ताजा खबर

गन्तव्य थप्दै नेपाल वायुसेवा निगम

काठमाडौं, २०७२  साउन १३,

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) ले जहाज थपिएसँगै गन्तव्य बढाउने भएको छ । हाल ५ गन्तव्यमा उडान भरिरहेको निगमले चाँडै दुई गन्तव्य थप्न लागेको हो ।  दुई बोईङ ७५७ र दुईवटा एयरबस ३२०–ए मार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमले भदौ १५ देखि मुम्बई र बैंग्लोर उडान थप गर्न लागेको हो । थपिएको गन्तव्यमा यात्रुलाई आकर्षित गर्न विशेष छुटसहित टिकट बुकिङ सुरु गरिसकेको निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बताए । भदौ १५ देखि काठमाडौं–मुम्बई र काठमाडौं–बैंग्लोर उडान गर्न लागेको निगमले काठमाडौंदेखि मुम्बई वा बैंग्लोर जहाँ गए पनि एकतर्फी करसहितको भाडा १० हजार ९२ रुपैयाँ तोकेको छ । प्रवक्ता शर्माले यो प्रवद्र्धनात्मक भाडादर भएको बताए ।

त्यस्तै, दुईतर्फी टिकट दर काठमाडौं–मुम्बई–काठमाडौंको २१ हजार ६७ रुपैयाँ र काठमाडौं–बैंग्लोर–काठमाडौंको भाडा २० हजार ८ सय ९३ रुपैयाँ तोकिएको छ । सिजन समयमा काठमाडौंबाट दिल्ली नै ४० हजारसम्म भाडा पुग्ने गरेकामा निगमले उडान सुरु गरेपछि मूल्य कटौती भएको र यात्रुले प्रतिस्पर्धात्मक भाडामा उडान गर्न पाएका छन् । काठमाडौंबाट सीधा बैंग्लोर उडान सेवा निगमले मात्र गर्ने हुनाले त्यस क्षेत्रबाट आउने पर्यटक र अध्ययनका लागि जाने विद्यार्थीलाई धेरै सुविधा हुने प्रवक्ता शर्माले बताए । उनका अनुसार सीधा हवाई सेवा उपलब्ध भएपछि त्यस क्षेत्रका केही व्यवसायी पनि निगमका यात्रु हुने सम्भावना बढेको छ । यसले आर्थिक गतिविधि पनि बढ्ने विश्वास उनको छ ।

पाइलट अभाव हाल मुम्बई र बैंग्लोर दुवै गन्तव्यमा साताको दुई उडान गरिने र चाँडै नै दुवै ठाउँमा एक–एक गन्तव्य थपिने जनाइएको छ । प्रवक्ता शर्माले एयरबस उडान गर्ने कमान्डर पाइलटको अभाव विदेशी पाइलट ल्याएर पूरा गर्न लागिएको बताए । उनका अनुसार कमान्डर पाइलट थपिएपछि मुम्बई तथा बैंग्लोरमा साताको दुई उडान थपिनेछ । त्यसपछि चीनको ग्वानझाओ र संयुक्त अरब इमिरेट्सको दुबईमा पनि उडान गरिने उनले बताए । शर्माले भने, ‘ग्वान्झाओमा एजेन्ट नियुक्ति गरिसकिएको छ । दुबईमा पनि एजेन्ट नियुक्ति प्रक्रिया अघि बढिरहेको छ ।’ यी दुई गन्तव्यमा उडान सुरु भएपछि निगमको गन्तव्य नौवटा पुग्नेछ । हाल एयरबस उडाउने तीनजना कमान्डर र चारजना प्रशिक्षार्थी रहेका छन् । चारजना विदेशी कमान्डर पाइलटको अनुमतिपत्रका लागि नागरिक उड्डयन प्राधिकरणमा प्रक्रिया चलिरहेको र चाँडै उनीहरूले पनि अनुमति पाउने उनले बताए । एउटा जहाजलाई पूर्ण क्षमतामा उडाउन ७ जना पाइलट र ७ जना कमान्डरको आवश्यक पर्ने निगमले जनाएको छ । २ वटा जहाजका लागि १४ जना पाइलट र १४ जना कमान्डर आवश्यक पर्छ । सोही कारण मासिक रूपमा ऋणको किस्ता तिर्नुपर्ने रकमसमेत आम्दानी गर्न नसकेको निगम स्रोतले जनायो ।

निगमका प्रवक्ता शर्माले आउट सोर्सिङ गरिने कमान्डर पाइलट आएपछि निगमले ती जहाजबाट नाफा र विश्वास दुवै कमाउन सक्ने जानकारी दिए । ऋणमा जहाज खरिद गरिएकाले निगमले प्रतिजहाज मासिक ६ करोड रुपैयाँ कर्मचारी सञ्चयकोषलाई बुझाउनुपर्छ । खुला प्रतिस्पर्धाबाट निगमलाई सफल बनाउने कार्ययोजनासहित आएका निगमका तत्कालीन महाप्रबन्धक मदन खरेलले १० वर्षभित्रमा १० वटा अन्तर्राष्ट्रिय उडानका लागि ठूला जहाज खरिद गर्ने कार्ययोजना पेस गरेका थिए । उनले आकस्मिक रूपमा राजीनामा दिएपछि निगमको योजना केही समय अन्योलमा परेको थियो ।

सन् १९८७ र १९८८ मा २ वटा बोइङ–७५७ भित्र्याएपछि निगमले नयाँ जहाज खरिद गर्न सकेको थिएन । २७ वर्षपछि नयाँ जहाज ल्याए पनि पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेपछि निगमका कर्मचारी चिन्तित छन् । ०६८ मंसिर ४ गतेदेखि रोकिएको दिल्ली उडान १५ फागुनदेखि सुरु भएको थियो । यसबाहेक निगमले अन्य गन्तव्य थप्न सकेको थिएन । निगमका प्रवक्ता शर्माले आउट सोर्सिङ गरेका कमान्डर पाइलटले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएर उडान सुरु गरेपछि समस्या समाधान हुँदै जाने बताए । हाल सोमबार र शुक्रबार काठमाडौं–मुम्बई–काठमाडौं तथा मंगलबार र शनिबार काठमाडौं–बैंग्लोर–काठमाडौं उडान हुनेछ । निकट भविष्यमै बुधबार मुम्बई र बिहीबार बैंंग्लोर उडान थप गरिने शर्माले जानकारी दिए । पहिले निगमले १९ वटा गन्तव्यसम्म उडान गरेको थियो । नेपाली ध्वजाबाहक लन्डन, पेरिस, कराँची, कोलकाता, पटनालगायतका स्थानमा उडान गथ्र्यो । पछि उडान घट्दै गएर पाँचवटामा खुम्चिएको थियो । निगमका प्रवक्ता शर्माले बिस्तारै गन्तव्य बढ्दै जाने बताए ।

श्रोत : नया पत्रिका

Related posts