ताजा खबर

काठमाडौंमा पक्राउ याकुबलार्इ भारतमा फाँसी

एजेन्सी , २०७२ श्रावन १४,
मुम्बर्इमा सन् १९९३ मा बम हमला गरेको आरोपमा काठमाडौंबाट पक्राउ याकुब मेमनलार्इ भारतमा फाँसी दिइएको छ । भारतीय उच्च अदालतको फैसलालार्इ कार्यान्यवन गर्दै याकुबलार्इ बिहीबार बिहान ५ बजेर ४ मिनेटमा नागपुरको जेलमा फाँसीमा झुन्डाइएको हो ।

सन् १९९३ को मुम्बर्इ बम हमलामा दोषी पाइएका उनीविरुद्ध बुधबार मध्यराति सुनुवाइ सकिएपछि बिहीबार बिहानै फाँसीमा लट्काइएको हो ।

बुधवार याकुबको तर्फबाट फाँसी रोक्न दिइएको निवेदनलार्इ राष्ट्रपति प्रणब मुखर्जीले खारेज गरिदिएपछि उनलार्इ फाँसी दिइएको हो ।
फाँसीमा झुन्डाइएपछि याकुबको शव उनका भाइ उस्मान र सुलेमानलार्इ जिम्मा दिइएको महाराष्ट्रका अतिरिक्त मुख्य सचिव केपी बक्षीले जानकारी दिएका छन् ।

याकुबलार्इ फाँसी दिने क्रममा जेल र सो आसपासको बत्ती काटिएको थियो । फाँसी दिने क्रममा उनका परिवारका दुर्इ सदस्यलार्इ जेलसम्म आउन दिइएको थियो ।

फाँसीमा झुन्डाउने क्रममा नागपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जेलको दुर्इ सय मिटरसम्म नाकाबन्दी लगाइएको छ । सञ्चारमाध्मयलार्इ प्रवेशमा पनि प्रतिबन्ध गरिएको थियो ।

याकुबलार्इ फाँसी दिइएपछि एमनेस्टी इन्टरनेशनलले विज्ञप्ती जारी गर्दै फाँसी दिनु दु:खदायी भएको जनाएको छ ।

एमनेस्टी इन्टरनेशनलका कार्यकारी निर्देशक आकार पटेलले भारतीय सरकारले एक व्यक्तिको निर्ममतापूर्वक हत्या गरेको जनाएका छन् ।

‘यो फाँसीबाट सन् १९९३ को बमकाण्डका पीडितलार्इ मिल्दैन’, उनले भने, ‘यो अपराधलार्इ रोक्ने बाटोबाट बाहिर जाने प्रयास हो । सजाय दिनकै लागि अपराधिक न्यायप्रणालीको गलत प्रयोग भएको छ ।’

यस्तो थियो घटना
मुम्बर्इ बम हमलामा याकुब पनि प्रमुख योजनाकार थिए । मुम्बर्इका १३ स्थानमा सन् १९९३ मार्च १२ मा भएको भीषण बम हमालमा आरडीएक्सको प्रयोग भएको थियो । सो हमलामा ३१७ जनाको ज्यान तत्कालै गएको थियो भने २ हजार बढी घाइते भएका थिए ।

मुम्बर्इका प्रमुख बम्बे स्टक एक्सचेन्ज, कालबादेवीको हिरा बाजार, शिवसेना भवन, एयर इन्डिया बिल्डिङ, जवेरी बाजार, सेन्चुरी बाजार, मच्छिमार कोलोनी माहिन, फाइव स्टार होटल सी-रक, प्लाजा सिनेमा, फाइव स्टार जुहू सेन्टोर होटल, अन्तरराष्ट्रिय एयरपोर्ट बाहिर, होटल एयरपोर्ट सेन्टोर र पासपोर्ट कार्यालय बरलीलार्इ आरडिएक्सले उडाइएको थियो ।

मुम्बर्इमा हमला भएकै दिन अमेरिकाको न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा पनि बम हानिएको थियो । वर्ल्ड ट्रेड सेन्टर न्यूयोर्कको धमाका पार्किङमा गरिएकाले क्षति हुन पाएन ।

याकुबका वकिले उनी यो घटनामा संलग्न नभएको बताउँदै आएका थिए ।  जबकि सरकारी वकिलका अनुसार याकुब मेमन नै मुम्बईको सिरियल बम धमाका मास्टरमाइन्ड थिए।

मुम्बई बम धमाकाका प्रमुख आरोपी टाइगर मेनन थिए। याकूब मेमन पेशाले चार्टर्ड एकाउन्टेन्ट थिए । उनी आफ्ना भाइको कारोबारको हिसाबकिताब राख्थे ।

मुम्बई बम धमाकापछि याकूब मेनन नेपाल पसेका थिए । उनलार्इ नेपाल पुलिसले काठमाडौंस्थित     त्रिभुवन विमानस्थलबाट गिरफ्तार गरेर सीबीआईलार्इ बुझाइदिएको थियो ।

श्रोत : अन्नपुर्ण पोस्ट

Related posts