काठमाडौं, २०७२ श्रावन १३,
प्रहरी संगठनमा वर्षैदेखी अड्डा जमाएर बसेका लेखापालहरूको सोमबार एकसाथ सरुवा गरिएको छ । एउटै कार्यालयमा आठ वर्षभन्दा बढी लेखापालको जिम्मेवारी पाएका सईदेखि प्रहरी निरीक्षकको सरुवा गरिएको हो ।
इन्चार्जको सरुवा भएपछि लेखापाललाई समेत लैजाने प्रवृत्ति रोक्न र प्रहरी सेवामा प्रवेश गरेपछि सबै किसिमको कार्य गर्नुपर्छ भन्ने मान्यता राख्न भन्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सरुवा गर्न निर्देशन दिएका हुन् ।
मुलुकभरकै प्रहरी कार्यालयमा काम गर्दै आएका लेखापालको सरुवा एकैपटक भएको यो पहिलोपटक हो । नयाँ सरुवा नीतिअनुसार सई भएर आठ वर्ष निरन्तर लेखापालको काम गरिसकेकालाई सरुवा गरिएको छ भने प्रहरी निरीक्षक भएर लेखापालमा काम गरिसकेकालाई सरुवा गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।
स्रोतका अनुसार एक सय २५ जना सई, १५ जना प्रहरी निरीक्षक र दुई सय असईको सरुवा गरिएको छ ।
प्रहरी निरीक्षकलाई मुख्यालयले नै सरुवा गरेको छ भने असई र सईलाई क्षेत्रीय प्रहरी कार्यालयले सरुवा गरेका छन् । ‘हाकिम जता गयो लेखापाल उतै सरुवा हुन खोज्ने र हाकिमले नै लैजाने प्रवृत्ति थियो, त्यसको कारण कार्यालयको आन्तरिक बजेटलाई सकेसम्म कम प्रयोग गरी हिसाब मिलान गर्ने र बच्ने रकम हाकिम र लेखापालले मिलेर खाँदै आएका थिए । अब त्यो अन्त्य हुने देखियो’, प्रहरी मुख्यालयका एक अधिकृतले भने ।
खासगरी प्रहरी कार्यालयको आन्तरिक बजेट हिसाब मिलानपछि बाँकी रहेको बचेट सम्बन्धित कार्यालयको इन्चार्जले लैजाने प्रचलन अहिले पनि प्रहरी वृत्तमा छ । ‘लेखापाललाई आफू सरुवा भएको कार्यालयमा लैजान सम्बन्धित जिल्ला, अञ्चल र क्षेत्रीय प्रमुखले गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ‘पावर’ लगाउने गर्थे’, मुख्यालयका एक अधिकृत बताउँछन् ।
महानिरीक्षकमा निहित समान खरिद तथा टेन्डर प्रक्रिया गर्ने अधिकारसमेत अर्यालले प्रशासन विभागका एआईजीलाई यसअघि नै सुम्पिसकेका छन् । जुन अधिकार प्रहरी संगठनको स्थापनाकालदेखि महानिरीक्षकमा निहित थियो । लेखापाल सरुवा निर्देशिका २०६९ मा बनेपछि यसअघिका महानिरीक्षकले सरुवा गर्न सकेका थिएनन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी कमलसिंह बमले मुलुक संघीयतामा जाने भएपछि लेखापालको सरुवा अधिकार क्षेत्रीय प्रहरी कार्यालय प्रमुखलाई दिएको बताए । यसअघि लेखापालको सरुवा प्रहरी महानिरीक्षकले नै गर्दै आएका छन् ।
मुलुक संघीयतामा गएपछि क्षेत्रलाई राज्य प्रदेश प्रहरीका रूपमा चित्रण गरेको छ । उनले भने, ‘प्रहरी सेवामा प्रवेश गरेपछि प्रहरीले सबै किसिमका कार्य गर्नुपर्ने भएकाले लेखापालको सरुवा गरिएको हो । यसले तालिमप्राप्त नयाँ सईले पनि लेखापालको जिम्मेवारी पाउनेछन् ।’
श्रोत : अन्नपुर्ण पोस्ट