एजेन्सी मस्को, २०७२ साउन १४,
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फिफा अध्यक्ष सेप ब्लाटर नोबेल पुरस्कारबाट सम्मानित हुनुपर्ने व्यक्तित्व भएको बताएका छन् । सन् २०१८ को विश्वकप फुटबल प्रतियोगिता छनोट ड्र सार्वजनिक गर्ने क्रममा राष्ट्रपति पुटिनले ब्लाटरको प्रशंसा गर्दै उनलाई नोबेल पुरस्कार दिनुपर्ने धारणा राखेका हुन् । ब्लाटरकै सक्रियतामा रुसले सन् २०१८ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न पाएको आरोप छ । भ्रष्टाचारको आरोप लागेका ब्लाटरले फुटबल विकासमा धेरै योगदान गरेको पुटिनको भनाइ छ । ‘ब्लाटरजस्तो व्यक्तित्वलाई नोबेल पुरस्कार दिइनुपर्छ,’ पुटिनले भने, ‘अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उनको योगदान धेरै छ ।’ अन्तर्राष्ट्रिय खेल क्षेत्र, ओलम्पिक तथा अन्य खेल माथिल्लो स्तरसम्म पुग्नु ब्लाटरजस्तो कुशल खेलकर्मीकै कारण सम्भव भएको पुटिनले जनाए । ब्लाटरमाथिको भ्रष्टाचार आरोप एक खेलकै हिस्सा भएको पुटिनको भनाइ छ ।
फिफामा भ्रष्टाचारको गन्ध आए पनि ब्लाटरले फुटबल विकासका लागि दिनरात काम गरेको उनले बताए । ‘हामी सबैलाई थाहा छ, फिफामा भ्रष्टाचारको कुरा छ, तर यसबीच ब्लाटरले फुटबललाई कुन स्तरमा पुर्याए, त्यसको प्रशंसा हामी सबैले गर्नुपर्छ,’ ब्लाटरको प्रशंसा गर्दै पुटिनले भने, ‘अहिलेको फुटबल विकास ब्लाटरकै कारण सम्भव भएको हो ।’ ब्लाटरमाथिको भ्रष्टाचारका सम्बन्धमा आफूले कहिल्यै नबोल्ने उनले स्पष्ट पारे । ‘मलाई भ्रष्टाचार के–कसरी भइरहेको छ, त्यसको जानकारी लिन आवश्यक छैन,’ पुटिनले भने, ‘मलाई लाग्दैन, ब्लाटरले फिफामा भ्रष्टाचार गरेका छन् ।’ रुसी जनताले ब्लाटरलाई सधैँ समर्थन गरिरहने पुटिनले जनाएका छन् ।
श्रोत : नया पत्रिका