काठमाडौं: २०७२ श्रावन १३,
नेपाल वायुसेवा निगमको व्यवस्थापन सञ्चालन जिम्मा विदेशी कम्पनीलाई दिन अर्थमन्त्रालय सकारात्मक भएको छ । सहमति पाए व्यवस्थापन लुफ्थान्सा कन्सल्टिङलाई दिने निगमको तयारी छ । को व्यवस्थापन सञ्चालन जिम्मा विदेशी कम्पनीलाई दिन अर्थमन्त्रालय सकारात्मक भएको छ । सहमति पाए व्यवस्थापन लुफ्थान्सा कन्सल्टिङलाई दिने निगमको तयारी छ ।
सहमति दिनुपर्ने ठहर्याउँदै संस्था समन्वय महाशाखाले टिप्पणी उठाएर मन्त्रीसमक्ष पेस गरिसकेको जानकारी अर्थसम्बद्ध स्रोतले दिएको छ । अर्थले व्यवस्थापन सञ्चालन विदेशीलाई दिने निर्णय मन्त्रिपरिषद्मै पेस गरेर स्वीकृत गराउन भनेको छ ।
निगमको व्यवस्थापन जर्मनीको सरकारी वायुसेवा कम्पनी लुफ्थान्सा एयरको सहायक कम्पनी लुफ्थान्सा कन्टल्टिङलाई दिने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई महिना अगाडि अर्थको सहमति मागेको थियो । अर्थले यसबीचमा विश्लेषण गर्दा सहमति दिँदानै निगमको हित हुने ठहर्याएको स्रोतले बतायो ।
अर्थका अधिकारीलाई विश्वास दिलाउन लुफ्थान्साले अर्थका वरिष्ठ अधिकारी समक्ष आफूले व्यस्थापन लिए निगमलाई पुग्ने फाइदा प्रस्तुति दिएका थिए । यसबीचमा केही दलाल भनेर चिनिएका व्यक्तिका साथै प्रधानमन्त्रीले पनि यसमा चासो राखेको स्रोतले बतायो ।
तैपनि व्यस्थापन दिनुभन्दा उचित विकल्प दिन नसकिएको र भोलि निगमलाई नोक्सान पर्दा दोषको भागी हुनपर्ने भएकाले सहमति दिन थालिएको अर्थसम्बद्ध स्रोतको भनाइ छ ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार अर्थको सहमतिपछि निगम व्यवस्थापनमा विदेशी साझेदार ल्याउन बाटो खुल्नेछ । पर्यटनले आफ्नो मातहत रहेको वायुसेवा निगमबाट ग्लोवल टेन्डरमार्फत विदेशी व्यवस्थापन ल्याउन सक्छ । टेन्डरमा लुफ्थान्सालाई प्रस्ताव हाल्न लगाएर उसैलाई दिन सक्ने पनि पर्यटनले जानकारी दिएको छ ।
पर्यटन मन्त्रालयले अब निगमको राय लिएर प्रस्ताव माग्ने वा सीधै मन्त्रिपरिषद्बाट निर्णय पनि गराउन सक्छ । मन्त्रालय स्रोतका अनुसार निगमको दीर्घकालीन सुधारका लागि विदेशी व्यवस्थापन चाहिएको छ । टेन्डर प्रक्रियामा जाँदा लुफ्थान्सा जत्तिकै उपयुक्त कम्पनी नआउन पनि सक्ने भएकाले प्रचलित कानुनअनुसार सीधै सरकारी निर्णय हुन सक्छ ।
निगमका लागि विदेशी साझेदार ल्याउने र लुफ्थान्सालाई नै दिन सबैभन्दा उपयुक्त माध्यम भनेकै मन्त्रिपरिषद्बाट निर्णय गराउनु भएको पनि पर्यटनका ती अधिकारीको भनाइ छ । पर्यटनले सोही अनुसार तयारी अगाडि बढाउन सक्ने जानकारी पनि उनले दिए ।
लुफ्थान्साले चार वर्ष भित्रमा नै दुईवटा वाइडबडिसहित ६ वटा जहाज ल्याउने प्रस्ताव गरेको छ । यो कम्पनीले ७६ प्रतिशत आर्थिक दायित्व व्यहोर्ने र बाँकी २४ प्रतिशत निगमले राख्नुपर्ने प्रस्ताव लुफ्थान्साको छ ।
