ताजा खबर

याकुबलाई फाँसी दिइयो

नयाँदिल्ली, २०७२ श्रावन १५,

१९९३ को मुम्बई सिरियल विस्फोटका दोषी याकुब मेमनलाई नागपुरको सेन्ट्रल जेलमा बिहीबार बिहान ७ बजे फाँसी दिइएको छ । उनलाई फाँसी दिने अन्तिम फैसला हुनुअघि रातभर अदालतमा सुनुवाइ भएको थियो । बुधबार साँझ नै सर्वोच्चले याकुबलाई फाँसीको सजाय सुनाएको थियो । तर, फैसलामाथि पुनर्विचार गर्न अनुरोध गर्दै प्रशान्त भूषणसहित १२ वकिल प्रधानन्यायाधीश एचएल दत्तुको घर पुगेका थिए । उनीहरूको अनुरोधपछि प्रधानन्यायाधीशले बिहीबार बिहान साढे तीन बजे सर्वोच्चमा पुन: सुनुवाइ सुरु गरेका थिए । बिहान पाँच बजे फेरि याकुबविरुद्ध फैसला आयो । सर्वोच्चको अन्तिम फैसला आएपछि यसअघि नै तय भएअनुसार याकुबलाई फाँसी दिइएको हो । त्यसपछि उनको शव पोस्टमार्टम गरिएको थियो । मुम्बईमा कडा सुरक्षाबीच उनको अन्तिम संस्कार पनि बिहीबारै गरिएको छ । सन् १९९३ को मुम्बई विस्फोटको योजना बनाएको, त्यसका लागि आर्थिक व्यवस्था गरेको, पाकिस्तानमा हतियार पुर्‍याएको, त्यसको तालिमको व्यवस्थापन गरेको, घरमा बम बनाएको आरोप याकुबमाथि लागेको थिए । १९९३ को मुम्बई विस्फोटमा दुई सय ५७ जनाको मृत्यु भएको थियो ।

श्रोत : नया पत्रिका

Related posts