्दा अस्ट्रेलियाको ब्याटिङ फेरि कमजोर साबित भयो । अस्ट्रेलियाले पहिलो ६ विकेट १११ रनमा गुमाएको थियो ।

पिटर नेभिलले ५९, मिचेल जोन्सनले १४, मिचेल स्टार्कले ५८, जोस हाजेलउडले १ तथा नाथन लियोनले १२ रनको योगदान दिँदा अस्ट्रेलिया २६५ रनको योगफल बनाउन सफल भयो । स्टार्क र नेभिलबीच आठौँ विकेटका लागि ६४ रनको महत्त्वपूर्ण साझेदारी हुँदा अस्ट्रेलिया १५३–७ बाट २१७–८ को स्थितिमा पुग्यो । नेभिलले १४७ बलमा ७ चौकाको सहयोगमा ५९ रनको योगदान दिए ।

स्टार्कले १०८ बलmमा ६ चौका र एक छक्काको मद्दतमा ५८ रन जोडे । एन्डरसन चौथो टेस्टबाट बाहिर इंग्लिस टोलीका बलर जेम्स एन्डरसन अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा सहभागी नहुने भएका छन् । इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको चौथो टेस्ट ६ अगस्टदेखि टेन्टब्रिजमा हुँदै छ । तेस्रो टेस्टको दोस्रो दिन एन्डरसनले नौ ओभर मात्र बलिङ गरेका थिए । त्यसपछि उनलाई ढाडमा समस्या देखियो । चोटग्रस्त हुनुअघि एन्डरसनले तेस्रो टेस्टको पहिलो इनिङमा उत्कृष्ट बलिङ गरेका थिए । उनले ६ विकेट लिएकै कारण अस्ट्रेलिया पहिलो इनिङमा १३६ रनमा समेटिएको थियो । इंग्लिस क्रिकेट बोर्ड (इसिबी)ले एन्डरसनलाई आराम गर्न दिइएको जनाएको छ । उपचारपछि एन्डरसनलाई चौथो टेस्टमा सहभागी नगराउने निर्णय भएको इसिबीले जनाएको छ । ‘एन्डरसनको चोट गम्भीर छ, हामीले उनलाई एक दिनको आराम दियौँ, तर रिकभर भएन,’ इसिबीको विज्ञप्तिमा भनिएको छ, ‘पाँचौँ तथा अन्तिम टेस्टसम्म एन्डरसन फिट हुने विश्वास छ ।’ टेन्टब्रिजमा एन्डरसनको अनुपस्थितिले इंग्लिस टोलीलाई अप्ठेरोमा पार्न सक्छ ।

श्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *