ताजा खबर

चेल्सीसँग बार्सिलोना पराजित

वासिङटन, २०७२  साउन १४,

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण च्याम्पियन्स कपमा युरोपियन च्याम्पियन बार्सिलोना इंग्लिस च्याम्पियन चेल्सीसँग पराजित भएको छ । मंगलबार भएको खेलमा चेल्सीले बार्सिलोनालाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमार्फत विजेताको टुंगो लगाइएको हो । अमेरिकाको वासिङटन डिसीमा भएको खेलमा चेल्सीलाई विजयी बनाउन गोलरक्षक थिबाउट कर्टाेइजले उत्कृष्ट बचाउ गरेका थिए ।

निर्धारित समयको खेलमा अग्रता चेल्सीले नै लिएको थियो । खेलको १०औँ मिनेटमै इडेन हाजार्डले गोल गरेपछि चेल्सी १–० ले अघि बढेको थियो । त्यसपछि खेलको दोस्रो हाफमा लुइस सुअरेज र सान्द्रो रामिरेजले लगातार गोल गरेपछि बार्सिलोना २–१ ले अघि बढ्यो । यद्यपि, खेलको ८५औँ मिनेटमा जारी काहिलले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा एलान हालिलोभिकले क्रसबारभन्दा माथिबाट प्रहार गरेपछि बार्सिलोना पछि परेको थियो । त्यसपछि कर्टाेइजले जेरार्ड पिकेको प्रहारलाई असफल तुल्याएपछि चेल्सीको जित पक्का भएको थियो ।

चेल्सीका लागि निर्णायक प्रहारमा रामिरेस र लोइक पेरीले गोल गरेका थिए । चेल्सी र बार्सिलोना दुवै टोली घरेलु लिग उपाधिको रक्षाको तयारीका लागि अमेरिका भ्रमणमा निस्किएका हुन् । बार्सिलोनाविरुद्धको खेलअघि ब्राजिलियन डिफेन्डर फिलिप लुइसलाई एट्लेटिको म्याड्रिड पठाएका चेल्सी म्यानेजर जोसे माउरिन्हो आफ्नो टोलीको अमेरिकी भ्रमण सुखद तुल्याउन चाहन्थे । बुधबार नै लन्डन फर्किएका चेल्सीका खेलाडीले प्रशिक्षकको इच्छा मात्रै पूरा गरेनन्, वासिङटन रेडस्किन्सको घरेलु मैदानमा भएको खेलमा उपस्थित ७८ हजार ९ सय १४ दर्शकलाई उत्कृष्ट फुटबलको अनुभव दिलाए । चेल्सीका लागि उत्कृष्ट प्रदर्शन गर्दै हाजार्डले गतिलो सुरुवात दिलाए । बायाँ कर्नरमा तीन डिफेन्डरलाई छक्याउँदै अघि बढेका हाजार्डले बक्सनजिकबाट गोल गरेका थिए । उनको प्रहार रोक्न बार्सिलोनाका गोलरक्षक मार्क एन्द्रेले कुनै अवसर पाएनन् । त्यसलगत्तै चेल्सीका केही राम्रा अवसरसमेत खेर गएका थिए । ओस्कारको फ्रिकिक क्रसबारमा लागेर बाहिरिएको थियो भने डिइगो कोस्टाले खेलको ३२औँ मिनेटमा अर्काे उत्कृष्ट अवसर गुमाएका थिए ।

चेल्सी गोलरक्षक कर्टोइजले भने पहिलो हाफको अन्त्यतिर मात्रै बल रोक्ने अवसर पाएका थिए । खेलको ३१औँ मिनेटमा लुइस सुअरेजको प्रहारलाई कर्टोइजले बिफल तुल्याएका थिए । त्यसको एक मिनेटपछि नै बार्सिलोनाका कप्तान सर्जियो बस्केटको प्रहारलाई पनि उनले बिफल तुल्याइदिए । यद्यपि खेलको ५२औँ मिनेटमा सुअरेज खेल १–१ को बराबरीमा फर्काउन सफल भए । डिफेन्डर जउमाको क्रसलाई सदुपयोग गर्दै उनले सुन्दर गोल गरेका थिए । त्यसपछि खेलको ६६औँ मिनेटमा रामिरेजको गोलमार्फत बार्सिलोनाले २–१ को अग्रता बनाएको थियो । यद्यपि खेल सकिन ५ मिनेट बाँकी छँदा चेल्सीले त्यसको मीठो जवाफ फर्कायो । विलियम्सको फ्रिकिकलाई बार्सिलोनाका डिफेन्डरले हेडिङ गर्दै फर्काइदिएका थिए । बार्सिलोनाका सब्स्टिच्युड गोलरक्षक जोर्दी मासिप बललाई रोक्न अघि बढेको मौका छोपी काहिलले गोल गरेका थिए । यो सिजन ट्रेबल उपाधि जितेको बार्सिलोना चेल्सीविरुद्ध लियोनल मेसी, नेमारलगायत आफ्ना महत्त्वपूर्ण पाँच खेलाडीविना नै मैदानमा उत्रिएको थियो ।

श्रोत : नया पत्रिका

Related posts