देउवा दिल्लीमा उच्च नेतृत्वसँग भेटवार्ता गर्दै

नयाँदिल्ली :२०७२ श्रावन १४,
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पाँचदिने भारत भ्रमणका लागि बुधबार अपराह्न नयाँदिल्ली गएका छन्। पूर्वप्रधानमन्त्री देउवा नेपालमा संविधान जारी गर्ने मिति नजिकिँदै गरेका बेला भारत सरकारको निमन्त्रणामा दिल्ली पुगेका हुन्।
भारत भ्रमणमा रहँदा संविधान लेखन, भूकम्पपछिको पुनरनिर्माणमा भारतीय सहयोग तथा अन्य दुईपक्षीय विषयमा देउवाले भारतका उच्च अधिकारी तथा नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।  देउवाले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्ने कार्यक्रम तय भएको छ। त्यस्तै शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताका लागि समय मिलाइएको छ।
पत्नी आरजू देउवालाई लिएर भारत आउन लागेका नेता देउवाले नयाँदिल्लीमा भेटघाट सकेर उत्तराखण्डस्थित भारतको सबैभन्दा उच्च स्थानमा रहेको तेहरी जलाशयको समेत भ्रमण गर्नेछन् । उनले भारतीय रक्षा मन्त्रालयअन्तर्गतको इन्स्टिच्युट अफ ल डिफेन्स स्टडिज एन्ड एनालाइसिसमा नेपालको जारी संविधान निर्माण र राजनीतिक घटनाक्रमबारे प्रवचन दिने कार्यक्रम छ ।
भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको निधनमा एक सातासम्म भारत सरकारले शोक मनाउने भएका कारण देउवाको भ्रमणमा औपचारिक कार्यक्रम भने नहुने भएका छन् । शोकको अवधिमा भारत आउने विदेशी नेता तथा अधिकारीलाई औपचारिक आतिथ्य नदिइने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयले मंगलबार साँझसम्म देउवाको भ्रमणबारे आफ्नो वेबसाइटमा केही उल्लेख गरेको छैन । यसअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण कार्यतालिका भने मन्त्रालयले सार्वजनिक गरेको थियो ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले देउवाको भारत भ्रमणबारे सोमबार अबेरमात्र औपचारिक जानकारी पाएको छ। नयाँ संविधान निर्माणका लागि प्रमुख दलहरूबीच भएको १६ बुँदे समझदारीपछि छिमेकी भारतले पालैपालो नेपाली नेताहरूलाई दिल्ली बोलाएर परामर्श गरिरहेको छ।
नेपालमा संविधान निर्माणमा भइरहेको प्रगति, भूकम्पका कारण मुलुकमा परेको विपत्तिमा भारतीय सहयोग तथा भारतले नेपालमा गर्नसक्ने लगानीलगायतका विषयमा भ्रमणमा कुराकानी हुने देउवाका सहयोगी भानुले जानकारी दिए।

श्रोत  : अन्नपुर्ण पोस्ट

Related posts