ताजा खबर

नेपाल स्कटल्याण्डसँग भिड्दै

काठमाडौं , २०७२ श्रावन १३,
पहिलो खेलमा बुधबार स्कटल्यान्डको सामना गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का ‘एसोसिएट ’तथा ‘एफिलिएट ’सदस्यले मात्र खेल्ने सबैभन्दा ठूलो एकदिवसीय प्रतियोगिता आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा यात्रा थाल्दै छ । नेपालले स्कटल्यान्डसँगको दोस्रो तथा अन्तिम खेल शुक्रबार खेल्नेछ ।
भर्खरै टीट्वेन्टी विश्वकप छनोटको उपाधि (संयुक्त विजेता) जितेको स्कटल्यान्ड उच्च मनोबलमा छ । घरेलु टोली पनि भएकाले स्कटल्यान्डलाई फाइदा छ । स्कटल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली पनि हो । नेपाली टोलीको मनोबल भने यतिबेला कमजोर छ ।
भर्खरै सम्पन्न टीट्वेन्टी विश्वकप छनोटमा नेपालले कमजोर प्रदर्शन गरेको थियो । नेपालले समूहगत चरणमा ६ खेलमध्ये एउटामा मात्र सफलता हात पारेको थियो । उक्त प्रतियोगितामा नेपालको ब्याटिङ कमजोर देखिएको थियो ।
नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके स्कटल्यान्डविरुद्धको खेल टोलीका लागि पुनरागमन गर्ने र आफ्नो स्तर देखाउने अवसर भएको बताए । उनले ब्याटिङलाई सुधार गर्नु नै टोलीको चुनौती भएको बताए ।
भर्खरै टीट्वेन्टी विश्वकप छनोटको उपाधि जितेकाले स्कटल्यान्डको मनोबल उच्च छ, यसले नेपाललाई गाह्रो होला नि भन्ने प्रश्नमा दासानायकेले भने, ‘स्कटल्यान्ड यतिबेला उच्च मनोबलमा छ । त्यसैले उनीहरू हामीभन्दा दबाबमा छन् ।’
उनले स्कटल्यान्डविरुद्ध महेश क्षेत्री र अनिल मण्डलको जोडीले ब्याटिङ सुरुवात गर्न सक्ने सम्भावना रहेको बताए । विकेटकिपरसमेत रहेका महेशले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।
एसोसिएट टोलीमा स्कटल्यान्ड अनुभवी टोली मानिन्छ । एकदिवसीय विश्वकप समेत खेलिसकेको स्कटल्यान्डले गत वर्ष भएको एकदिवसीय विश्वकप छनोटको उपाधि पनि जितेको थियो ।
स्कटल्यान्ड काउन्टी प्रतियोगिताको सहभागिताका कारण केही अनुभवी खेलाडीबिना उत्रनु पर्नेछ । स्कटल्यान्डका कप्तान प्रेस्टन मोम्सेनले नेपाली टोली प्रतिभावान् खेलाडीले भरिएको भन्दै आफ्नो टोली उच्च प्रदर्शन गर्दै शीर्षस्थानमा रहने चाहेको बताए ।
‘टीट्वेन्टी विश्वकप छनोटको उत्कृष्ट प्रदर्शनका कारण हामी यतिबेला उत्साहित छौं । हामी उत्कृष्ट प्रदर्शन गर्दै तालिकाको शीर्षस्थानमा रहन चाहन्छौं’, उनले भने ।
यो प्रतियोगितामा आठवटा टोली छन् । नेपालले हरेक टोलीसँग दुईवटा खेल खेल्नेछ । नेपालले पपुआ न्युगिनी, नामिबिया र केन्यासँग घरेलु मैदानमा खेल्नेछ । यसैगरी स्कटल्यान्डसँगै, नेदरल्यान्ड्स र हङकङसँग उनीहरूको मैदानमा गएर खेल्नेछ । यूएईसँग हुने सातौं चरणको खेल भने ‘कमन’ मैदानमा हुने कार्यक्रम छ ।
प्रतियोगितामा हरेक टोलीले १४ खेल खेल्नेछन् । शीर्ष चार टोलीले सन् २०१८ मा हुने एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी प्रतियोगिताको विजेताले मुख्य वरीयतामा रहेका १२ मध्ये अन्तिममा रहेको टोलीसँग मुख्य वरीयतामा प्रवेश पाउन प्रतिस्पर्धा गर्नेछ ।
आईसीसीका एसोसिएट तथा एफिलिएट सदस्यलाई एकदिवसीय प्रतियोगिताको महत्व विशेष हुन्छ । यही स्वरूपको क्रिकेटबाट उनीहरूले अन्य स्वरूपका क्रिकेट (टीट्वेन्टी र प्रथम श्रेणी) का लागि बाटो खोल्ने गर्छन् । त्यसैले एकदिवसीय क्रिकेटमा बलियो उपस्थिति महत्वपुर्ण हुन्छ ।
डिभिजन एकमा मात्र रहेका टोलीले यो प्रतियोगिता खेल्न पाउने विगतमा व्यवस्था भए पनि यस पटकदेखि केही परिमार्जन भएपछि नेपालले अवसर पाएको हो ।
नामिबियामा गत जनवरीमा भएको डिभिजन दुईमा नेपाल चौथो भएको थियो । तर आईसीसीले मुख्य वरीयतामा रहेका कारण अफगानिस्तान र आयरल्यान्डलाई लिग च्याम्पियनसिपमा सहभागी नगराउने निर्णय गरेपछि डिभिजन दुईका तेस्रो र चौथो टोलीलाई यस प्रतियोगितामा अवसर पाएका हुन् ।
नेपालमा आएको शक्तिशाली भूकम्पका कारण स्कटल्यान्ड र नेपालबीचको खेल निर्धारित समयभन्दा करिब डेढ महिना हुन लागेको हो । अन्य ६ टोलीले आफ्नो पहिलो चरणको खेल सकिसकेका छन् ।
नेदरल्यान्ड्स दुई खेलमा चार अंक जोडेर समूहको शीर्षस्थानमा छ । नेदरल्यान्ड्सले आफ्नो पहिलो चरणमा पपुआ न्युगिनीलाई दुवै खेलमा हराएको हो । हङकङ, केन्या, यूएई र नामिबियाको दुईदुई अंक छ । प्रतियोगितामा स्कटल्यान्ड्स, यूएई, हङकङ र पपुआ न्युगिनी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन् । नेपाली टोलीका कप्तान पारस खड्काले पछिल्लो प्रदर्शन बिर्सिएर उत्रने बताए ।
‘यस्तो स्थिति (युरोपमा) मा केही सातादेखि खेलिरहेकाले हामी बिस्तारै अभ्यस्त भएका छौं । टोलीका रूपमा हामीले अगाडि बढेर प्रदर्शन सुधार गर्नुपर्नेछ । आयरल्यान्ड भ्रमणको तुलना (टीट्वेन्टी विश्वकप छनोट)मा हामीले निकै सुधार गर्नुपर्ने आवश्यकता छ । स्कटल्यान्ड बलियो टोली हो र यसलाई पराजित गर्न हाम्रो क्षमताअनुसार खेल्दै योजनालाई राम्रोसँग कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
हाम्रा खेलाडीले अहिले आवश्यकता बुझेका छन्’ उनले भने । सिनियर एकदिवसीय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको छैन । पछिल्लो पटक यी दुई टोलीबीच सन् २०१४ मा भएको विश्वकप छनोटमा भएको भेटमा स्कटल्यान्ड ९० रनले विजयी भएको थियो ।

श्रोत  : अन्नपुर्ण पोस्ट

Related posts