काठमाडौ, २०७२ श्रावण १४,
मुलुकमा सञ्चालित ६ दूरसञ्चार कम्पनीले २ करोड ६८ लाख ६५ हजार सिम वितरण गरेका छन् । दूरसञ्चार प्राधिकरणको पछिल्लो अध्यावधिक तथ्यांकअनुसार जनसंख्यभन्दा बढी सिम वितरण भएको देखिएको हो ।
तर वितरित सिममध्ये कति सञ्चालनमा छन्, कति बन्द भए भन्ने तथ्यांक भने प्राधिकरणले राखेको छैन । धेरैले दोहोरो सिम राख्ने, कतिले हराउने, फाल्ने गरेकाले वितरित सिम सबै प्रयोगमा छन् भन्न नसकिने प्राधिकरकै अधिकारीहरू बताउँछन् । ‘वितरण भएका सिमकै आधारमा सबै जनसंख्यामा सञ्चारको पहुँच छ भन्ने होइन,’ प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले भने भने, ‘मैसँग दुइटा सिम छन् । यस्तो बोक्ने धेरै छन् ।’
त्यसैले प्राधिकरणले वास्तविक सिम प्रयोगको तथ्यांक निकाल्न एक समिति गठन गरेको छ । अहिलेको अध्यावधिक तथ्यांकमा टेलिघनत्व दर १ सय प्रतिशत नाघेको देखिन्छ । त्यही तथ्यांकका आधारमा सञ्चार सुविधा सबैसम्म पुगेको मान्नुपर्ने नेपाल टेलिकमका महाप्रबन्धक बुद्धि आचार्यको जिकिर छ । उनले आफ्नो कम्पनीले सञ्चालनमा नरहेका सिमहरूलाई बन्द गरी अर्कोलाई बाँडिहाल्ने गरेकाले सबै प्रयोगमा रहेको दाबी गरे । ‘टेलिघनत्व दर निकाल्नुको कारण नै कतिसम्म सञ्चार सुविधा पुग्यो भनेर थाहा पाउनु हो,’ उनले भने ‘जनसंख्याभन्दा बढी सिम बिक्री भएको छ । यो सत्य पनि हो ।’
आचार्यका अनुसार नेपाल टेलिकमको हकमा ल्यान्डलाइन र जीएसएम मोबाइल दोहोरिए पनि अधिकांशसँग एउटै मोबाइल सिम हुने गर्छ । ‘अरू कम्पनीले के गर्छन्, थाहा भएन,’ आचार्यले दाबी गरे, ‘तर हामीले जति सिम बाँडेका छौं, त्यो एक्टिभ हो ।’
प्राधिकरणको निर्देशिकाअनुसार १ सय ८० दिनसम्म प्रयोगमा रहेको सिमलाई ‘ग्राहक संख्या’ मा गणना गर्न मिल्छ । त्यसका आधारमा एनसेलले तथ्यांक उपलब्ध गराएकाले वितरित सिम एक्टिभ रहेको दाबी कर्पोरेट कम्युनिकेसन विज्ञ मिलनमणि शर्माले जानकारी दिए । ‘कार्यालयगत र व्यक्तिगत रूपमा प्रयोग गर्ने गरी सिम बोकिएको हुन्छ,’ उनले भने, ‘यसले गर्दा बढी सिम वितरण हुने हुन् ।’
विश्वभरका दूरसञ्चार सेवा प्रदायक कम्पनीको छाता संगठन जीएसएम एसोसिएसनका अनुसार जनसंख्याका आधारमा सिम वितरण १ सय ६० प्रतिशतसम्म हुन सक्छ । त्यसपछि मात्र दूरसञ्चार सेवाको बजार साँघुरिएको मान्न सकिने एसोसिएनले जनाएको छ । ‘यति हुँदा पनि शत प्रतिशतमा सञ्चार सेवा पुग्यो भन्नचाहिँ सकिँदैन,’ एनसेलका शर्माले भने, ‘सिम वितरण र सेवाको पहुँच दुई फरक विषय हुन् ।’ प्राधिकरणले हालै निकालेको तथ्यांकअनुसार टेलिकमको ल्यान्डलाइन, जीएसएम र सीडीएमएलगायत सेवा गरी १ करोड २४ लाख ६७ हजार ३ सय ९३ सँग सञ्चार सुविधा पुगेको छ । त्यस्तै एनसेलको १ करोड २२ लाख ७१ हजार ९ सय ४५ जीएसएम सिम बजारमा छन् ।
श्रोत : कान्तिपुर