ताजा खबर

नेपाललाई लय सुधार्ने चुनौती

काठमाडौं, २०७२  साउन १२,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकप छनोटमा निकै खराब प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली अर्काे महत्त्वपूर्ण प्रतियोगिताका लागि स्कटल्यान्ड पुगेको छ । नेपाली टोलीले बुधबारबाट स्कटल्यान्डविरुद्ध उसकै मैदानमा आइसिसी विश्वक्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छ । होम एन्ड अवे प्रणालीमा दुई वर्षसम्म चल्ने च्याम्पियनसिपमा नेपाल र स्कटल्यान्ड दुवैका लागि यो पहिलो खेल हुनेछ । नेपालले पहिलो चरणमा स्कटल्यान्डसँग दुई खेल खेल्नेछ । पहिलो खेल बुधबार तथा दोस्रो खेल शुक्रबार हुनेछ ।

च्याम्पियनसिप आइसिसीको एसोसिएट तथा एफिलिएट सदस्य राष्ट्रका लागि ५० ओभरमा सर्वाधिक महत्त्वपूर्ण प्रतियोगिता हो । च्याम्पियनसिप आगामी सन् २०१९ को एकदिवसीय विश्वकपका लागि ०१८ मा हुने छनोट प्रतियोगिताको छनोट खेलसमेत हो । यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा आइसिसीले एसोसिएट टोलीलाई आर्थिक सहायतासमेत प्रदान गर्ने गर्छ । यो च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेको अवस्थामा टोलीले उच्च स्तरमा खेल्ने अवसरसमेत पाउनेछ । त्यसले घरेलु क्रिकेट विकासका लागि महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पनि यसै प्रतियोगितालाई मुख्य उद्देश्य बनाउँदै आएको छ । दुई वर्षअघि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको छनोटमार्फत बंगलादेश टी–२० विश्वकपका लागि स्थान पक्का गरेर स्वदेश फर्कंदासमेत कप्तान पारस खड्काले भनेका थिए, ‘छनोट हुनु र टी–२० विश्वकप खेल्नुले मात्रै क्रिकेट विकास हँुदैन, देशको क्रिकेट विकासका लागि आइसिसीको विश्वक्रिकेट लिगको डिभिजनमै राम्रो गर्न सक्नुपर्छ ।’ तर, उनले भनेजस्तो आइसिसीको विश्वक्रिकेट लिग डिभिजनमा नेपालले राम्रो गर्न सकेन । यसै वर्षको सुरुवातमा नामिबियामा भएको डिभिजन–२ मा शीर्ष दुईमा पर्न नसकेपछि नेपालले डिभिजन–१ मा उक्लँदै च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर गुमाएको थियो । त्यसवेलासम्म आइसिसीले डिभिजन–१ का टोलीलाई मात्रै च्याम्पियनसिपमा सहभागी गराउँदै आएको थियो ।

आइसिसीले नामिबियाको डिभिजन–२ का शीर्ष चार टोलीलाई पनि च्याम्पियनसिपमा खेलाउने निर्णय गरेपछि नेपालले यो अवसर पाएको हो । आइसिसीले त्यसका लागि अफगानिस्तान र आयरल्यान्डलाई एकदिवसीय टोलीको बरियतामा बढुवा गरेको छ । त्यसैले पनि यो प्रतियोगिता नेपालका लागि महत्त्वपूर्ण छ । नेपाली टोलीले आयरल्यान्डको खराब प्रदर्शनका बाबजुद स्कटल्यान्डमा राम्रो प्रदर्शन गर्ने लक्ष्य बनाएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा जर्सीसँग पराजित हुँदै अर्काे वर्ष भारतले आयोजना गर्ने टी–२० विश्वकप गुमाएको नेपाली टोलीले त्यसको भोलिपल्ट नै छलफल गरी स्कटल्यान्डमा उत्कृष्ट प्रदर्शन गर्ने संकल्प गरेको छ ।

‘हामीले यसपटकको छनोट प्रतियोगितामा सोचेजस्तो प्रदर्शन गर्न सकेनौँ,’ आयरल्यान्डबाट फर्किएका क्रिकेटर सुवास खकुरेलले नयाँ पत्रिकासँग भने, ‘जर्सीसँग पराजित भएको भोलिपल्ट नै भएको छलफलमा स्कटल्यान्डमा राम्रो प्रदर्शन गर्ने संकल्प गरेका छौँ ।’ खकुरेलले च्याम्पियनसिप घरेलु क्रिकेटको विकाससँग जोडिएकाले आयरल्यान्डको खराब प्रदर्शनलाई भुलेर उत्कृष्ट प्रदर्शन गर्ने प्रण गरेको बताए । ‘टी–२० विश्वकप खेल्नु गर्वको विषय हो, तर त्यसले देशको क्रिकेटको स्तर बढाउँदैन,’ उनले भने, ‘देशको क्रिकेट बनाउन च्याम्पियनसिपमै राम्रो गर्नुपर्छ, त्यसबाट फन्ड आउँछ, उच्च स्तरमा खेल्ने वातावरण बन्छ, सबै खेलाडीले त्यसलाई बुझेका छन् ।’ उनीसँग सहमत कप्तान पारसले पनि स्कटल्यान्डमा सशक्त प्रदर्शन गर्ने बताएका छन् ।

उनले नेपाली खेलाडी युरोपको पिचसँग बिस्तारै परिचित भएकाले स्कटल्यान्डविरुद्ध राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे । ‘हामी पछिल्लो केही साता यो पिचमा खेलिरहेका छौँ, त्यसैले यो पिचमा कसरी खेल्नुपर्छ भन्नेबारे बिस्तारै बुझ्दै छौँ,’ आइसिसीसँग पारसले भने, ‘हामीले समूहमा मिहिनेत गर्नुपर्छ र प्रदर्शनमा सुधार ल्याउनुपर्छ ।’ उनले बलियो टोली भएकाले स्कटल्यान्डलाई पराजित गर्न सबैले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्नुपर्ने पनि बताए ।

‘स्कटल्यान्ड बलियो टोली हो, उसलाई पराजित गर्न हामीले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सक्नुपर्छ, राम्रो योजना बनाउनुपर्छ, अनि त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ,’ कप्तान पारसले भने, ‘खेलाडी सबै त्यसबारे जानकार छन् ।’ नेपाली टोलीलाई स्कटल्यान्डविरुद्ध सहज भने हुनेछैन । स्कटल्यान्ड नेदरल्यान्डसँगै टी–२० विश्वकप छनोटको संयुक्त विजेता बन्दै प्रतियोगितामा सहभागी बन्दै छ । नेपाल भने समूह एको अन्तिममा रहेर बाहिरिएको टोली हो ।

स्कटल्यान्डका कप्तान प्रेस्टोन मोम्सेनले नेपालविरुद्ध सशक्त प्रदर्शनको योजना बनाएको बताएका छन् । नेदरल्यान्ड शीर्ष स्थानमा आइसिसी विश्वक्रिकेट लिग च्याम्पियनसिपको अंकतालिकामा नेदरल्यान्डले शीर्ष स्थान कायम गरेको छ । पहिलो चरणको दुई खेलमा पपुवा न्युगिनीलाई २–० ले पराजित गर्दै नेदरल्यान्डले शीर्ष स्थान बनाएको हो । नेदरल्यान्डपछि हङकङ, केन्या, युएई र नामिबिया छन् । सबैको दुई–दुई अंक छ ।

श्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *