ताजा खबर

अब नेपालमै छाला प्रत्यारोपण

मेरो छाला मेरो होइन
काठमाडौं, २०७२ श्रावन १६, 
अनुहारबाहेक सबै शरीर जलेको छ, जलेको शरीर बेलाबेलामा चर्कंदा असह्य पीडामा पुग्छन् उनी। त्यही पीडाबीच पनि बाँच्न सफल आफ्नो शरीरतिर हेर्दै मुस्काउन थाल्छन्।
उनको शरीरको छाला उनको हैन। कीर्तिपुर अस्पतालको स्किन बैंकमा पहिलोपटक स्टोर गरेर राखिएको मृत व्यक्तिको छालाले नयाँ जीवन पाएका उनी अब त बाँच्छु भन्नेमा विश्वस्त देखिन्छन्।वैशाख १२ गते गएको विनाशकारी भूकम्पले घर हल्लिँदा अगेनामाथि रहेको सल्लाको खोटो खसेपछि आगलागी भएर जलेका दैलेख चामुण्डाका टीकाराम चालिसेलाई उपचारका लागि नेपालगन्ज हुँदै लखनउ पुर्‍याइएको थियो।
दुई लाख रुपैयाँ खर्च गर्दा पनि निको नभएपछि उनको परिवारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइपुराए। त्यहाँबाट पनि भूकम्पपीडित उनलाई जलेको बिरामीको निःशुल्क र राम्रो उपचार हुने भन्दै कीर्तिपुर अस्पताल रेफर गरियो। त्यहाँ पुग्दा जलेको छालाले संक्रमण फैलिएर जीवनमरणको दोसाँधमा चारवटा अस्पताल धाइसकेका चालिसे भाग्यमानी साबित भए।
अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई नेतृत्वको टोलीको १८ महिनाको अथक प्रयासपछि स्किन बैंकमा जम्मा गरिएको मृत व्यक्तिको छालाले उनलाई नयाँ जीवन दियो। त्यो छाला केही दिनअघि आत्महत्या गरेका एक न्यायाधीशको चाहनामा र परिवारको सहमतिमा उनको मृत शरीरबाट निकालेर स्टोर गरिएको थियो।
‘स्वर्गमा बास होस्, ती मान्छेको जसको छालाले मैले फेरि संसार देख्न पाएँ,’ यसो भन्दा उनको आँखामा हर्षका आँसु टिल्पिलाउँदै थियो। बुढ्यौलीले चाउरी परेका दुई हात जोड्दै डा. राईप्रति आफ्नो जीवन बचाएकोमा अनुग्रहित भए उनी।
त्यस्तै मृत व्यक्तिकै छालालाई आफ्नो छाला बनाएर बाँच्न सफल अर्को एउटा शरीर विपरीत दिशामा रहेको शय्यामा तंग्रिँदै थियो। धादिङकी सरिता धिताललाई सायद १७ वर्षे जवानीमै यो ससार छोड्नुपर्ने हुन्थ्यो, उक्त अस्पतालको स्किन बैंकमा छाला स्टोर नगरेको भए।
‘तिम्रो जीवन अर्काको छालाले बाँच्यो, थाहा छ? ‘ भन्ने प्रश्नमा पहिले अवाक् भइन् उनी, अनि थोरै घोत्लिएर भनिन्, ‘हो डाक्टरले पनि भन्नुभएको थियो।’ कस्तो लाग्दैछ तिमीलाई भन्ने अर्को प्रश्नमा पोलिएर दागै दाग भएको अनुहार उज्यालो पार्दै उनले भनिन्, ‘अब त म जे पनि गर्न सक्छु।’
चिया पकाउँदै गर्दा आगलागी भएर जलेकी उनलाई फेरि यसरी कुरा गर्न सक्छु भन्ने लागेकै थिएन। तत्कालका लागि जीवन बचाएको अर्काको छालालाई उनको आफ्नै छाला उम्रिएर विस्थापित गर्दैगर्दा चिलाइरहेको शरीर थोरै शान्त पार्दै जबाफ दिँदै थिइन् सरिता।
संजोग पनि कस्तो ७० वर्षको पाको र १७ वर्ष जवान, यी दुई शरीरले एउटै मृत व्यक्तिको छाला दान पाएका थिए।मृत व्यक्तिको छालाले जलेर मृत्युको मुखमा पुगेका मानिसको जीवन बाँच्छ भन्ने नेपालमा धेरैलाई थाहा छैन।
मृत शरीरको छालालाई पाँच वर्षसम्म टिकाइराखेर आवश्यकताअनुसार जलेका बिरामीमा प्रत्यारोपण गरी उनीहरूलाई बचाउन सकिन्छ भन्ने त झन् थाहा हुने कुरै भएन। यस्तो छाला टिकाइराख्ने आवश्यक अत्याधुनिक उपकरणसहितको स्किन बैंक खोलिएको छ भन्ने पनि कमैलाई जानकारी हुन सक्छ। तर नेपालमा यो सम्भव भइसकेको छ।
जलेर सम्भावित मृत्युको मुखमा पुगेकाहरूलाई मृत व्यक्तिको छाला प्रत्यारोपण गरी जीवनदान दिने विज्ञ, प्रविधि र सुविधाको उपलब्धताले ठूलै आशा सञ्चार गरिदिएको छ यतिबेला। मात्र कमी छ, मृत शरीरको छालाले जलेका मानिसको जीवन बचाउन सक्छ र छाला दान पनि अन्य दानजस्तै महत्त्वपूर्ण र महानदान हो भन्ने सर्वसाधारणलाई बुझाउन।
लामो समय आगोले पोलेका बिरामीको शल्यक्रिया गरेका डा. राई नेतृत्वको टोली १८ महिनापछि दुई मृत शरीरबाट छाला निकाल्न सफल भएका थियो। डा. राईको अनुभवमा पहिलो त मृत शरीरको छाला दान गर्न मिल्छ भन्ने ज्ञानको अभाव छ। ज्ञान भएकाहरूले पनि मृत आफन्तको छाला निकालेपछि डरलाग्दो हुने भन्दै सहमति दिँदैनन्।
छाला निकाल्न सहमत हुन सक्नेहरू पनि दानको उपयोगिताबारे अनभिज्ञ हुनुले दान गर्न प्रेरित हुन सकेका छैनन्। डा. राईका अनुसार एउटा मृत व्यक्तिको छालाबाट ८० प्रतिशतभन्दा धेरै जलेका दुईवटा जीवन बचाउन सकिन्छ।
मृत शरीरसँगै ‘जलेर जाने छालाले जलेर मृत्युको मुखमा पुगेका मानिसलाई जीवन दिने’ भन्दै डा. राईको टोलीले विभिन्न व्यक्ति, समूह, संघसंस्थाहरूसँग छालादान अभियानलाई सहयोग गर्न पटकपटक आग्रह नगरेका होइनन्। सायद उनीहरूले छाला दानको महत्त्वप्रति त्यति चासो दिएनन्, जसका कारण एउटा पनि मृतशरीरबाट छाला दान गर्न आफन्त भेटिएनन्।
केही सीप नलागेपछि डा. राईको टोली महाराजगन्जस्थित शिक्षण अस्पतालको आँखा बैंकसँग सहकार्य गर्न पुगेको केही दिनमै दुई मृत व्यक्तिबाट छाला निकाल्न सफल भएको थियो। यसलाई नेपाली चिकित्सा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि मानेका छन् उनीहरूले।
जलेर जाने छालाले जलेर मृत्‍युको मुखमा  पुगेका मानिसलाई जीवन दिने’ भन्‍दै डा. राईको टोलीले दाता गुहारिरहेको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वर्षेनी ५६ हजार मानिस विभिन्न परिस्थितिमा आगोले पोलेर सख्त घाइते अवस्थामा ढिलो गरी अस्पताल पुग्छन्। तीमध्ये २१ सयभन्दा धेरै घाइतेको उपचारका क्रममा ज्यान जाने गरेको छ। त्योबाहेक आगोले पोलेर अस्पताल जान नसक्नेहरू, धामीझाँक्रीकामा धाउनेहरू र निजी अस्पताल गएर ज्यान गुमाउनेहरूको रेकर्ड सरकारसँग छैन।
विदेशमा ८० देखि ९० प्रतिशतसम्म जलेका मानिसलाई पनि बचाउन सकिन्छ। छाला प्रत्यारोपण नै यसको मुख्य कारण हो जुन नेपालमा सुरु भइसकेको छ। तर १८ महिनाको अवधिमा दुई मृत शरीरको छालामात्र स्किन बैंकमा जम्मा हुनुले उत्साहित हुनुपर्ने अवस्था भने छैन।
हिन्दु संस्कारमा मृत शरीरमा छुरा चलाउन नहुने मान्यता र छाला निकालेपछि शव अझ भयानक हुने डरले मृतकका आफन्त छाला निकाल्न सहमति दिँदैनन्। छालादान भनेको मृत शरीररको सम्पूर्ण छाला निकाल्ने हो भन्ने भ्रम पनि पर्न सक्छ। तर डा. राईका अनुसार मृत शरीरका तिघ्रा, पिँडुलाजस्ता केही संवेदनशील भागको माथिल्लो तहबाट त्यो पनि पातलो छालामात्र निकालिन्छ र बैंकमा स्टोर गरिन्छ।
मानिसको मृत्यु भएको ६ घन्टाभित्र छाला निकालिसक्नुपर्ने भएकाले पनि छालादान चुनौतीपूर्ण बनेको हो। छालादान गर्ने संकल्प गरेका व्यक्तिको मृत्यु हुँदा पनि शोकले भावविह्वल भएका आफन्तले छालादानका लागि सम्बन्धित चिकित्सक वा अस्पताललाई खबर गर्न त्यति व्यावहारिक देखिँदैन।
छाला निकाल्नुपर्ने समयअवधि छोटो भएकाले अस्पतालमै मृत्यु हुन पुगेका मानिसको छालासमेत निकाल्न कठिन हुन्छ चिकित्सकलाई । अप्ठेराहरू जे हुन् तिनलाई चिर्नसके एउटा मृत व्यक्तिको जलेर खरानी हुने छालाले अर्का दुई व्यक्तिको जीवन लम्बिने यथार्थलाई हामीले आत्मसात् गर्नुपर्छ।
अमेरिका, क्यानाडा, बेलायतजस्ता मुलुकमा छालादानबाट सयौं मानिसको जीवनरक्षा भइरहेका बेला हामीले पनि त्यसको अभ्यास गर्न पछि पर्नु हुँदैन।यो महान् अभियानमा अभियन्ता बनेका छन् देशकै केही उदाहरणीय व्यक्तिहरू।
मुख्य सचिव लीलामणि पौडेलले मृत्युपर्यन्त छालादान गर्ने घोषणा गर्नुले यो अभियान सकारात्मक दिशातर्फ उन्मुख हुँदैछ भन्ने अनुमान गर्न सकिन्छ। अभियानलाई थप ऊर्जा दिएका छन् नेपालकै चर्चित हास्यकलाकार महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले।
 उनीहरूले पनि मृत्युपछि हामी दुईजनाको छालाले चारजनाको जीवन बचाउनु पुग्छ र यो दान महादान हो भन्दै छालादानको घोषणा गरिसकेका छन् । कानुनले पनि परिवारको सम्पूर्ण सदस्यको सहमतिमा मृत शरीररको छाला निकाल्ने स्वीकृति दिइसकेको अवस्था छ।
आखिर मृत्युपछि जलेर खेर जाने छालाले बाँच्ने चाहना मनभरि राखेर अस्पतालको शय्यामा छट्पटाउने शरीरलाई रक्षा गर्छ भने किन आजै मृत्युपछि छाला दान दिने संकल्प नगर्ने हामीले ? परोपकार पुण्याय पापाय परपीडनम् भन्ने भनाइबाट पनि हाम्रो समाज सम्मानित छ। यो संसारले पनि अरूको भलाइ वा हितमा गरिने दानलाई सर्वोत्कृष्ट मान्दै आएको छ।
किन नगर्ने त संकल्प छाला दानको?
छाला प्रत्यारोपणका बेला अत्यन्तै संवेदनशीलता अपनाउने गरिन्छ। कीर्तिपुर अस्पतालका डा. विकास कार्कीका अनुसार सुरुमा मृत मानिसको छालादान दिन आफन्तलाई सहमत बनाइन्छ। आफन्त सहमत भएपछि ती मृत व्यक्तिलाई क्यान्सर, एचआईभी, हेपाटाइटिस वा अन्य संक्रमण वा कुनै दीर्घरोग थियो कि थिएन भन्ने बुझिन्छ।
कुनै सरुवा रोग थिएन र छैन भने पनि फेरि जाँच गर्न छाला निकाल्दा जाँचका लागि रगत निकालिन्छ । त्यतिन्जेल उक्त छाला स्किन बैंकको छुटै फ्रिजमा गिल्सिरल केमिकलमा राखिन्छ।
रगत र छालाको जाँचमा सबै कुरा नेगेटिभ रिपोर्ट आयो भने उक्त छाला गिल्सिरलको प्रतिशत बढाएर चार डिग्री सेल्सियस तापक्रमसहित अर्को फ्रिजमा राखिन्छ। यो छाला पाँच वर्षसम्म प्रत्यारोपण गरिन्छ।
शरीरको ३० प्रतिशत भाग जलेको छ भने संक्रमण फैलिन नदिन पोलेको छाला फालेर स्टोर गरिएको अर्काको पातलो छाला टाँस्नुपर्छ। त्यो छाला बिरामीकै राम्रो मानिन्छ तर एक तिहाइ जलेका मानिसको आफ्नो छालाले मात्र पुग्दैन। त्यसैले अरूको छाला प्रयोग गरेर शरीरबाट निस्कन लागेको प्रोटिनलगायत रोकेर ज्यान बँचाउने गरिन्छ।
शरीरको २० प्रतिशत भाग जल्नेबित्तिकै अन्य अंगलाई पनि असर पार्छ। रोगसँग लड्ने क्षमता पनि घटेका बेला अरूको छाला लगाउँदा शरीरले स्वीकार्छ। तर बिरामी स्वस्थ हुँदै गयो भने भित्रबाट नयाँ छाला पलाउन थाल्छ र टाँसिएको छाला उत्रिँदै जान्छ। छाला प्रत्यारोपणले तत्काल मानिसको ज्यान बचाउन ठूलो भूमिका खेल्छ।
श्रोत : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *