
एजेन्सी
ढाका, २०७२ साउन १५,
दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेनले टेस्ट क्रिकेटमा चार सय विकेट पूरा गरेका छन् । बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बिहीबार तमिल इक्बालको विकेट लिँदै स्टेनले सो उपलब्धि हात पारेका हुन् । दक्षिण अफ्रिकी कप्तान हसिम अमलाले पहिलो स्लिपमा इक्बालको क्याच लिँदा स्टेन चार सय विकेट लिने दोस्रो अफ्रिकन बलर बने ।
यसअघि सन पोलाक चार सय विकेट लिने एक मात्र अफ्रिकन बलर थिए । सन् २००८ मा सन्न्यास लिनुअघि पोलाकले ४२१ विकेट लिएका थिए । स्टेन दोस्रो छिटो चार सय विकेट पूरा गर्ने बलर बनेका छन् । न्युजिल्यान्डका रिचार्ड हाड्र्लीले ८० टेस्टमा सो कीर्तिमान राखेका थिए । टेस्ट क्रिकेटमा स्टेनसँगै १३ बलरले चार सय विकेट लिएका छन् ।
जसमध्ये तीन क्रिकेटर मात्र सक्रिय छन् । स्टेनसँगै भारतका हजरभजन सिंह र इंग्ल्यान्डका जेम्स एन्डरसन सन्न्यास लिएका छैनन् । स्टेनले चार सय विकेट लिन १६ हजार ६ सय ३४ बल फ्याँकेका छन् ।
स्टेनले टेस्ट इतिहासमा कोसेढुंगा पार गरेको दिन बंगलादेशले आफ्नो पहिलो इनिङ ८ विकेटको क्षतिमा २४६ रन बनाएको छ । स्टेनले ३० रन खर्चेर तीन विकेट हात पारे । इमरुल कायस (३०) र मोमिनुल हक (४०) ले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै बंगलादेशलाई ८१–२ का स्थितिमा पुर्याए ।
त्यसपछि महमदुल्लाह (३५) र मुसफिकर रहिम (६५) ले चौथो विकेटका लागि ९४ रनको साझेदारी गर्दै टोलीलाई १८०–४ को सन्तुलित अवस्थामा पुर्याए । बंगलादेशले पाँचौँदेखि आठौँ विकेट ३१ रनमा गुमाएको थियो । बंगलादेशका लागि सर्वाधिक रन बनाएका रहिमले १२५ बलमा सात चौका प्रहार गरेका थिए । सकिब अल हसनले ६५ बलमा चार चौकाको सहयोगमा ३५ रन बनाए ।