काठमाडौं, २०७२ साउन १६,
नेपालमा ‘मोस्ट वान्टेड’ भारतमा मोजमस्ती
- नेपाल प्रहरीले क्षेत्री दाजुभाइको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो । सर्वसाधारणबाट गैरकानुनी ढंगले अर्बौँ उठाएको भन्दै अदालतले उनीहरूलाई तीन–तीन वर्ष कैद र दुई करोड १२ लाखका दरले जरिवानाको फैसला गरेको थियो ।
- तर, उनीहरू भारतको पर्यटकीय सहर कुल्लुमा मोज गर्दै बसेका थिए । त्यहााको रासनकार्डसमेत लिइसकेका उनीहरूले बैंकबाट कर्जा लिएर होटेलका साथै ह्याचरी र माछापालन व्यवसाय गर्दै आएका थिए ।
भैरहवामा ठग्ने तयारी
- क्षेत्री दाजुभाइले पछिल्लो समय भैरहवामा अस्पताल खोल्ने नाममा सर्वसाधारणबाट रकम उठाउने योजना बनाएका थिए । ‘भैरहवामा जन्मादै मान्छे बुद्धजस्तो हुने’ भन्दै प्रचार गरेका उनीहरू प्रसूति सेवासहितको अस्पताल खोल्ने तयारीमा थिए ।
सम्पत्ति अलपत्र, पीडितले पाएनन् क्षतिपूर्ति
- युनिटी इन्टरनेसनलले विभिन्न जिल्लामा अस्पताल बनाएको छ । बैंकमा भएको पैसा खाता रोक्का भएका कारण चलाउन मिलेको छैन । कम्पनीको नाममा रहेको करोडौँको भौतिक सम्पत्ति पनि रोक्का छ । त्यही भएर पााच वर्ष बितिसक्दा पनि पीडितहरूले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् ।
- जावलाखेलमा रहेको युनिटी टावर महिला विकास प्रशिक्षणको जग्गामा बनेको हो । जुन अहिले नाम फेरेर कम्प्लेक्स बनाइएको छ । सामाखुसीमा रहेको अस्पताल पनि बन्द छ । धरान, इटहरी, बाग्लुङ, पर्वतलगायतका जिल्लास्थित युनिटी अस्पताल बन्द छन् ।
मृत्युको नाटक गर्दा प्रहरी फन्दामा
- क्षेत्री दाजुभाइ फरार रहे पनि फेसबुकमा भने सक्रिय थिए । २२ असारमा कृष्ण श्रेत्रीले भाइ विष्णुको ललितपुरको भैँसेपाटीमा गोली हानेर हत्या भएको भन्दै फेसबुकमा स्टाटस मात्र लेखेनन्, रगताम्मे मान्छेको फोटोसमेत पोस्ट गरे । त्यसकै आधारमा समाचारहरू आएपछि विष्णुकी श्रीमती श्रीषाले खण्डन गर्दै प्रहरीमा उजुरी दिइन् ।
- त्यसपछि प्रहरीले हत्याको होइन क्षेत्री दाजुभाइ लुकेको स्थान खोज्न थाल्यो । उनीहरू श्रीमतीसँग नियमित फोन सम्पर्कमा थिए । प्रहरीले त्यसैको आधारमा उनीहरूले प्रयोग गर्दै आएको भारतीय नम्बर पत्ता लगायो । भारतीय प्रहरीको सहयोगमा उनीहरू बस्दै आएको घर पत्ता लगाएपछि अपराध महाशाखाको टोलीले कुल्लु पुगेर उनीहरूलाई पक्राउ गर्यो । हत्याको नाटक नै उनीहरू पक्राउ पर्ने आधार बन्यो ।
- दुवै दाजुभाइ मिलेर उक्त योजना बनाएको भए पनि ललितपुर बस्ने कान्छी श्रीमती श्रीषालाई भने त्यसबारे बताएका थिएनन् । त्यसैले उनी श्रीमान्को हत्याको समाचार आएपछि खण्डन गर्दै प्रहरीकहाा पुगिन् । ‘योजनाबद्ध रूपमा नै उनीहरूले त्यसरी मरेको प्रचार गरेका रहेछन्,’ अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले भने, ‘मर्यो भनेपछि फ्रिडम पाइन्छ भन्ने उनीहरूको सोच रहेछ ।’
क्षेत्री दाजुभाइ : सर्वसाधारण ठगेर सिपाहीबाट अर्बपति बने
