
अब मिस युथ नेपाल
सौन्दर्य प्रतियोगिताहरूको भीडमा ‘मिस युथ नेपाल’ पनि थपिएको छ । ट्रिक मिडियाले पहिलो पटक ‘मिस यूथ नेपाल–२०१५’ को आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिताका लागि आगामी शनिबार पहिलो अडिसन सञ्चालन गरिँदैछ । ‘युथ विद पर्पोस’ भन्ने नारा बोकेको यो प्रतियोगितामा सहभागिता जनाउने युवतीहरू प्लस टु उत्तीर्ण तथा १७ वर्षदेखि २३ वर्ष उमेर समुहको हुनुपर्ने बताइएको छ । भदौको दोस्रो साता सम्पन्न हुने यो प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरूलाई चलचित्र निर्देशक दिनेश डिसी, सुमन दाहाल, सुचित्रा श्रेष्ठ, क्याप्टेन विजय लामा, संगीतकार महेश खड्का आदिले व्यक्तित्व विकाससहित विभिन्न विधामा प्रशिक्षण प्रदान गर्नेछन् ।
मिस मंगोलमा १०
नेपाली सौन्दर्य प्रतियोगितामा आफ्नै पहिचान बनाएको मिस मंगोल नेपाल–२०१५ का लागि धरानमा भएको पूर्वाञ्चल अडिसनबाट १० जना छनोट भएका छन् । धरानस्थित विजयपुर एफएममा भएको अडिसनमा पूर्वाञ्चलका विभिन्न जिल्लाका २७ जना सहभागी थिए । छनोट हुनेमा एलिना राई, अर्चना चौधरी, स्वरूपा थापामगर, आस्था राई, रुषा श्रेष्ठ, रक्षा राई, साङ्मु शेर्पा, रानु लिम्बू, सेवी श्रेष्ठ, जेनिशा लिम्बू, इक्सा मादेन, सोनु लिम्बू तथा सिमा राई छन् । छनौटमा परेका १३ जनामध्ये कम फस्टका आधारमा १० जनालाई मात्र सहभागी गराइएको आयोजकहरूले बताएका छन् ।
प्रतियोगितामा १६ देखि २४ वर्ष उमेरका, घटीमा एसएलसी उत्तीर्ण एवं ५ फिटभन्दा अग्ला आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउँछन् । सुन्दरता, बौद्धिकता एवं संस्कृतिबीचको फ्युजनका रूपमा लिइएको मिस मंगोलमा यही वर्षदेखि सर्टकट इन्ट्रीमार्फत मिस ट्यालेन्ट विजेता तथा एसएमएस भोटिङमा सबैभन्दा बढी मत प्राप्त गर्ने प्रतियोगीले उत्कृष्ट १५ मा सीधै प्रवेश पाउनेछिन् । मिस मंगोल नेपाल–२०१५ को अन्तिम प्रतिस्पर्धा साउन ३० गते राजधानीमा हुनेछ ।
श्रोत : साप्ताहिक