ताजा खबर

पिएसजीसँग म्यानचेस्टर पराजित

सिकागो, २०७२ श्रावन १५,

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बुधबार म्यानचेस्टर युनाइटेडलाई अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा २–० ले पराजित गरेको छ । घरेलु प्रिमियर लिगअगाडि दुवै टोली अभ्यास खेलका लागि अमेरिका भ्रमणमा छन् । फ्रान्सेली क्लब पिएसजीलाई जित दिलाउन ब्लेसे माटुदी र जात्लान इब्राहिमोभिकले एक–एक गोल गरेका थिए । अमेरिका भ्रमणमा म्यानचेस्टरले क्लब अमेरिका, सान जोसे तथा युरोपियन च्याम्पियन बार्सिलोनालाई हराएको थियो । पछिल्लो तीन खेलमा अपराजित म्यानचेस्टरले पिएसजीविरुद्ध उत्कृष्ट खेल प्रस्तुत गर्न सकेन । पिएसजीसँगको प्रतिस्पर्धामा म्यानचेस्टरको रक्षापंक्ति कमजोर रह्यो ।

खेलको २५औँ मिनेटमा ब्लासेले पिएसजीलाई १–० को अग्रता दिलाए । उनको फ्रिकिकलाई म्यानचेस्टरका गोलरक्षक डेभिड डे जिएले छेक्न सकेनन् । त्यसपछि खेलको ३४औँ मिनेटमा इब्राहिमोभिकले म्याक्सवेलको पासमा टोलीलाई २–० को अग्रता दिलाए । नयाँ सिजनमा अनुबन्ध भएका मेम्फिस डेपाय, बास्टिन स्वाइन्सटाइगर, मोर्गान स्चनेडेलिन तथा माटेओ डर्मिनले मध्यान्तरपछि म्यानचेस्टरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ८ अगस्टमा म्यानचेस्टरले इंग्लिस प्रिमियर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा टोटनह्यामको सामना गर्नेछ ।

श्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *