नेपालका पर्यटकीय स्थल सुरक्षित छन –वेल्जीयम नागरीक वेलेट

दिननाथ बराल ,

पोखरा २०७२  साउन १३,

गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले गर्दा थलिएको नेपालको पर्यटन व्यावसाय विस्तारै उकालो लाग्ने संकेत देखिएको छ । पछिल्लो एक महिनामा नेपाल भ्रमणमा आउने पर्यटकहरुको सङख्यामा विस्तारै बृद्धि हुन थालेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ए क्यापका प्रमुख लालप्रसाद गुरुङका अनुसार पछिल्लो एक महिनामा अमेरीका, अष्ट्रेलीया, वेलायत लगायतका विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आउन थालेका छन । सामर्थ नेपालको आर्थिक सहयोग र ए क्यापको समन्वयमा अन्नपूर्ण पदमार्गमा बिषेशज्ञ सहितको एक टोलीले हेलिकोप्टर मार्फत अध्ययन अवालेकन गरी नेपाल सरकारलाई अन्नपूर्ण पदमार्ग सुरक्षित रहेको जानकारी गराएको कारणले गर्दा पनि पर्यटकहरुको संङख्यामा बृद्धि भएको दाबी गरे ।

पर्यटनको अफ्सिजनमा पनि भूकम्प पछि युरोपेली मुलुकका पर्यटक सहित चिन तथा भारतका पर्यटकहरुको सख्यामा बृद्धि भएको उनले बताए । गत जुनमा अन्नपुर्ण पदमार्गमा जानको लागि ६ सय १२ जना पर्यटक आएकोमा यस जुलाई महिनाको १५ तारिखसम्म ६ सय ४७ जना पर्यटक आएको प्रमुख गुरुङले जनाए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले २० बर्षको पर्यटनको ईतिहासमै सवै भन्दा कम पछिल्लो तीन महिनामा पोखरा क्षेत्रमा पयर्यटकहरु आएको बताए । भूकम्पले गर्दा विदेशी पर्यटकहरु पछिल्लो एक महिनामा केहि समुहमा आउन थालेको बताए । उनले भने “नेपालको पर्यटनको विकास गराउन सरकारले नेपालका पर्यटकीय स्थलहरु सुरक्षित भएको विश्वसामु सन्देश प्रवाह गर्नुपर्दछ । ” चिनिया पर्यटकहरुलाई नेपाल भित्राउने नेपाल सरकारको रणनितिक योजना हुन सके खस्केको नेपालको पर्यटन व्यावसाय छिट्टै फस्टाउन सक्ने उनले दाबी समेत गरे । चिनिया सरकारले नेपाल भूकम्पबाट अब सुरक्षित भएको भनी आफ्ना नागरीकलाई खुल्ला गराउन राजनितिक तथा कुटनितिक नियोगबाट पहल गर्नू पर्ने बताए ।

“नेपालमा भूकम्पले गर्दा काठमाण्ठडौं ध्वस्तै भएको विभिन्न संचार माध्यमहरुमा हामीले सुनेका थियौ तर हामीले जे सुनेका थियौं त्यसो नभएको रैछ ।” यो भनाइ हो वेल्जीयम नागरीक लुक वेलेटको ।

नेपालमा भूकम्प जानु भन्दा पाँच दिन अघि मात्र ११ जनाको टोलीलाई नेपाल भ्रमण गराएर स्वदेश फर्किएका उनले नेपालमा भूकम्पले गर्दा शव माथि मान्छे हिडेको र काठमाण्डौ त पुरै ध्वस्त भएको भन्ने समाचार सुनेर आफु निकै दुखि भएको बताउदै वेलेटले तर नेपालमा आए पछि आफुहरुले सोचे भन्दा धेरै फरक पाएको बताए । उनले भने “नेपालमा भूकम्प गएको नराम्रो सन्देश विदेशमा प्रवाह भएको छ, यसको सकरात्मक सन्देश दिन आवश्यक छ, हामी अन्नपूर्ण पदमार्गमा पर्ने माथिल्लो मुस्ताङ लोमाङथाङ सम्म पुग्यौं सवै पर्यटकीय क्षेत्र सुरक्षित रैछ ।” आफुहरुले लोमाङथाङमा निकै रमाईलो समय विताएको उनले बताए ।

पर्यटकहरुको टिम लिडर समेत रहेका वेलेटले नेपालका धेरै पर्यटकीय स्थलहरु सुरक्षित भएको दाबी गर्दै काठमाण्डौंको भक्तपुर सहितका स्थलहरुको अवलोकन गरी अन्नपुर्ण पदमार्ग हुदै पोखरा क्षेत्रको पर्यटकीय स्थलहरुको अवलोकन गरेको जनाए । उनले भने “नेपालमा प्राकृतिक विपद् भूकम्प गएको हो, आउदो पर्यटनको सिजनमा पर्यटकहरु नेपाल अवश्य आउने छन । ” साथै उनले सगरमाथा आधार शिविर समेत सुरक्षित रहेको बताए ।

उक्त टोलीसंग सहभागि भएका ट्रेकिङ गाईड चुडा मैनालीले नेपालमा भूकम्प गए पछि हिमालयन ड्रिम टिम ट्रेक एण्ड टुर्स प्रा.लि.बाट ३ वटा समुहलाई नेपाल भ्रमण गराएको बताए । उनले भने “नेपालमा भूकम्पले गर्दा विदेशमा नराम्रो सन्देश गएका कारणले गर्दा नेपाल आउन चाहेका टिमलाई हामीले काठमाण्डौको धेरै फोटोहरु खिचेर पठाए पछि उनीहरु नेपालमा पर्यटकीय स्थलहरु सुरक्षित भएको भन्दै आउन थालेका हुन ।” अगष्ट ३ तारिखमा पुनः १२ जनाको एक टोली नेपाल भ्रमणमा आउने भएको उनले दाबी गरे ।

Related posts