ताजा खबर

नेपाल-भारतबीच चार नयाँ रुटमा बस चलाउने तयारी

काठमाडौं: २०७२ श्रावन १६, 
नेपाल-भारतबीच थप नयाँ चारवटा रुटमा नियमित बससेवा सुरु गर्ने तयारी भएको छ।

भारतीय दूतावासका अनुसार काठमाडौं-बोधगया, महेन्द्रनगर-नयाँदिल्ली, सिलगुढी-काँकडभिट्टा-काठमाडौं तथा जनकपुर-पटना गरी चार नयाँ रुटमा नियमित बससेवा सुरु गर्ने तयारी भएको हो। ‘यस सम्बन्धमा गृहकार्य जारी छ। तर कहिलेबाट नयाँ रुटमा बस सञ्चालन हुन्छ भन्ने मिति तय भएको छैन’, दूतावासका प्रवक्ता अभय कुमारले भने।

भारत-नेपाल सीमापार यातायात सुविधासम्बन्धी संयुक्त कार्यदलको नयाँदिल्लीमा हालै सम्पन्न बैठकले सिफारिस गरेअनुसार बससेवा सुरु गर्ने तयारी भएको दूतावासले जनाएको छ।
‘नयाँ रुट सुरु भएपछि उत्तर प्रदेश, बिहार, पश्चिमबंगाल तथा उत्तरखण्ड र नेपालबीच सहज सम्पर्क तथा आवतजावतमा सुविधा पुग्नेछ। दुवै पक्षका सबै सरोकारवालासँग छलफलपछि नयाँ रुट सुरु गरिनेछ’, दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ। काठमाडौंदेखि दिल्ली तथा बनारससम्म नियमित बससेवा यसअघि नै सुरु भइसकेको छ। (काठमाडौं-दिल्ली दोहोरो बस सेवा सञ्‍चालन)
नेपाल—भारत सवारीसाधन सम्झौताअन्तर्गत दुई देशबीच यात्रु सवारीसाधन आवतजावतमा नियमन गर्नका लागि भारत-नेपाल सीमापार यातायात सुविधासम्बन्धी संयुक्त कार्यदलको बैठक गत १६ र १७ जुलाईमा नयाँदिल्लीमा सम्पन्न भएको थियो। नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डलले भारतीय सडक यातायात तथा राजमार्ग मन्त्रालयका सहसचिवको नेतृत्वको प्रतिनिधिमण्डलसँग छलफल गरेको थियो।
बैठकका क्रममा भारत-नेपाल सीमामा यात्रुवाहक सवारीसाधन सहज आवतजावत गर्ने विषयमा छलफल भई केही सुझावसमेत दिइएको दूतावासले जनाएको छ।
भारत-नेपाल सीमामा सवारीसाधन सहज आवतजावत गराउन भारतको राष्ट्रिय सूचना प्रविधिसेवा प्रदायक एनआईसीले भारत-नेपाल द्विपक्षीय सवारीसाधन सम्झौताअनुरूप अनलाइन अनुमति जारी गर्न वेबमा आधारित प्राविधिक सहयोग निर्माण गर्ने पनि बैठकमा सहमति भएको छ।
‘अनियमित तथा व्यक्तिगत सवारीसाधनलाई अनुमति जारी गर्न, रेखदेख तथा नियन्त्रण एवम् अनुमति जाँचबुझ गर्न वेबमा आधारित प्रविधिको विकास गरिनेछ। एनआईसीले विकास गर्ने अनलाइन सवारी अनुमति प्रणालीमाथि सल्लाह, सुझाव तथा सहमतिका लागि नेपालसमक्ष पेस गरिनेछ। नयाँ प्रणालीले सुदूर तथा दुरुह स्थानमा रहेका मानिसले समेत सजिलै सवारी अनुमति खरिद गर्न सक्नेछन्’, विज्ञप्तिमा भनिएको छ।
दुवै पक्षको सहमतिपछि सवारी अनुमति जारी गर्ने वेब पोर्टल वीरगन्ज-रक्सौल तथा भैरहवा-सुनौली नाकामा पाइलट परीक्षण गरिने दूतावासले जनाएको छ। ‘दुवै देशले अपनाउँदै आएका सवारी अनुमति जारीसम्बन्धी विद्यमान नियम तथा परम्परागत प्रणाली पनि सँगसँगै जारी रहनेछ’, विज्ञप्तिमा छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष सम्पन्न नेपाल भ्रमणका क्रममा मोदीले नयाँदिल्ली-काठमाडौं बससेवा औपचारिक उद्घाटन गरेका थिए। मोदी सत्तामा आएपछि छिमेकी देशहरूसँग सम्पर्क बढाउने विषयलाई प्राथमिकताका साथ अघि बढाएका छन्।
गत वर्ष मंसिरमा सम्पन्न सार्कको १८ औं शिखर सम्मेलनमा सार्क देशबीच यातायात र रेल सम्झौता गर्ने सहमति भइसकेको छ। सार्क देशबीच यातायात सम्झौतामा तीन महिनाभित्र हस्ताक्षर गर्ने भनिएको थियो।
यातायात मन्त्रीस्तरीय बैठक अनिश्‍चित
साउन ५ र ६ गते नेपालले आयोजना गर्ने भनिएको सार्क यातायात मन्त्रीको बैठक स्थगित भएपछि अर्को बैठकबारे अनिश्चितता देखिएको छ। पाकिस्तानले आन्तरिक तयारी नपुगेको भन्दै असमर्थता जनाएपछि सार्क सम्मेलनमा उक्त सम्झौतामा हस्ताक्षर भएको थिएन।

नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान भने उक्त यातायात सम्झौतामा हस्ताक्षर गर्ने पक्षमा छन्। गत महिना बंगलादेश, भारत, भुटान र नेपालबीच मोटर भेहिकल्स एग्रिमेन्टसम्बन्धी उपक्षेत्रीय सम्झौतामा भुटानको राजधानी थिम्पुमा हस्ताक्षर भएको थियो।

श्रोत : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *