ताजा खबर

सीमामा भारतको छेकबार

नेपालगन्ज,  २०७२ श्रावण १२,

भारतले नेपालबाट बग्ने खोला–नदीको प्राकृतिक बहाव रोकिने गरेर सीमा क्षेत्रमा एकतर्फी ढंगले सीमा सडक र लक्ष्मणपुर ब्यारेजका स्पर लगायतका संरचना निर्माणलाई तीव्रता दिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको टोली अघिल्लो साता कलकलवा तटबन्ध हुँदै लक्ष्मणपुर ब्यारेज पुग्दा राप्ती नदीको पानी नियन्त्रित गर्न भारतीय मजदुर स्पर निर्माणमा व्यस्त थिए । उक्त क्षेत्रमा ढुंगा र तारजाली प्रयोग गरेर स्पर निर्माण भइरहेका हुन् । स्थानीय स्रोतका अनुसार भारतले मध्यप्रदेशबाट कडाखाले ढुंगा मगाएर २८ वटा स्पर निर्माण गरिरहेको हो । ‘केही पहिल्यै बनेका थिए,’ एक भारतीय मजदुरले भने, ‘आवश्यकताअनुसार थप निर्माण भइरहेका छन् ।’ पहिला सडक जस्तो बाँध बनाएको भारतले त्यसैमा स्पर बनाउन थालेको हो ।

उक्त क्षेत्रमा दर्जनौं मजदुर दिनहुँ काम गरिरहेका छन् । स्परले वर्षातको पानीलाई नियन्त्रित गरेर ब्यारेजमा पुर्‍याउँछ । भारतले सडकरूपी बाँधको आडैमा जोडेर स्पर बनाइरहेको छ । त्यसले थप नेपाली भूभाग डुबानको खतरामा परेको स्थानीयले बताए । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्तासमेत रहेकी मोहना अन्सारी नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको हो । भारतले वर्षातमा लक्ष्मणपुर ब्यारेजका ढोकाहरू बन्द गरिदिँदा र प्राकृतिक बहावलाई छेकेर नियन्त्रित गर्दा नेपाली भूमि डुबानमा पर्दै आएको छ । पीडितले पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न समेत अनुरोध गरेका छन् ।

भारतले सन् १९८५ मा निर्माण सम्पन्न गरेको लक्ष्मणपुर बाँधका कारण वर्षात्को समयमा राप्ती किनारका बस्तीमा डुबान, कटान र पटान हुने गरेको छ । लक्ष्मणपुर बाँधकै परिपूरकका रूपमा भारतले सन् २००० मा होलियाकै दक्षिणमा २२ दशमलव ५ किमि लम्बाइ, ५ मिटर चौडाइ र उचाइ भएको कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेपछि समस्या झन् बढेको स्थानीयको भनाइ छ ।

कलकलवा र लक्ष्मणपुर बाँधले नदीको प्राकृतिक बहाव रोकिँदा र नियन्त्रित गर्दा नेपाली भूभाग डुबान हुने गरेको हो । बाँध, तटबन्ध र निर्माणाधीन सडकले बाँकेका सीमा क्षेत्रका होलिया, बेतनी, गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइयालगायत गाविस र नेपालगन्ज उपमहानगरपालिकाका केही वडासमेत डुबानमा पर्न थालेका छन् । बिहीबारको बाढीले ती क्षेत्र डुबानमा परेपछि स्थानीयले अग्लो ठाउँमा गएर ज्यान जोगाएको राधेश्याम मौर्यले बताए ।

आयोगसमक्ष डुबानमा परेकालाई उचित ठाउँमा स्थानान्तरण, पुनर्वास, राप्ती नदीको दुवै किनारमा पक्की तटबन्ध निर्माण र भारतीय सीमा सडकको स्थगन वा उक्त क्षेत्रमा पर्याप्त पानी निकासको व्यवस्था लगायतका माग राखेको बाँध पीडित संघर्ष समितिका अध्यक्ष जगदीश बहादुर सिंहले बताए ।

श्रोत  : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *