
दृश्यम्
निर्देशक : निशिकान्त कामत
कलाकार : अजय देवगन, तब्बु, श्रेया सरन, रजत कपुर, इशिता दत्ता आदि ।
संगीत : विशाल भारद्वाज
गोवाको एउटा पहाडी गाउँमा केबल टिभी नेटवर्कको सञ्चालन गरिरहेका विजय सालगाँवकर (अजय देवगन) आफ्नी पत्नी नन्दिनी (श्रेया सरन) तथा दुई छोरीका साथ सुखमय जीवन बिताइरहेका छन् । नन्दिनी र विजय एक–अर्कालाई निकै प्रेम गर्छन् र सहयोग पनि । चार कक्षासम्म पढेका अनाथ विजय केबल टिभी नेटवर्कको व्यवसायबाट सम्पन्न पनि भएका छन् । उनी आफ्नो परिवारका लागि संसारका सबै खुसी र सुख दिन तत्पर छन्, तर उनको सोचाइ छ कि जीवन साधारण तरिकाबाटै जिउनुपर्छ । चलचित्र हेर्न निकै मन पराउने विजय रातभर टेलिभिजनको अगाडि बसेर चलचित्र हेरिरहन सक्छन् । त्यही बेला एउटा किशोर बेपत्ता हुन्छ, जो प्रहरी आइजी मिरा देशमुख (तब्बु)को छोरा हो । कामप्रति गम्भीर तथा घमन्डी स्वभावकी मिराले जाँच गर्दै जाँदा विजयको परिवार उनको छोरा बेपत्ता पार्न संलग्न भएको केही अपुष्ट प्रमाण फेला पार्छिन् अनि उनले विजयको परिवारलाई जाँच गर्ने बहानामा प्रहरी प्रशासनको सहयोग लिएर दु:ख दिन थाल्छिन् । उनीहरूले पाएको दु:खलाई सञ्चारमाध्यमहरूले प्रकाशन तथा प्रसारण गरेपछि त्यो राष्ट्रिय इस्यु बन्छ र त्यसपछि रहस्यहरू खुल्दै जान्छन् ।
तब्बु र अजय देवगनले धेरै चलचित्रमा जोडीका रूपमा रोमान्स गरेका छन् । यसपटक भने फरक खालको भूमिकामा दुवैले एक–अर्कालाई चुनौती दिएका छन् । मलायलम तथा तेलगु भाषामा निर्माण भैसकेको यो चलचित्रको हिन्दी रिमेक ‘दृश्यम्’ आज प्रदर्शनमा आउँदैछ ।
मिसन इम्पोसिबल–५
निर्देशक : क्रिस्टोफर मेक्कोएर
कलाकार : टम क्रुज, रेबिका फरगुसन तथा जेर्मी रेनर ।
डरलाग्दा एक्सन दृश्य तथा स्टन्टहरूको श्रृंखला हो— चलचित्र मिसन इम्पोसिबल । हलिउडका एक्सन अभिनेता टम क्रुजको यो पाँचौं श्रृंखलालाई ‘मिसन इम्पोसिबल–५’ वा ‘मिसन इम्पोसिबल : रग नेशन’ भनिएको छ । अघिल्ला श्रृंखलाहरूमा पनि सिरिंग हुने एक्सन समेटिएकाले यसमा अझ बढी एक्सन हेर्न पाइने बताइन्छ । ‘मिसन इम्पोसिबल–५’ को ट्रेलरमा अभिनेता क्रुजले उडिरहेको हवाईजहाजको पखेटामा चढेको डरलाग्दो दृश्य देखाइएको छ । उक्त दृश्यका लागि कुनै डुप्लिकेटको सहायताबिना अभिनेता क्रुज आफैंले ज्यानको बाजी थापेर स्टन्ट गरेको बताइन्छ । यो श्रृंखलामा क्रुजले तीबाहेक अरू पनि डरलाग्दा स्टन्ट गरेका छन् । जासुसी चलचित्रहरूको कथा प्राय: उस्तै हुन्छ ।
‘मिसन इम्पोसिबल–५’ मा पनि त्यस्तै कथा समेटिएको छ । संसारमा आतंक मचाउन खोज्ने संगठन वा व्यक्तिविरुद्ध उनीहरूको पर्दाफास गर्न नायक तथा उनको टोलीलाई खटाइएको हुन्छ । डर नमान्ने नायक जासुस हुन्छन् । उनले यसपटक अपराधीहरूलाई साथ दिने कर्मचारीतन्त्रविरुद्धको अभियानलाई सफल बनाएका छन् । केही हास्यदृश्य तथा अधिकांश एक्सन तथा स्टन्ट दृश्यले भरिएको यो चलचित्रमा खतरनाक अपराधीहरूको एउटा संगठनले अन्तर्राष्ट्रिय मुद्रा कोषमा आक्रमण गरेर लुट्न खोजेको कुरा नायक तथा उसको जासुसी संस्थाले चाल पाउँछ । अन्तत: उनीहरूको प्रयासलाई नायक तथा उनको समूहले असफल बनाउँछ ।
श्रोत : साप्ताहिक