वायुसेवा निगमले पनि सरकारले गर्ने निर्णयकै आधारमा निगममा रणनीतिक साझेदार आउदे सक्ने बताएको छ । पछिल्लो समय एयरवस कम्पनीले पनि निगमको अपरेसन र इन्जिनियरिङ विभाग सम्हाल्ने प्रस्ताव गरेको छ । तर, यो भन्दा उपयुक्त लुफ्थान्साकै प्रस्ताव देखिएको पर्यटन मन्त्रालयको बुझाइ छ ।
लुफ्थान्साले निगमको व्यवस्थापन सम्हाल्ने प्रस्तावसँगे कर्मचारी युनियनको खारेजी, निगमको व्यवस्थापनको काम गर्न अग्रिम दुई लाख ९५ हजार युरो निगमले तिर्नुपर्ने प्रस्तावमा उल्लेख छ । यो कम्पनीले निगमलाई चारवटा न्यारोवडीका जहाज र दुईवटा वाइवडिको जहाज खरिद गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्तावमा लुफ्थान्सा एयरलाइन्सकै सहायक कम्पनी लुफ्थान्सा एभिएसन क्यापिटलसँग साझेदारी गरेर कन्सल्टिङले निगमको व्यवस्थापन सम्हाल्न चाहेको हो । लुफ्थान्साले गरेको प्रस्तावअनुसार पहिलो दुई वर्षको नाफाबाट दुई प्रतिशत रकम निगमले दिनुपर्छ ।
निगमका अनुसार कम्पनी राम्रो भएमा र दीर्घकालीन हितको पक्षमा लुफ्थान्साको प्रस्ताव आएको छ । निगमले जहाज उडाएर नाफा गर्न सक्छ भने दुई प्रतिशत नाफा बाड्नु ठूलो विषय नभएको निगमको भनाइ छ ।
निगमले भर्खरै चार करोड ८० लाख डलर (करिब चार अर्ब ८० करोड रुपैयाँ)मा खरिद गरेको एयरवस कम्पनीको ए ३२० जहाजलाई लुफ्थान्साले नौ करोड ७० लाख डलर (करिब नौ अर्ब ७० करोड रुपैयाँ) प्रस्ताव गरेको छ ।
यो क्याटलग प्राइस हो । यस अघि पनि एयरवसँग जहाज खरीद यस अघि साढे सात करोड डलर क्याटलग प्राइस राखेको जहाजको मूल्यमा निगमले चार करोड ८० लाख डलरमै पाएको छ ।
निगमका अनुसार अहिले राखेको मूल्यमा पनि आपसी समझदारीबाट जहाज निर्माता कम्पनीले ५० प्रतिशतसम्म छुट दिन सक्छ । लुफ्थान्साले निगमलाई उपलव्ध गराउने न्यारोवडी जहाजको मूल्य नौ करोड ७० लाख डलरको क्याटलग प्राइस राखेको छ । निगमले अहिले ल्याएको एयरवसका लागि चार करोड ८० लाख डलर मूल्य तिरेर पनि सात लाख डलरको क्रेडिट नोट पाएको जानकारी दिएको छ ।
यसअघि सन् १९७० मा फ्रान्सको सरकारी वायुसेवा कम्पनी एयर फ्रान्सले निगमको सम्पूर्ण व्यवस्थापन सम्हालेको थियो । तीन वर्ष व्यवस्थापन जिम्मा लिएपछि एयर फ्रान्स फिर्ता गएको निगले जानकारी दिएको छ । एयर फ्रान्सले व्यवस्थापन सम्हालेपछि नै निगमले हाल उडान रहेको ७५७ नामक एक सय ९० सिट क्षमताका दुईवटा वोइङको इन्जिनियरिङ विभाग स्थापन गरेको उल्लेख छ ।
त्यतिबेला सुधार भएको निगमको छवि एयरफ्रान्स फिर्ता गएपछि विस्तारै धमिलो हुँदै गएको हो । ‘फेरि कुनै कम्पनीलाई ५/७ वर्ष दिने हो भने मात्रै निगम सुधार हुन सक्छ’, पर्यटन मन्त्रालयका एक अधिकारीले भने ।
लुफ्थान्साले निगमको व्यवस्थापन चार वर्षसम्म तीन चरणमा गर्ने उल्लेख छ । निगमको व्यस्थापन विदेशी कम्पनीले सम्हालेको अवस्थामा चिफ अपरेटिङ अफिसर दुई जना प्रत्यक्ष हुनेछन् भने एक कार्यकारी प्रमुख अप्रत्यक्ष हुन्छ । फाइनान्स प्रमुख र कमर्सिल प्रमुख लुफ्थान्साको पक्षमा छन् ।
श्रोत : अन्नपुर्ण पोस्ट