ताजा खबर

‘वार्ताको औचित्य छैन’

मोरङ,  २०७२ श्रावण १३,

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले वार्ताको कुनै औचित्य नरहेको बताएका छन् । उनले विगतमा भएका सहमति र अन्तरिम संविधानअनुसार मस्यौदा आए वार्ता गर्नुपर्ने कुनै जरुरी नरहेको बताए ।

विराटनगरस्थित निवासमा मंगलबार सञ्चारकर्मीसितको भेटमा यादवले आफूहरूले कुनै नयाँ माग नउठाएको बताउँदै पुरानै सहमति र सम्झौता कार्यान्वयन गर्नमात्र भनेकाले वार्ताको औचित्य नरहेको बताए । संघीय गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्था तथा पहिचानको मुद्दालाई ओझेलमा पारेकाले मस्यौदा प्रतिगमनकारी भएको उनी बताउँछन् ।

उनले कांग्रेस, एमाले र एमाओवादीका केही नेताले संविधानसभालाई खेलौना र रबर स्टाम्प बनाएको तथा सभासदलाई दास बनाई मस्यौदा ल्याएको आरोप लगाए । ‘अहिलेको मस्यौदामा रहेका विभेदकारी नीति हटाएर पुनर्लेखन नगरिए जारी हुने संविधानको हविगत पनि यसअघिका जस्तै हुन्छ,’ यादवले भने, ‘जबर्जस्ती ल्याएको संविधान मधेसमा लागू हुन्न दिन्नौं ।’

मस्यौदामा संघीयता र गणतन्त्रलाई समेत उपेक्षा गरिएको उनी बताउँछन् । उनले भने, ‘अहिलेको मस्यौदा पुरानो पञ्चायतकालीन अन्धराष्ट्रभक्ति युक्त हो, यसले न्यायिक स्वतन्त्रता र सर्वोच्चता तथा विधिको शासनलाई लत्याउँछ ।’ पहिचान र सामथ्र्यका आधारमा मात्र राज्य पुनर्संरचना गर्नुपर्ने तर्क गर्दै यादवले भने, ‘एकात्मक, केन्द्रिकृत र नियन्त्रित संघीयता मान्य हुँदैन ।’ उनले न्यायिक, राजनीतिक र आर्थिक अधिकार नदिएसम्म प्रदेशहरू स्वायत्त हुन नसक्ने बताए । मस्यौदामा प्रेस स्वतन्त्रतामाथि समेत अंकुश लगाउने व्यवस्था राखिएको प्रति आपत्ति जनाउँदै यादवले कुनै पनि बहानामा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन नपाइने बताए ।

श्रोत : कान्तिपुर

Related posts