काभ्रे, २०७२ श्रावण १५,
यातायात सञ्चालन सुरु भएयता बनेपा–बर्दिबास सडक (वीपी राजमार्ग) मा १ सय ५२ सवारी दुर्घटना भएका छन्। तिनमा १ सय ३९ जनाको मृत्यु भएको छ। अरू १ सय ८२ जना गम्भीर घाइते भएका छन्।
आयोजनामा विशेषज्ञका रूपमा कार्यरत विन्दु शमशेर राणाका अनुसार २०६५ सालयता ३२ बस दुर्घटनामा परी ७८, १९ मोटरसाइकल दुर्घटनामा ५५, ३१ ट्याक्टर दुर्घटनामा १८, १७ कार वा भ्यान दुर्घटनामा १६, २४ ट्रक दुर्घटनामा ७ र अन्य दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो। उनका अनुसार तीव्र गतिका कारण ६०, सवारी साधनका कारण ११, मादक पदार्थ सेवनका कारण ६, बिनालाइसेन्स चलाएका कारण ५, ओभरलोडका कारण ४, मौसमका कारण ४ र चालकको लापर्बाहीका कारण ३ दुर्घटना भएका छन्। ‘तीव्र गति दुर्घटनाको प्रमुख कारणका रूपमा देखियो,’ राणाले भने, ‘साँघुरो सडकमा गतिमा ध्यान दिने हो भने पनि धेरै दुर्घटना कम हुन सक्छ।’
आयोजनाका अनुसार सडकअन्तगर्तको बर्दिबास–सिन्धुली खण्ड बढी दुर्घटना हुने क्षेत्र हो। त्यहाँ ५७ दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ। खुर्कोट–नेपालथोक खण्डमा बढी मृत्यु भएको छ। त्यस खण्डका ११ दुर्घटनामा ५९ जनाको मृत्यु भएको हो। राजमार्गअन्तगर्तको बढी दुर्घटना हुने स्थलको पनि पहिचान गरिएको छ। बर्दिबास–सिन्धुली खण्डको गौरीबास क्षेत्रको २ किलोमिटर, गौरीडाँडा क्षेत्रको १ किलोमिटर, पाटु क्षेत्रको १ किमि र बुका र गड्यौली पुल बीचको २ किलोमिटर बढी दुर्घटना हुने क्षेत्र हो। सिन्धुली–खुर्कोट सडक खण्डअन्तर्गत ढुंग्रेबास क्षेत्रको ४ किमि, खनियाखर्क क्षेत्रको १ किमि, ग्वाङ पुलको ५ सय मिटर, खुर्कोट घुर्मी क्षेत्रको ५ सय मिटर क्षेत्रमा बढी दुर्घटना भएका छन्। खुर्कोट–नेपालथोक क्षेत्रको रिठ्ठेभीर बढी दुर्घटना हुने क्षेत्र हो। नेपालथोक–धुलिखेल सडक खण्डको पात्लेखेत क्षेत्रको १ किमि, भकुन्डेको १ किमि, कटुन्जेको डेढ किलोमिटर, मंगलटारको १ किमि र घयाम्पेखोलाको ५ सय मिटर क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो। राजमार्ग इञ्जिनियर भुपेन्द्रमान शाक्यका अनुसार सडकको भारबहन क्षमता १६ टनसम्म हो। ‘१६ टन क्षमताका गाडी कुदेमात्रै सडक लामो समय टिक्छ,’ उनले भने, ‘मझ्यौला खालको सवारीका लागि उपयुक्त सडक हो।’ सडकमा अहिले दैनिक १ हजार ३ सडक सवारी साधन गुड्छन््। दुर्घटना न्यूनीकरणका लागि विभिन्न ६५ स्थानमा ट्राफिक बत्ती, २ हजार प्रोटेक्टर राखेको छ।
श्रोत : कान्तिपुर