ताजा खबर

भिदल बायर्नसँग अनुबन्ध

म्युनिख, २०७२  साउन १३,

चिलीका मिडफिल्डर अर्तुरो भिदल जर्मन क्लब वायर्न म्युनिखसँग अनुबन्धित भएका छन् । वायर्नले भिदललाई मंगलबार इटालियन क्लब युभेन्टस्बाट भित्र्याएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वायर्नले भिदललाई २८ मिलियन पाउन्ड खर्च गरेको छ । भिडलले वायर्नसँग चार वर्षका लागि सम्झौता गरेका छन् । भिदलले आफ्नो सपना पूरा भएको बताएका छन् । म्युनिखमा सफल स्वास्थ्य परीक्षण गरिएपछि भिदलले वायर्नसँग सम्झौता पुरा गरेका हुन् । उनको सोमबार स्वास्थ्य परीक्षण गरिएको थियो । वायर्नले आफ्नो वेबसाइटमार्फत भिदललाई भित्र्याइएको पुष्टि गरेको छ । ‘मंगलबार भिदलले क्लबसँग चार वर्षका लागि हस्ताक्षर गरेका छन्, सम्झौताअनुसार उनी सन् २०१९ सम्म हामीसँगै रहनेछन्,’ क्लबको वेबसाइटमा भनिएको छ । पछिल्लो समय उत्कृष्ट लयमा देखिएका भिदलले गत महिना मात्रै आफ्नो देशलाई दक्षिण अमेरिकी देशबीचको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकाको उपाधि दिलाएका थिए । सो प्रतियोगितामा उनले सशक्त प्रदर्शन गरेका थिए । त्यसअघि गत सिजन युभेन्टस्का लागि पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । गत वर्ष युभेन्टस् युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुग्दा पनि उनले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

यसै सिजन वायर्नका मिडफिल्डर बास्टियन स्वाइन्स्टाइगर इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँग अनुबन्धित भएका छन् । उनकै स्थान परिपूर्ति गर्न वायर्नले भिदललाई भित्र्याएको हो । क्लबसँगको सम्झौतापछि भिदलले आफू निकै खुसी रहेको बताए । ‘म धेरै खुसी छु,’ उनले भने, ‘मेरो करिअरमा यो नयाँ कदम हो, जर्मनीमा पनि राम्रो प्रदर्शन गर्न सक्छु भन्ने लागेको छ ।’ उनले टोलीलाई उपाधि दिलाउन सक्दो मिहिनेत गर्ने बताए । ‘टोलीलाई उपाधि दिलाउन मिहिनेत गर्नेछु, व्यक्तिगत रूपमा मेरो सपना साकार भएको छ,’ उनले भने । उनले वायर्नबाट च्याम्पियन्स ट्रफी जित्नु आफ्नो महत्त्वपूर्ण उद्देश्य रहेकोसमेत बताए ।

‘क्लबमा अझै महत्त्वपूर्ण उपलब्धिका लागि प्रतिस्पर्धा गर्नेछु, वायर्नबाट च्याम्पियन्स ट्रफी जित्न अझ मिहिनेत गर्नेछु,’ उनले भने । भिदल सन् २०११ मा जर्मन क्लब वायर्न लेभरकुसेनबाटै युभेन्टस् पुगेका थिए । उनी पुन: जर्मनी फर्कन पाउँदा उत्साहित देखिए । उनले आफूले पुन: बुन्डेस लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाएकोमा थप खुसी लागेको बताएका छन् । ‘फेरि पनि बुन्डेस लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाएको छु, यसपटक यो उपाधि जित्ने विश्वास लिएको छु,’ उनले भने, ‘लेभरकुसेनबाट जित्न सक्ने अवस्था थिएन, तर वायर्नबाट जित्ने महत्त्वपूर्ण सम्भावना छ ।’ युभेन्टस्मा चार वर्ष बिताएका भिदलले क्लबलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनी युभेन्टस्मा छँदा क्लबले लगातार चारै सिजन घरेलु लिग उपाधि जित्यो । गत सिजन च्याम्पियन्स लिगको फाइनलमा समेत पुग्यो । उनले गत सिजन युभेन्टस्बाट जित्न नसकेको तीन ठूला उपाधि वायर्नबाट पूरा गर्ने पनि बताए । ‘हामी गत सिजन युभेन्टस्बाट तीन ठूला उपाधिको सँघारमा थियौँ, तर त्यसमा सफल भएनौँ, अब वायर्नबाट त्यो सफल बनाउन चाहन्छु,’ उनले भने ।

श्रोत : नया पत्रिका

Related posts