काठमाडौं, २०७२ श्रावन १४,
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको उड्डयन क्षेत्रको सुधार गर्न एक जनाभन्दा बढी पाइलट हुने जहाज (मल्टि पाइलटका एयरक्राफ्ट)का लागि नयाँ पाइलटको पनि कोपाइलट सरह सैद्धान्तिक ज्ञान हुनुपर्ने नियम बनाएको छ।
जहाज निर्माता कम्पनीले दुई जनाभन्दा बढी पाइलट उड्नुपर्ने भनेर निर्माण गरेका जहाजका लागि एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइन्सेन्स (एटीपीएल) सरहको सैद्धान्तिक ज्ञान अनिवार्य बनाएपछि नेपालमा पनि यसलाई लागू गर्न लागिएको हो।
प्राधिकरणले आगामी पुस १६ गतेबाट लागू हुने गरी पाइलटका लागि नयाँ मापदण्ड अनिवार्य गरेको छ। तर,यस अनुरूप तालिम दिने संस्थाको अभाव छ। प्राधिकरणले आईकाओको अनुसूची १ मा भएको ‘रिक्वायरमेन्ट अफ एटीपीएल थेउरीटीकल नलेज फर पाइलट फ्लाइङ मल्टी क्रूएयरक्राफ्ट’ सम्बन्धी प्रावधान अनिवार्य रूपमा पालना गर्ने जानकारी दिएको छ।
यो प्रवाधानअनुसार फ्रेस पाइलटले पनि तत्कालै एटीपीएल सरह सबै मापदण्ड पूरा गर्नुपर्छ। सीपीएल भएका, लाइसेन्स लिएर काम गरिरहेका र आवेदन दिइसकेका पाइलटले आगामी पुस १६ भित्रै एटीपीएल सरहको सैद्धान्तिक ज्ञान लिइसक्नुपर्छ।
पाइलट लाइसेन्स लिइरहेका र उडानमा रहेकालाई दिने यो सैद्धान्तिक तालिमलाई यति नै समय भनेर तोक्न नसकिने नेपालमै तालिमदिइरहेको ‘अ ब्रिज एटीपीएल थेउरी ट्रेनिङ’ले जानकारी दिएको छ। पाइलटको दक्षता र उसको खुबीमा यो तालिमको अवधि निर्धारण हुने तालिम प्रदायक संस्थाको भनाइ छ।
नेपालमा पहिलोपटक सुरु भएको यो तालिममा यती र तारा एयरका २२ जना सहभागी भइरहेका छन्। यो संस्थाले गत १३ जुनबाट सुरु गरेको एटीपीएलको सैद्धान्तिक ज्ञानलाई आगामी सेप्टेम्बर ८ सम्ममा तालिम सक्ने गरी तीन सय घण्टाको तालिका बनाएको छ।
यती र तारामा दुईदेखि साढे दुई वर्षसम्म उडान गरिसकेका पाइलटले यो सैद्धान्तिक कक्षा लिएकोले पनि छोटो समयमा नै तालिम पूरा हुने अ ब्रिजको भनाइ छ। नेपालमा उड्ने सबै जहाजमा यो नियम लागू हुने भएको छ।
नेपालमा उडान गरिरहेको सिंगल इन्जिन तथा मल्टि इन्जिनका सबै जहाज र एमआई १७ नामक हेलिकोप्टरले पनि यो नियम पालना गर्नुपर्नेछ। प्राधिकरणका निमित्त उपमहानिर्देशक राजन पोखरेलका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को कोअर्डिनेट भ्यालिएसन मिसन (आईसीभीएम)को प्रतिवेदनले पाइलट लाइसेन्समा कमजोरी देखाएपछि प्राधिकरणले सुधारका लागि यो नियम अनिवार्य गरेको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको कोअर्डिनेट भ्यालिएसन मिसनको प्रतिवेदनले पाइलट लाइसेन्समा कमजोरी देखाएपछि प्राधिकरणले सुधारका लागि यो नियम अनिवार्य गरेको हो।
युरोपेली युनियनको सेफ्टि टिमले पनि पाइलट लाइनसेन्स अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने भनेपछि प्राधिकरणले पाइलट लाइसेन्समा कडाइ गरेको हो। प्राधिकरणका अनुसार आईकाओले तोकेको प्रावधानअनुसार अब विदेशमा गएर दुई सय घण्टाको तालिम लिएर आउने कमर्सिल पाइलट लाइसेन्स (सीपीएल) हुँदैमा जहाजमा उड्न पाइदैन। सीपीएलको तालिम लिने वा उडानमा रहेका पाइलटले अनिवार्य रुपमा कोपाइलट सरहको सैद्धान्तिक ज्ञानको पनि तालिम लिनुपर्छ।
विदेशबाट तालिम लिएका सबै पाइलटले कोपाइलट सरहको सैद्धान्तिक हुनुपर्ने र अहिले उडानमा रहेका, नयाँ तथा आवेदन दिएर बसेकाले पनि सन् २०१५ को डिसेम्बर ३१ भित्रमा अनिवार्य रुपमा यस्तो ज्ञान हुर्नेपर्ने व्यवस्था गरिएको पोखरेलले बताए। उनका अनुसार व्यावहारिक ज्ञान भने जहाज उडाउँदै जाँदा बढ्ने जान्छ।
सैद्धान्तिक ज्ञान भने पहिले नै लिएर आउनुपर्छ। यो नियम अन्तर्राष्ट्रिय मापदण्डअनुसार तोकिएको हो। प्राधिकरणले नेपालको पाइलटलाई आईकाओको मापदण्डअनुसार बनाउन यस्तो व्यवस्था गरेको हो।
यो व्यवस्थाले नेपालमा पाइलट बन्न चुनौतीपूर्ण हुनुका साथै खर्चालुसमेत भएको छ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाइलटको ज्ञान हुने व्यवस्था भएकोले पनि प्राधिकरणको दाबी छ । यो व्यवस्था लागू भएपनि उड्डयन क्षेत्रको सुधारमा आउनमा थप सहयोग पुग्ने प्राधिकरणको दाबी छ।
अहिले फिलिपिन्समा गएर दुई सय घण्टाको तालिम लिनेले करिब ४० लाख र अमेरिका, दक्षिण अफ्रिका, मलेसियालगायतका मुलुकमा पाइलट अध्ययनका लागि करिब ५० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन्। यसमा पनि कम्तीमा तीन सयदेखि सात सय ७० घण्टाको सैद्धान्तिक ज्ञान थपिनुले पाइलट बन्न एक करोड रुपैयाँसम्म खर्चनुपर्ने भएको प्राधिकरणकै उच्च अधिकारी बताउँछन्।
विदेशबाट एक करोडसम्म खर्च गरेर भित्रिएका पाइलटले नेपालका निजी वायुसेवामा प्रवेश गर्दा लाग्ने तालिम शुल्क आफैंले व्यहोनुपर्ने भएकोले पनि पाइलट बन्न थप जटिल हुने भएको छ।
श्रोत : अन्नपुर्ण पोस्ट