
जनकपुर, २०७२ श्रावण १३,
धनुषाको मिथिलेश्वर ८ ललियाका ६० वर्षीय रौदी मुखिया बिहान ३ बजे उठेर आधा किलोमिटर टाढा दुर्गा मन्दिर प्रांगणमा रहेको चापाकलमा लाम बस्न पुग्छन् । एक घन्टामा बल्ल पालो आउँछ । त्यसपछि एक बाल्टी पानी बोकेर उनी घर फर्कन्छन् ।
हंसपुर कठपुल्ला ५ कुम्हराटोलका श्रीचन पण्डित, बघचौडा २ का ८० वर्षीय म्यानेजर यादवलगायतको बिहान पनि पानीकै जोहोमा बित्ने गरेको छ । मध्यधनुषाका हंसपुर कठपुल्ला, मिथिलेश्वर निकास, कजरा रमौल, बघचौडा, झटियाहीसहितका आधा दर्जन गाविसवासी अचेल खानेपानीको चरम आभाव झेली रहेका छन् ।
गाउँका अधिकांश चापाकल सुकेका छन् । जेनतेन पानी आउने गाउँका एक/दुई चापाकलमा सर्वसाधारणको लाइन लाग्ने गरेको छ । । कुम्हराटोलवासीहरू झन् नुहाई धुवाई गर्न र चौपायालाई पानी खुवाउन डेढ किलोमिटर टाढा हंसपुर चोकसम्म पुग्न बाध्य छन् । यी गाउँवासीहरूको अचेल ‘पानीको जोहो कसरी गर्ने ’ भन्ने एउटै चिन्ता छ ।
खेतमा सिंचाइ गर्न जडान गरिएका पम्पिङसेट तथा डिप बोरिङहरूका कारण सतहमुनिको पानी सुकेको अनुमान गर्दै हँसपुर कठपुल्लावासीले खेत सिंचाइमा प्रयोग हुने यस्ता मेसिन चलाउन रोक लगाएका छन् । ‘एक वर्ष उब्जनी नभए पनि बाँच्न सकिन्छ । पानीबिना एक दिन पनि बाँच्न सकिन्न,’ हंसपुर कठपुल्लाका गाविस पूर्वअध्यक्ष रामप्रसाद कापडी भन्छन् । चुरे क्षेत्रमा पानीको आभाव देखे/सुनेका बघचौडा २ का मेनेजर यादव आफ्नै गाउँमा यति अभाव होला भनेर नसोचेको बताउँछन् । जीवनको ८० वसन्त बिताउँदा पानीको यस्तो अभाव आफूले कहिल्यै नझेलेको उनको भनाइ छ ।
मिथिलेश्वर निकास गाविसका पूर्वअध्यक्ष गंगाप्रसाद मुखियाका अनुसार गाउँका करिब १ हजार चापाकलमध्ये अचेल ४ वटामात्र चालू अवस्था छन् । ‘१० हजारभन्दा अधिक जनसंख्यालाई ४ वटा चापाकलको पानीले कसरी थेग्न सक्ला ?, मुखियाले प्रश्न गरे ।
धनुषाको उत्तरमा अवस्थित चुरे वरिपरिका केही गाविसहरूमा विगत बर्षमा पानीको आभाव हुने गरेको थियो । मध्य धनुषाका गाविसहरूमा भने कहिल्यै यस्तो अवस्था नआएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिकहरू बताउँछन् । ‘यी गाविसहरूमा खानेपानी आभाव पहिलोपटक देखिएको छ,’ इन्जिनियर मिहीरचन्द्र अधिकारी भन्छन् ।
उनका अनुसार सर्वसाधारणले खानेपानीका लागी चापाकल जडान गर्न प्रयोग गर्दै आएको लेयर (पानीको सतह) को मुहानै सुकेकाले पानीको हाहाकार भएको हो । उनका अनुसार सतहमुनिको पानी झिक्न यस भेगमा सामान्यतया तीन लेयरको प्रयोग हुन्छ । माथिलो लेयर (४० देखि ६०फिट) दोस्रो लेयर (१०० देखि १४० फिट) तथा तेस्रो लेयर (२१० देखि २४० फिट) । इन्जिनियर अधिकारीका अनुसार पहिलो लेयरको पानीमा ‘आइरन’ को मात्रा अधिक हुने हुँदा यसको प्रयोग सामान्यतया पिउन गरिँदैन । दोस्रो लेयरको पानी पिउन प्रयोग हुन्छ । ग्रामीण इलाकाका अधिकांश चापाकल दोस्रो लेयरमै जडान गरिएको दाबी इन्जिनियर अधिकारीको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जिल्लामा चापाकल जडान गर्न १ सय ६२ फिटको मापदण्ड बनाएको छ ।
खानेपानी प्राविधिकहरूका अनुसार पहिलो र तेस्रो लेयरमा पानी भेटिए पनि खानेपानीका रूपमा सर्वाधिक प्रयोग हुने दोस्रो लेयरको पानी सकिएको छ । उनीहरूले खानेपानीका लागि तेस्रो लेयरमा चापाकल जडान गर्न सल्लाह दिएका छन् ।
कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर धमेन्द्रकुमार केशरीले खानेपानीका लागि २ सय २० फिट भन्दा गहिरो चापाकल जडान गर्नुपर्ने बताए । कार्यालयले समेत आफ्नो मापदण्डमा सुधार गर्ने जानकारी उनले दिए ।
श्रोत : कान्तिपुर