ताजा खबर

फिफा अध्यक्षमा प्लाटिनी उठ्ने

एजेन्सी जुरिच, २०७२  साउन १३,

युरोपियन फुटबल महासंघ (युइएफए) का प्रमुख माइकल प्लाटिनीले डिसेम्बरमा हुने फिफा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । दक्षिण कोरियाका चुङमोङ जोनले पनि अध्यक्षमा उम्मेदवारी दिने एपीले जनाएको छ । अर्को वर्ष फेब्रुअरीमा फिफा अध्यक्षको चुनाव हुँदै छ । फिफाको पाँचौँ कार्यकाल सम्हालिरहेका सेप ब्लाटरले दुई महिनाअघि चुनावको घोषणा गरेका थिए । नयाँ ब्लाटरले अध्यक्षमा नउठ्ने घोषणा गरेपछि ६० वर्षीय प्लाटिनी अग्रसर भएको एपीले उल्लेख गरेको छ ।

फ्रान्सेली राष्ट्रिय टोलीका पूर्वमिडफिल्डरसमेत रहेका प्लाटिनीलाई चार महादेशका फुटबल संघले सहयोग गर्ने वाचा गरेका छन् । बुधबार पेरिसमा एक कार्यक्रमबीच प्लाटिनीले अध्यक्षमा उठ्ने घोषणा गर्ने एपीले उल्लेख गरेको छ । नयाँ चुनावमा प्लाटिनीले जोर्डनका राजकुमार अलिबिन अल हुसैनको पनि सामना गर्नुपर्छ । गत चुनावमा अलिबिन पहिलो चरणमै पराजित भएका थिए । अमेरिकी अनुसन्धान संस्थाले पाँचौँपटक अध्यक्षमा निर्वाचित ब्लाटरमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने तयारी गरेको थियो । त्यसलगत्तै ब्लाटरले आफू अध्यक्षबाट पछाडि हटेको जनाउँदै नयाँ चुनावको घोषणा गरेका थिए । यता, युरोपियन युनियनले पनि प्लाटिनीलाई भावी अध्यक्षका रूपमा हेरेको बिबिसीले उल्लेख गरेको छ ।

प्लाटिनीले युरोपियन युनियनबाहेक उत्तर र दक्षिण अमेरिकी तथा एसियन राष्ट्रबाट समर्थन पाउने निश्चित छ । चारै महादेशको समर्थनमा प्लाटिनीले एक सय ४४ मत प्राप्त गर्ने छन् । यस किसिमको समीकरण बन्दा प्लाटिनीको जित सुनिश्चित छ । प्लाटिनीले पनि आफूलाई थुप्रै राष्ट्रका फुटबल संघले सहयोग गर्ने बताएपछि उम्मेदवारी दिएको जनाए ।

फेब्रुअरीमा फिफाको आपत्कालीन कंग्रेसले नयाँ अध्यक्ष चुनिने जनाएको थियो । त्यसका लागि २६ अक्टोबरभित्र उम्मेदवारी दर्ता हुनुपर्छ । गत मार्चमा प्लाटिनी तेस्रोपटक युइएफए अध्यक्ष बनेका थिए । ब्लाटर रहँदासम्म आफूलाई फिफामा चासो नरहेको उनले भनाइ थियो । उनले फिफालाई एक सफल संस्था बनाउने बताउने गरेका छन् । युरोपियन फुटबल क्लब संसारकै उत्कृष्ट रहनुमा प्लाटिनीको योगदान धेरै रहेको विश्लेषक मान्छन् । फुटबल करिअरमा खासै विवादमा नपरेका प्लाटिनीले सन् २०२२ को कतार विश्वकपको समर्थन गरेका थिए । कतारलाई विश्वकप आयोजक बनाउनुपर्ने पक्षमा उनले वकालत गरेका थिए ।

प्लाटिनीले सन् २०१८ को विश्वकपका लागि रुसविरुद्ध मतदान गरेका थिए । युरोपियन फुटबल क्षेत्रमा प्लाटिनीलाई एक सफल कप्तान र मिडफिल्डरका रूपमा हेरिन्छ । सन् १९८० मा प्लाटिनीले तेस्रोपटक फिफा वर्ष उपाधि जितेका थिए । सो वर्ष उनले युभेन्टस्लाई युरोपियन कप, कप विनर तथा सुपर कप दिलाएका थिए । प्लाटिनीकै कप्तानीमा फ्रान्सले १९८४ मा युरोकप उपाधि उचालेको थियो । उनले सन् १९८६ मा फ्रान्सलाई विश्वकप फुटबलमा तेस्रो स्थान दिलाएका थिए ।

श्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *