
एथेन्स, २०७२ साउन १२,
ग्रिसका पूर्वप्रधानमन्त्री तथा सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष जर्ज पापान्ड्युले ग्रिस सरकारलाई वित्तीय संकट सुधार्न मौका पाएको बताएका छन् । पाँच वर्ष लामो जटितलापछि ग्रिसले आफ्नो वित्तीय कार्यक्रममा सन्तुलन राख्दा समृद्धितर्फ जाने पूर्वप्रधानमन्त्री जर्जले जनाएका छन् । ‘सरकारलाई आर्थिक अवस्था सुधार गर्ने मौका छ,’ उनले भने, ‘सरकारले प्रत्येक वर्षको वित्तीय कार्यक्रमलाई सन्तुलित बनाउनुपर्छ ।’
सन् २००९ को अन्त्यतिर ग्रिसमा आर्थिक संकट परेको थियो । दुई साताअघि युरोजोनबाट तेस्रो आर्थिक प्याकेज पाएको सरकारले आफ्ना कर्मचारीको खर्च घटाउनुपर्ने सुझाब उनले दिएका छन् । ‘तेस्रो बेलआउट प्याकेज सही स्थानमा प्रयोग गर्नका लागि सरकारले आफ्ना कर्मचारीको खर्च नियन्त्रण गर्नुपर्छ,’ प्रधानमन्त्री एलेक्सिस त्सिप्रासलाई सुझाब दिँदै जर्जले भने, ‘अर्थतन्त्रमा सुधार ल्याउन सुरुदेखि थाल्नुपर्छ ।’ पूर्वप्रधानमन्त्री जर्जले सबै जनता एकजुट हुँदै अगाडि बढ्नुपर्ने बताए ।
‘हामी सबै एकजुट भएर ग्रिसलाई फेरि एक समृद्ध राष्ट्र बनाउन लाग्नुपर्छ,’ उनले भने । यस कार्यमा जर्जले आफ्नो पार्टीको पूर्ण समर्थन रहने विश्वास दिलाए । ‘राष्ट्र निर्माणमा हाम्रो साथ जनता र सरकारलाई रहनेछ,’ उनले भने । उनले वित्तीय संकट सुधार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान हुनु जरुरी रहेको धारणा राखेका छन् । ‘सरकारको कार्यलाई गाली गर्नुभन्दा आर्थिक संकट समाधानमा योगदान दिनुपर्छ,’ ग्रिसका जनतालाई पनि सुझाब दिँदै जर्जले भने ।
ग्रिस संसद्मा देखिएको ‘सकारात्मक विकास’लाई प्रशंसा गर्दै उनले स्वागतयोग्य कदम रहेको प्रतिक्रिया दिएका थिए । सन् २००९ मा जर्ज प्रधामन्त्री बनेका थिए । उनकै कार्यकालमा लगातार दुई वर्षको सुधारयोग्य कदम आएको थियो । सन् २०११ मा जर्ज प्रधानमन्त्री रहकै वेला जनमतसंग्रह पनि भएको थियो । जनताकै जनमतअनुसार उनले प्रधानमन्त्री त्यागे ।
पूर्वप्रधानमन्त्री जर्जले प्रधानमन्त्री त्सिप्रासले बैंकलाई धरासयी हुनबाट र ग्रिसलाई थप बर्बादीबाट बचाउन तर्कहीन सर्तको पालना गरेको आरोप लगाएका छन् । सरकारले संसद्मा पेस गरेको ऐजेन्डा पास भए पनि त्सिप्रास नेतृत्वको सिरिजा पार्टीकै केही सदस्यले मतदान गरेका थिएनन् । यता प्रधानमन्त्री त्सिप्रासले आर्थिक अवस्थाअनुसार बिस्तारै ऋण तिर्दै जाने जानकारी दिएका छन् । संसद्मा ‘बेलआउट’को सर्तअनुसार कानुनमा परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
श्रोत : नया पत्रिका