ताजा खबर

पूर्व राष्ट्रपति कलामको अन्त्येष्टि

भारत , २०७२ श्रावन १४,

भारतीय पूर्व राष्ट्रपति तथा प्रसिद्ध वैज्ञानिक एपिजे अब्दुल कलामको बिहीबार दिउँसो अन्त्येष्टि गरिएको छ ।  उनको गृहनगर भारतको दक्षिणी राज्य तामिलनाडुको रामेश्वरममा अन्त्येष्टि गरिएको समाचारमा जनाइएको छ ।

कलामको गत सोमबार मेघालयमा निधन भएको थियो । पारिवारिक परम्परापछि उनको पार्थिव शरीरलाई त्यहाँ पुर्‍याइएको थियो ।जनताका राष्ट्रपति उपनाम पाएका उनले भारतमा निकै ठूलो लोकप्रियता पनि हासिल गरेका थिए ।

उनको अन्तिम बिदाईका लागि हजारौँ नागरिक त्यहाँ उपस्थित भएका थिए । उनीहरुले उनको विदाईबाट आफूहरु निकै भावुक भएको बताएका थिए ।

हजारौँ नागरिकले जनताको राष्ट्रपतिको जय होस् भनी सम्मान व्यक्त गरेका थिए । उनीहरुले भारत माताको जयजयकार पनि गरेका थिए । उनको सम्मानमा सैनिक सलामी दिइएको थियो । सैनिक सलामीका क्रममा भारतका उच्चपदस्थ नेता, सरकारी उच्च अधिकारीको उपस्थिति थियो ।

उनको अन्त्येष्टिका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति थियो । प्रधानमन्त्रीले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेपछि पूर्व राष्ट्रपति कलामका ९९ वर्षीय दाजुको साथमा पुगेका थिए ।

उनले त्यहाँ उपस्थित कलामका सबैजना परिवारलाई समवेदना पनि व्यक्त गरेका थिए । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न भारतीय काँग्रेसका उपाध्यक्ष राहुल गान्धी पनि त्यहाँ उपस्थित थिए ।  साथै काँग्रेसका अन्य उच्च नेताहरु पनि त्यहाँ थिए ।

मुटुसम्बन्धी समस्याका कारण कलामको जुलाई २७ मा निधन भएको थियो । उनी भारतका एक सुप्रसिद्ध वैज्ञानिक पनि थिए ।

श्रोत  : अन्नपुर्ण पोस्ट

Related posts