ताजा खबर

फिल्ममा “कबड्डी”, निर्देशनमा निश्चल

काठमाडौ,  २०७२ श्रावण १३,

फिल्म क्षेत्रकै सर्वाधिक प्रतिष्ठित राष्ट्रिय चलचित्र पुरस्कार यस वर्ष फिल्म विधाबाट ‘कबड्डी’ ले पाएको छ । रामबाबु गुरुङको डेब्यु निर्देशन रहेको उक्त फिल्मले हिमाली भेगका थकाली समुदायको संस्कृतिलाई रोचक ढंगले प्रस्तुत गरेको छ । दयाहाङ राई, निश्चल बस्नेत, निश्मा गुरुङको मुख्य भूमिका रहेको ‘कबड्डी’ बाटै लेखनमा समेत पुरस्कृत गरियो । फिल्मका लेखकद्वय रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले अवार्ड पाएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादवले पुरस्कृतहरूलाई अवार्ड प्रदान गरेका थिए ।

गतवर्ष सार्वजनिक प्रदर्शनमा आएका फिल्मबाट गरिएको मूल्यांकनका आधारमा चलचित्र विकास बोर्डले राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । आठ विधामा प्रदान गरिएको पुरस्कारको अभिनेतातर्फ दयाहाङ राई उत्कृष्ट ठहरिए । ‘कबड्डी’ मा समेत तारिफयोग्य अभिनय गरेका उनले फिल्म ‘सम्बोधन’ का लागि उक्त पुरस्कार पाएका हुन् । ‘चरित्रका हिसाबले मेरा लागि ‘सम्बोधन’ नै उत्कृष्ट हो,’ अवार्ड पाएपछि दयाहाङले कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा भने । अभिनेत्रीतर्फ भने यसपटक दुईजनामा बाँडियो । ‘लभ यु बाबा’ मा छोरीको भूमिकामा दमदार अभिनय गरेकी संगम विष्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘टलकजंग भर्सेस टुल्के’ की ऋचा शर्मासँग साझेदारी गरिन् । उत्कृष्ट निर्देशकको अवार्ड पनि फिल्म ‘टलकजंग भर्सेस टुल्के’ बाटै निश्चल बस्नेतले पाए । तर उनी पुरस्कार वितरण समारोहमा भने अनुपस्थित रहे ।

‘झिंग्राना’ ले दुई विधामा राष्ट्रिय अवार्ड जित्यो । उक्त फिल्मबाट निमेश श्रेष्ठले सम्पादनमा र शैलेन्द्रध्वज कार्कीले छायांकनमा राष्ट्रपतिका हातबाट अवार्ड थापे । आदिवासी जनजातितर्फको उत्कृष्ट फिल्मको पुरस्कार भने ‘मतान’ का लागि सुनीता बुढाथोकी मगरले जितिन् । झन्डै एक सयको हाराहारीमा उपस्थित फिल्मकर्मी र सञ्चारकर्मीको उपस्थिति रहेको पुरस्कार वितरण कार्यक्रममा वर्षको साधना दीर्घ सम्मान निर्देशक, निर्माता तथा कलाकार नीर शाहलाई प्रदान गरियो । तीन लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाई नीरलाई सम्मान गरिएको थियो । उनले पछिल्लो समय डायमनशमशेर राणाको कृति ‘सेतो बाघ’ मा आधारित भई सोही नाममा फिल्म निर्माण गरेका थिए । पुरस्कार वितरणपछि राष्ट्रपति यादवले कला, संस्कृति र फिल्म क्षेत्र बलियो हुँदा देश पनि बलियो हुने भन्दै पुरस्कृतलाई बधाई दिएका थिए । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजाल, चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले पनि आफ्ना भनाइ राखेका थिए ।

श्रोत : कान्तिपुर

Related posts