- पर्वतको आर्थरडाँडा स्थायी घर भएका क्षेत्री दाजुभाइ कुनै समय सुरक्षा निकायमा जागिर थिए । जेठा कृष्णले सेनाको हवल्दार र विष्णुले प्रहरी जवानबाट जागिर छाडेर दुबई पुलिसमा भर्ती भए । उताबाट कमाएर ल्याएको पैसाबाट उनीहरूले नेटवर्किङ व्यवसाय थाले । र, दुई वर्षमै अर्बपति बने ।
- ०६४ भदौमा युनिटी इन्टरनेसनल सुरु गरेका उनीहरूले ०६५ सम्ममा दल र नेताहरूलाई लाखौँ चन्दा दिन सक्ने हैसियत बनाइसकेका थिए । जिल्ला–जिल्लामा शाखा खोलेर लाखौँ सर्वसाधारणलाई युनिटीको सदस्य बनाए । तीन वर्ष नपुग्दै उनीहरूले तीन लाख ६८ हजार ७ सय १० जना सदस्य बनाएर ३ अर्ब ७९ करोड ८ लाख २५ हजार उठाइसकेका थिए ।
- नेटवर्किङ फस्टाउादै गएको वेला सर्वसाधारणबाट आएको गुनासो र गैरकानुनी व्यवसायका कारण प्रहरीले ०६७ को सुरुवाततिर युनिटीमा छापा हान्यो । त्यहीादेखि उनीहरूको दुर्दशा सुरु भयो । प्रहरीले २८ जेठ ०६७ मा युनिटीका एक सय १२ जनाविरुद्ध ठगी मुद्दा दायर गर्यो । अदालतले क्षेत्री दाजुभाइसहित मुख्य १२ सञ्चालकलाई दोषी ठहर गर्यो । मुद्दा मिलाउन पनि उनीहरूले धेरै नै प्रयास गरे, तर सफल भएनन् ।
- विष्णुले कान्छी श्रीमतीलाई ललितपुरमा घर नै किनेर राखेका थिए । भारतको कुल्लुमा पनि उनीहरूले करोडौँ लगानी गरेका थिए । केही सम्पत्ति रोक्का भए पनि आफन्तको नाममा धेरै सम्पत्ति जोडिसकेको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं, २०७२ साउन १६,
नेटवर्किङ व्यवसायको नाममा झन्डै चार लाख सर्वसाधारणबाट तीन अर्ब ७९ करोड ठगी गर्ने युनिटी इन्टरनेसनलका मुख्य नाइके पाँच वर्षपछि पक्राउ परेका छन् । कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक विष्णु क्षेत्री र निर्देशक कृष्ण क्षेत्रीलाई प्रहरीले बिहीबार भारतमा पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको छ ।हिमाञ्चल प्रदेशको कुल्लु सहरबाट उनीहरूलाई पक्राउ गरिएको हो । नेपालमा ठगी गरेको पैसाले उनीहरूले त्यहाँ व्यवसाय गर्दै आएका थिए । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी प्लेनमार्फत काठमाडौं ल्याएको हो । शुक्रबार उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा कोट लगाएर उपस्थित भएका क्षेत्री दाजुभाइको अनुहारमा कुनै ग्लानि देखिँदैनथ्यो । हाँसी–हाँसी उनीहरू पत्रकारमाझ उपस्थित भए । सर्वसाधारणको अर्बौँ रुपैयाँ ठगी गर्नेलाई पक्राउ गर्नु ठूलो उपलब्धि भएको महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्मा बताए ।
झन्डै चार लाख सर्वसाधारणलाई ठगी गरेका उनीहरू भारतमा रासनकार्डसमेत लिएर बस्दै आएका थिए । विष्णु क्षेत्री भने वेलावेलामा नेपालसमेत आउने गरेको अनुसन्धानबाट खुलेको छ ।
क्षेत्री दाजुभाइलाई अदालतले समेत दोषी ठहर गरी तीन–तीन वर्ष कैद र दुई करोड १२ लाख रुपैयाँका दरका जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेकालाई अदालतमार्फत जेल चलान गरिने अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
ललितपुर प्रहरीले २८ जेठ ०६७ मा युनिटी इन्टरनेसनलका एक सय १२ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । त्यसमाथि १७ चैत ०७० मा फैसला सुनाउँदै ललितपुर जिल्ला अदालतले मुख्य सञ्चालक १२ जनालाई दोषी ठहर गरेको थियो । अदालतले संस्थाका अध्यक्ष काशीराज गुरुङ, सञ्चालकहरू नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवालीलाई पनि दोषी ठहर गरेको थियो । जरिवानासहित उनीहरूबाट जनही दुई करोड १२ लाख ५२ हजार पाँच सय ५२ असुल गर्न आदेश दिएको थियो । क्षेत्री दाजुभाइबाहेकका सबै यसअघि नै पक्राउ परिसकेका छन् ।
उनीहरूले विनाअनुमति बैंकिङ, बिमा तथा स्वास्थ्यसम्बन्धी काम गर्दै आएका थिए । सुरुमा प्रतिव्यक्ति ११ हजार रुपैयाँ उठाएका उनीहरूले पछि १५ हजार उठाएका थिए । तीन लाख ७६ हजार सर्वसाधारणसँग पैसा उठाइएको थियो । उक्त रकम विनाअनुमति युनिटी हाइड्रोपावर र युनिटी वाटर कम्पनी स्थापना गरी लगानी गरेका थिए । फिना बहुउद्देश्यीय सहकारी संस्थाको नाममा पनि उनीहरूले केही रकम उठाएका थिए ।
यसरी डुबेको थियो युनिटी
०६४ भदौमा एस्योरेन्स युनिटी इन्टरनेसनलको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरेर नेटवर्किङ व्यवसाय सुरु गरिएको थियो । काशी गुरुङ, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, नेत्र राजवंशी, इन्द्रबहादुर विक र महेन्द्र केसी मिलेर स्थापना गरिएको उक्त कम्पनीलाई पछि युनिटी इन्टरनेसनलका नाममा चलाउन थालियो । सुरुमा प्रतिव्यक्ति १० हजार रुपैयाँ उठाएर सदस्य बनाउन थालियो । आफूले जति धेरै सदस्य बनायो त्यति धेरै पैसा पाइने योजना बनाएर जिल्ला–जिल्लामा नेटवर्क बढाउन थालियो । आकर्षक प्रस्ताव राखेपछि विदेशमा रहेका हजारौँ नेपालीसमेत युनिटीका सदस्य बने । बिरामी हुँदा नि:शुल्क उपचार हुने भन्दै पनि सदस्य बनाइयो । त्यसका लागि जिल्ला–जिल्लामा अस्पताल पनि स्थापना गरिए । विभिन्न पार्टीका नेताहरूलाई प्रभावमा पारेर उनीहरूले कारोबार बढाउँदै लगेका थिए ।
नेपालमा गोल्डक्वेस्टलगायत नेटवर्किङ कम्पनीहरू पहिला पनि सर्वसाधारणलाई ठगेर बन्द भएका थिए । युनिटी इन्टरनेसनलको पनि कारोबार अवैध थियो । कम्पनीले बैंकिङ र बिमासम्बन्धी काम गर्न अनुमति लिएको थिएन । अर्काेतर्फ नेटवर्किङ आफैँमा अवैध थियो ।
नेटवर्किङ कम्पनी अवैध भएको र सर्वसाधारण ठगिन थालेपछि प्रहरीले छानबिन थाल्यो । ललितपुर प्रहरीका तत्कालीन प्रमुख विक्रमसिंह थापाले कम्पनीमा छापा हानी केहीलाई पक्राउ गरी अनुसन्धान थाले । विष्णु क्षेत्री, काशी गुरुङलगायत भने भाग्न सफल भए । त्यतिवेला प्रहरीले अनुसन्धान गरी एक सय १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरीले छानबिन थालेपछि कम्पनी बन्द भयो । सदस्यहरूले आफूलाई ठगी भएको भन्दै धमाधम उजुरी पर्न थाले ।
श्रोत : नया पत्रिका