बनेपा, २०७२ श्रावन १३,
‘चौधौं दीक्षान्त समारोह सम्बोधनपछि उहाँ (एपिजे अब्दुल कलाम) लाई लन्चका लागि चौकोटस्थित काठमाडौं विश्वविद्यालय (केयु) को मेडिकल साइन्सेज भिलेजमा लगेका थियौं। खाना खाँदै उत्तरतर्फका हिमशृंखला हेर्दै मन्त्रमुग्ध हुनुभएको थियो,’ काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा. सुरेशराज शर्माले सात वर्षअघि भारतका पूर्वराष्ट्रपति कलामसँगका क्षण सम्भि्कए।
‘खुलेको आकाश, हिमालमा हिउँसमेत टन्न थियो। त्यसलाई हेर्दै उहाँले संसारका धेरै युनिभर्सिटीमा पुगेको छु तर यत्ति राम्रो ‘लोकेसन’ मा पुगेको रहेनछु भन्नुभयो,’ शर्माले सुनाए।
२०६५ मंसिर ३ गते मंगलबार काठमाडौं विश्वविद्यालयको १४ औं दीक्षान्त कार्यक्रममा दीक्षान्त भाषणका लागि निम्त्याइएका थिए, पूर्वराष्ट्रपति कलाम। केयुले त्यतिखेर कलामलाई तीन दिन घुमाउने योजना बनाएको थियो। ‘पोखरा, जोमसोमसम्म लैजाने योजना थियो। तर भ्याउनुभएन,’ शर्माले स्मरण गरे।
मंसिर १७ गते नेपाल उत्रिएलगत्तै शर्मा त्रिवि विमानस्थलदेखि दुई दिनसम्म कलामकै साथमा थिए।
साँझ बिपी कोइराला प्रतिष्ठानले होटेल याक एन्ड यतीमा आयोजना गरेको प्रवचनमा सहभागीले कलामलाई सोधेको जिज्ञासा र त्यसको उत्तर अझै शर्मालाई सम्झना छ, ‘तपाईंलाई मिसाइल म्यान भनिन्छ, सबै मिसाइल सफल पार्न तपाईंकै हात छ। भारतजस्तो देशको वर्षदिनको बजेटले समेत यस्तो काम गर्न सकिन्न। तपाईंले कसरी यो काम सम्भव तुल्याउनुभयो?’ शर्माले थपे, ‘उहाँले जवाफमा अमेरिकी डलरमा हिसाब नगरौं। उताको मूल्यमा यताको हिसाब नगरौं। भारतीय विज्ञलाई भारतकै पैसामा खर्च गर्दा कम भएको हो।
चीन र पाकिस्तान अगाडि बढिसकेका थिए। उनीहरु बलियो हुँदा देश हेपिन्छ, त्यसैले आफ्नै पैसा र ताकतले सम्भव भएको हो,’ शर्माले भने।
मुसलमान परिवारका सदस्य भए पनि कलाममा सबै धर्मप्रति अगाध स्नेह र सम्मान रहेको पाउँदा शर्मालाई खुसी लागेको रहेछ।
‘उहाँका पिता डुंगा खियाउँदै तीर्थालुलाई रामेश्वरमको दर्शन गर्न ओहरदोहर गराउने हुनुहुँदोरहेछ। यसैले पनि धर्मप्रति आदरभाव पिताबाटै सिक्नुभएको रहेछ। दिउँसो उहाँले बुद्ध गुम्बास्थल जाने इच्छा व्यक्त गर्नुभयो। केयुले बुद्ध धर्मसम्बन्धी अध्ययन गराउँदै आएको गुम्बामा लग्यौं। त्यहाँका विद्यार्थी, शिक्षक र रेम्पोछेसँग धेरैबेर चाख कुराकानी गर्नुभयो, उनीहरुका कुरा सुन्नुभयो,’ शर्माले भने।
तत्कालीन भारतका लागि नेपाली राजदूत दुर्गेशमान सिंहले कलामलाई केयुको दीक्षान्त कार्यक्रममा आमन्त्रण गर्न मद्दत गरेको शर्मा बताउँछन्। ‘हाम्रो मुलुकको प्रतिनिधित्व गर्ने भएकाले राजदूत सिंहमार्फत उहाँलाई अनुरोध गरेका थियौं। समय कम भएकोले उहाँ (कलाम) ले २४ घन्टा मात्रै बिताउन सक्छु भन्नुभएछ,’ शर्माले भने।
याक एन्ड यतीमै रात बिताएका कलाम भोलिपल्ट (२०६५ मंसिर ३ गते) धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा प्रमुख अतिथि बनेर आएका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल केयुको कुलपति हैसियतले दीक्षान्तमा आएका थिए।
दीक्षान्त भाषणमा कलामले नेपाल प्राकृतिक स्रोतले भरिपूर्ण, शान्तिप्रिय मुलुक हो। यहाँका मान्छे गरिब होइनन् किनकि यहाँ सबथोक छ। सबै कुराहरु भएर पनि किन प्रगति गर्न सकेनौं भनेर नेपालीले बु‰नुपर्छ। अझ केयुबाट दीक्षित भएका विद्यार्थीले यस क्षेत्रमा बढीभन्दा बढी योगदान गर्नुपर्छ भन्दै दीक्षित हुने विद्यार्थीलाई हौस्याएका थिए।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा. रामकण्ठ माकजू श्रेष्ठ (त्यतिखेर सिनेट सदस्य) कलामको केयुमा आगमन हुनु नेपालकै सौभाग्य भएको बताउँछन्। ‘अबर्ौं जनताले नेता र आदर्श मानेका महान व्यक्तिले भर्खरै युवा अवस्थामा रहेको विश्वविद्यालयलाई विश्वास गरेर निमन्त्रणा स्विकार्दै नेपाल आउनु गौरवको विषय हो,’ श्रेष्ठले भने।
दीक्षान्तपछि खानाका लागि चौकोट पुग्दा केयु हाइस्कुलका विद्यार्थीसँग कलामले बिताएका क्षण स्मरण गर्दै श्रेष्ठले भने, ‘भारतको गाउँको एउटा बालक जो सपना देख्दै दृढ निश्चयले दक्षिण एसियाकै महान वैज्ञानिक र शक्तिराष्ट्रको राष्ट्रपति हुनुभयो। सायद हाम्रा बालबालिकालाई पनि आफूले कसरी त्यो क्षमता हासिल गरेँ भन्दै उत्प्रेरणा दिन चाहनुहुन्थ्यो,’ उनले थपे।
‘महान वैज्ञानिक भएर पनि उहाँमा सामान्य जीवन रुचाउने, बडप्पन केही रहेनछ। यस्ता व्यक्तित्वलाई केयुकै कारण नेपालमा पहिलोपटक स्वागत गर्न पाउँदा अत्यन्तै खुसी भएका थियौं,’ श्रेष्ठले भने।
केयुका पदाधिकारी मात्रै नभई दीक्षान्तमा सहभागी र स्वयंसेवी रहेका विद्यार्थी पनि कलामसँगको भेट हुँदाको क्षणलाई अविस्मरणीय मान्छन्। ‘दीक्षान्त भाषणमा उहाँका कुरा सुन्न व्यग्र थिएँ। पछि उहाँलाई उपहार दिने क्रममा हात मिलाउँदै छोटो कुरा गर्ने मौका मिलेकोमा म धेरै खुशी भएँ। उहाँले ‘बेस्ट विशेस फर योर स्टडिज’ भनेर शुभकामना दिनु भयो’ हाल जर्मनीको बर्लिनस्थित फ्री युनिभर्सिटीमा भिजुयल एन्ड मिडिया एन्थ्रोपोलोजी विषयमा एमए अध्ययनत विद्यार्थी दीपक तोलांगेले इमेलमा भने।
‘कलामले त्यतिखेर दिनुभएको शुभेच्छा र उहाँको जीवनीले समेत प्रेरणा दिएको छ,’ उनले थपे।
केयुको विद्यार्थी कल्याणकारी परिषद (एसडब्लुसी) को कार्यकारी सदस्य रहेका दीपकसँगै सुनिल बानियाँ र साहसविक्रम साहले विद्यार्थीका तर्फबाट कलामलाई उपहार समर्पण गर्ने अवसर पाएका थिए।
‘उपहारमा नेपाली कला हुनुपर्छ भनेर सल्लाह हुँदा मैले भक्तपुर पुगेर काठको विशेष कलात्मक ‰याल बनाउन लगाएर ल्याएँ। हामी तीनजना मिलेर उहाँलाई समर्पण गर्न पाउँदाको क्षण जीवनकै ठूलो उपलब्धि भएको छ,’ दीपकले भने।
भारतका ११ औं राष्ट्रपति कलामको सोमबार साँझ ८४ वर्षको उमेरमा भारतको सिलोङमा निधन भयो। हृदयघातले इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको कार्यक्रममा सिलोङमा बोल्दाबोल्दै ढलेपछि उनलाई अस्पताल लगिएको थियो। अस्पताल पुर्या इएको केहीबेरमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
सन् १९३१ अक्टोबर १५ मा तमिलनाडुको रामेश्वरममा जन्मिएका कलाम सन् २००२ देखि २००७ सम्म भारतका राष्ट्रपति थिए।
श्रोत : नागरिक