लन्डन, २०७२ साउन १२,
स्विस टेनिस स्टार रोजर फेडेरर विश्वकै सर्वाधिक मार्केटेबल खेलाडी घोषित भएका छन् । बेलायतको स्कुल अफ मार्केटिङले तयार पारेको रिपोर्टअनुसार फेडेरर खेलाडीमध्ये सर्वाधिक मार्केटेबल घोषित भएका हुन् । उनीभन्दा पनि गल्फरद्वय टाइगर उड र फिल मिकलेन्सन क्रमश: दोस्रो र तेस्रो नम्बरमा छन् । हालै विम्बल्डन ग्रान्डस्लाम टेनिसको फाइनलमा नोभाक जोकोभिकसँग पराजित भए पनि फेडेररलाई अन्तर्राष्ट्रिय खेलकुदमा सर्वाधिक प्रभावकारी व्यक्तिका रूपमा लिइन्छ ।
१७ ग्रान्डस्लाम उपाधि जितेका फेडेरर यसपटक विम्बल्डनको आठौँ उपाधि उचाल्ने अवसरबाट चुकेका थिए । रिपोर्टमा फेडेररले यो वर्ष आठाँै विम्बल्डन उपाधि गुमाए पनि उनी प्रायोजकका नजरमा अझै प्रभावशाली व्यक्तित्वका रूपमा रहेको जनाइएको छ । ‘उनले यस वर्ष विम्बल्डन उपाधि गुमाए, तर फेडेररको व्यक्तिगत चरित्र प्रायोजकमाझ अझै पनि आकर्षक देखिएको छ,’ लन्डन स्कुल अफ मार्केटिङका फ्याकल्टी सदस्य ज्याक डी ककले भने । सो लिस्टमा टेनिस स्टारको बाक्लो उपस्थिति छ । टेनिसका शीर्ष बरियताका नोभाक जोकोभिक साताँै स्थानमा छन् । उनीपछि राफेल नाडाल छन् ।
मारिया सारापोभा र सेरेना विलियम्सले पनि यो लिस्टको शीर्ष २० भित्र स्थान बनाएका छन् । शीर्ष २० भित्र स्थान बनाउने उनीहरू मात्र महिला खेलाडी हुन् । सारापोभा १२औँ तथा सेरेना २०औँ स्थानमा छन् । यस्तै, भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनी नवौँ स्थानमा पुगेका छन् । उनले फुटबल स्टार लियोनल मेसी तथा सय मिटरका धावक युसेन बोल्टजस्ता खेलाडीलाई पछि पारेका छन् । ३४ वर्षीय धोनीले फुटबलर क्रिस्टियानो रोनाल्डो, नेमार तथा टेनिस स्टार एन्डी मुर्रेलगायतलाई पनि पछि पारेका छन् । स्कुल अफ मार्केटिङले अनुसन्धानका क्रममा खेलाडीले प्राप्त गरेको प्रायोजन रकम तथा उनीहरूको सम्पूर्ण कमाइलाई आधार बनाइएको जनाएको छ । उनीहरूले खेलाडीको सामाजिक सञ्जालमा समर्थकको उपस्थितिको पनि मूल्यांकन गरेको जनाएको छ ।
श्रोत : नया पत्रिका