२०७२ श्रावन १२,
भारतले अन्तर्राष्ट्रिय मान्यताविपरीत सीमाक्षेत्रमा एकतर्फी ढंगले निर्माण जारी राखेको ‘सडक–बाँध’ मा कालोपत्रे गर्न थालेको छ । केही महिनाअघि पोखरामा नेपाल–भारत गृह मन्त्रालयको सचिवस्तरीय बैठकमा दुवै देशका अधिकारीबीच स्थलगत सर्वेक्षण नहुँदासम्म काम स्थगनको सहमति भएको थियो । तर, त्यसपछि पनि सडकको ट्रयाक खोल्ने र पहिलाकोलाई चौडा पार्ने मात्र होइन, कालोपत्रे नै सुरु गरेको हो ।
बाँकेका होलिया र बेतनी दक्षिणको सीमामा कालोपत्रेको काम भइरहेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को सुरक्षामा स्थानीय ठेकेदार कम्पनीले वर्षातमा पनि कालोपत्रेको काम धमाधम गरिरहेको छ । चार लेन चौडा सडकमा कम्पनीका लोडर र स्काभेटरलगायत काममा जुटेका छन् ।
बाँकेको नेपाल–भारत सीमा क्षेत्रमा मात्र भारतले झन्डै २१ किलोमिटर लामो सडक निर्माण गरिरहेको छ । स्थानीय प्रशासनका अनुसार राधापुरदेखि पूर्व होलिया र कटकुइयासम्मै बन्न थालेको उक्त सडकको चौडाइ ३० मिटर छ । ५ मिटर अग्लो सडकले वर्षातमा पानीको प्राकृतिक बहाव रोकिएर नेपाली भूभाग डुबानको चपेटामा पर्ने खतरा बढेको छ ।
हिरमिनियाका स्थानीय राजेन्द्र बर्माका अनुसार प्राकृतिक बहाव रोकिने देखिएकाले ठाउँठाउँमा आवश्यकताअनुसार कल्भर्ट र पुल निर्माण हुनुपर्ने माग राखे पनि त्यसको सुनुवाइ समेत भएको छैन । गन्धैली नालालगायत अरू ठाउँमा पनि पानीको बहाव रोक्ने गरी घुमाउरो ढंगले सडक संरचना निर्माण भएको देखिएको छ । ०७१ मंसिरदेखि भारतले दसगजामै जोडेर सडक निर्माणलाई तीव्रता दिएको थियो ।
आयोगकी प्रवक्ता अन्सारीले बाँकेको सीमावर्ती लक्ष्मणपुर ब्यारेज, कलकलवा तटबन्ध र सीमा सडकको अवलोकन र पीडितसँग कुराकानी गरेको र काठमाडौं पुगेपछि केन्द्रमा प्रतिवेदन पेस गर्ने बताइन् । ‘खासगरी भारतले पश्चिम महाकालीदेखि पूर्व मेचीसम्मै सीमामा सडक निर्माण गरिरहेको छ,’ उनले भनिन्, ‘ती सबै ठाउँको स्थलगत अध्ययन गर्ने कार्यक्रम छ ।’
श्रोत : कान्तिपुर