ताजा खबर

विवाह समारोहमै गोली हानाहान

कुन्दुज, २०७२  साउन १२,

अफगानिस्तानको उत्तरी क्षेत्रमा आइतबार राति विवाह समारोहमा पाहुनाबीच गोली हानाहान भएको छ । दुई पक्षबीचको गोली हानाहानमा २० पाहुनाको मृत्यु भएको एपीले जनाएको छ । १० व्यक्ति उपचारपछि घर फर्केको एपीले उल्लेख गरेको छ । कुन्दुजका प्रहरी प्रवक्ता जावेद बसरातले आपसी दुस्मनी फेर्न गोली चलाएको जानकारी दिए । ‘सम्भवत: दुई समूहबीच दुस्मनी फेर्नका लागि गोली चलाइएको हुनुपर्छ,’ प्रहरी प्रवक्ता बसरातले भने ।

विवाह समारोहका एक पाहुनाले अचानक गोली चलाएका थिए । अर्को व्यक्तिले आफू बच्नका लागि प्रत्युत्तर दिएको बसरातले बताए । ‘एकले बन्दुक चलाएपछि अर्कोले आत्मरक्षाका लागि गोली चलाए,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा घटना यसरी भएको देखिन्छ ।’ सो घटना उत्तरी अफगानिस्तानको सालेह जिल्लामा भएको हो । प्रहरीले दुर्घटनाको छानबिन सुरु गरेको छ । घटनाका सबै प्रत्यक्षदर्शीसँग प्रहरीले सोधपुछ गरेको छ । प्रत्यक्षदर्शीका अनुसार वैवाहिक समारोहमा ६–६० वर्षका पुरुषको बाहुल्यता थियो । थोरै संख्यामा मात्र महिला थिए ।

अफगानिस्तानको उत्तरी क्षेत्रको सुरक्षा सबैभन्दा कमजोर मानिन्छ । सो क्षेत्रमा केही वर्षयता सुरक्षास्थिति कमजोर रहेको प्रवक्ता बसरातले स्विकारेका छन् । ‘सुरक्षा व्यवस्थामा कमजोरी भएकाले नै पटक–पटक यस्ता हिंसाका घटना भएका छन्,’ उनले भने, ‘यसपटक पनि सुरक्षा व्यवस्थामा कमजोरीकै कारण यस्तो भयो ।’ दुई पक्षबीच गोली चलिरहँदा प्रहरीले हवाई फायर गरेको बसरातले बताए । प्रहरीको हस्तक्षेपपछि घटना नियन्त्रणमा आएको उनले जनाए । ‘स्थानीय प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरिङ गरेका थिए, त्यसपछि मात्र घटना सामान्य भयो,’ उनले भने । घटनामा दुलाहा–दुलही सकुशल रहेको उनले बताए ।

श्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *