ताजा खबर

‘संविधानको मस्यौदा रातारात फेरियो’

काठमाडौं : २०७२ श्रावन १४,
मस्यौदा समितिबाट पारित भएको संविधानको मस्यौदा प्रतिवेदन बनाएर संविधानसभामा पारित गर्ने रात त्यसका थुप्रै बुँदा परिवर्तन गरिएको एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बताएका छन् ।
अहिलेको मस्यौदामा हस्ताक्षर गर्नु मृत्युपत्रमा हस्ताक्षर गर्नु भएको बताउँदै डा. भट्टराईले के गर्ने भन्नेमा आफूमा द्विविधा रहेको बताएका छन् ।नेपाल पत्रकार महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै बुधबार डा. भट्टराईले भने, ‘महिला, दलित, जनजाति, अल्पसंख्यकलगायतको प्रतिनिधित्व हुने गरी संविधान आउन नसके त्यस्तो संविधानमा हस्ताक्षर गर्नु मृत्युपत्रमा हस्ताक्षर गर्नु नै हो । म ठूलै पीडाबोधमा छु ।’
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला नेतृत्वको मस्यौदा समितिले गत असार १२ गते मस्यौदा संविधानसभामा बुझाउन पारित गरेको थियो । त्यसको भोलिपल्ट असार १३ गते मस्यौदाको प्रतिवेदन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई बुझाइएको थियो ।
डा.भट्टराईले संविधानको पहिलो मस्यौदामा अल्पसंख्यकको अधिकार नपरेको उल्लेख गर्दै त्यो वर्गको हितमै संविधान आउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । पहिलो संविधानसभा, संवाद समिति, विवाद समाधान उपसमितिमा सहमति जुटेका कतिपय विषय संविधानसभा मस्यौदा समितिले हटाएको भट्टराईले बताए ।
उनले भने, ‘सहमति गर्ने मूल थलो संवैधानिक —राजनीतिक संवाद तथा सहमति समिति नै रहेकाले निर्धोले न्याय पाउने गरी संविधान निर्माण गराउन पहल गर्नु मेरो कर्तव्य हो ।’ संविधानको मस्यौदा रहस्यमयमात्र नभएर मजाकसमेत भएको आक्रोश भट्टराईको थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले देशमा त बलियोले निर्धोलाई मिच्ने प्रवृत्ति बढेको र त्यसैअनुसार आश्चर्यजनक रूपमा संविधानको पहिलो मस्यौदा आएको दाबी गरे । ‘विधि र प्रक्रियाविपरीत केही मानिसले अघिका सबै सहमतिलाई मिच्दै संविधानको मस्यौदा ल्याए,’ उनले भने, ‘पहिलो मस्यौदाले विगतका सबैजसो सहमतिलाई एकएक गरेर झिक्ने कार्य भयो ।’
उनले ‘पूर्ण प्रेस स्वतन्त्रता’ भन्ने वाक्यांशबाट ‘पूर्ण’ पनि त्यसैगरी हटाइएको बताए । प्रेस स्वतन्त्रता लोकतन्त्रको खम्बा भएको उल्लेख गर्दै डा.भट्टराईले संवैधानिक अंगको नियुक्ति समावेशी र समानुपातिक आधारमा हुने भन्ने प्रावधान पनि मस्यौदाबाट हटेको बताए । ‘यस्तो कार्य गम्भीर गल्ती नभएर अपराध हो,’ उनले भने । उनले धर्मका विषयलाई बढाइचढाइ गरेको उल्लेख गर्दै उत्पीडित र विपन्न वर्गका प्रसंग सञ्चारमा आउँदै नआएको बताए ।

श्रोत : अन्नपुर्ण पोस्ट

Related posts