ताजा खबर

भिलियर्सको सयौँ टेस्ट बेंग्लोरमा

नयाँदिल्ली, २०७२  साउन १२,

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले दक्षिण अफिकाविरुद्धको योजना सार्वजनिक गरेको छ । बिसिसिआईका अनुसार दक्षिण अफ्रिकाले भारतमा ७२ दिन लामो भ्रमण गर्नेछ । यस क्रममा दक्षिण अफ्रिकाले भारतविरुद्ध तीन टी–२०, पाँच एकदिवसीय र चार टेस्ट खेल्ने छ । भारत–दक्षिण अफ्रिकाबीच सेप्टेम्बरदेखि डिसेम्बरसम्म क्रिकेट सिरिज हुने भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जनाएको छ । द

क्षिण अफ्रिकाले पहिलोपटक भारतीय भूमिमा टी–२० सिरिज खेल्न लागेको हो । यसअघि भारतविरुद्ध भारतकै भूमिमा दक्षिण अफ्रिकाले टी–२० सिरिजमा प्रतिस्पर्धा गरेको छैन । दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले आफ्नो सयौँ टेस्ट भारतको बेंग्लोरमा पूरा गर्ने भएका छन् । १४ नोभेम्बरदेखि बेंग्लोरमा दोस्रो टेस्ट हुने बिसिसिआईले जनाएको छ ।

भिलियर्सले ९८ टेस्ट खेल खेलेका छन् । भारत–दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट ५ नोभेम्बरमा मोहालीमा हुनेछ । तेस्रो टेस्ट नागपुर र चौथो नयाँदिल्लीमा हुनेछन् । प्रत्येक सिरिजअगाडि दक्षिण अफ्रिकी टोलीलाई अभ्यास खेलको प्रबन्ध मिलाइएको बिसिसिआईले उल्लेख गरेको छ । अहमदाबादको रंगशाला पुनर्निर्माण भइरहेका कारण पहिलो टेस्ट मोहालीमा गर्न लागिएको बिसिसिआईले जानकारी दिएको छ । दक्षिण अफ्रिकी क्रिकेट बोर्डका प्रमुख अधिकृत हारुन लोर्गाटले भारतको भ्रमण अहिलेसम्मकै लामो रहने बताए ।

‘यो हाम्रो अहिलेसम्मकै लामो भारत यात्रा हो, हामी पहिलोपटक भारतविरुद्ध चार टेस्ट खेल्न गइरहेका छौँ,’ हारुनले भने, ‘हामी टी–२० सिरिजमा पनि सहभागी हुन्छौँ ।’ भेट्रान ब्याट्सम्यान भिलियर्सको सयौँ टेस्टको प्रतीक्षा आफूले गरेको उनले बताए । ‘बेंग्लोरको टेस्ट भिलियर्सको जीवनकै ऐतिहासिक हुनेछ, उनले त्यहाँ सयौँ टेस्ट खेल पूरा गर्नेछन्,’ हारुनले भने । इन्डियन प्रिमियर लिगअन्तर्गत रोयल च्यालेन्जर्स बेंग्लोरसँग आबद्ध भिलियर्सले बेंग्लोरलाई दोस्रो घरेलु मैदान मानेका छन् । सन् २००० यता भारतको भूमिमा दक्षिण अफ्रिकाले टेस्ट सिरिज जितेको छैन ।

श्रोत : नया पत्रिका

Related posts