ताजा खबर

स्कटल्यान्ड र नेदरल्यान्ड संयुक्त विजेता

डब्लिन, २०७२  साउन ११,

आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड आइसिसी टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन् । आयरल्यान्डको मालाहिडेमा आइतबार वर्षाका कारण फाइनल खेल सम्भव नभएपछि स्कटल्यान्ड र नेदरल्यान्ड संयुक्त विजेता बनेका हुन् । आइसिसीले दुवै विजेतालाई बधाई दिएको छ । ‘टी–२० विश्वकप छनोट प्रतियोगिताका संयुक्त विजेता स्कटल्यान्ड र नेदरल्यान्डलाई बधाई छ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेदरल्यान्ड दोस्रोपटक छनोट प्रतियोगिताको च्याम्पियन बन्यो । स्कटल्यान्ड पहिलोपटक विजेता बनेको हो । सन् २००८ को पहिलो संस्करण नेदरल्यान्ड नै हात पारेको थियो । आयरल्यान्डले पछिल्लो दुई संस्करण उचालेको थियो । नेदरल्यान्डले सेमिफाइनलमा साबिक दुईपटकको विजेता आयरल्यान्डलाई पाँच विकेटले हराउँदै फाइनल स्थान पक्का गरेको थियो ।

स्कटल्यान्डले हङकङलाई पाँच विकेटले निराश पार्दै अन्तिम दुईको स्थान सुरक्षित गरेको थियो । यसअघि मालाहिडे मैदानमै तेस्रो स्थानका लागि आयरल्यान्ड र हङकङबीच खेल हुने भनिएको थियो । सो खेल पनि वर्षाका कारण प्रभावित बन्यो । आइसिसीले समूह चरणको बरियताअनुसार आयरल्यान्डलाई तेस्रो भएको घोषणा गर्‍यो । समूह एमा आयरल्यान्ड समूह विजेता बनेको थियो । सो समूहमा हङकङ उपविजेता बनेको थियो । नामिबियाका बेर्नान्ड स्चलट्ज म्यान अफ दी सिरिज भए । स्कटल्यान्डबाट कायल कोएट्जर सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । उनले ३४.३३ को औसतमा २०६ रन बनाए । स्कटल्यान्डका अलासाडिर इभान्सले सर्वाधिक १४ विकेट हात पारे । नेदरल्यान्डका वेन कुपर प्रतियोगिताकै सर्वाधिक रनकर्ता बनेका छन् । उनले ३४.४२ को औसतमा २४१ रन बटुलेका छन् । नेदरल्यान्डकै रोएलोफ भान र मुसादार बुखारीले समान ११ विकेट हात पारे ।

प्रतियोगितामा नेपालसहित १४ टोलीले छनोट प्रतियोगितामा भाग लिएका थिए । आयरल्यान्ड र स्कटल्यान्डमा दुई सातादेखि चलेको छनोटमा स्कटल्यान्ड, नेदरल्यान्ड, आयरल्यान्ड, हङकङ, अफगानिस्तान र ओमन अर्को वर्ष भारतमा हुने टी–२० विश्वकपमा छनोट भएका छन् । गत वर्ष बंगलादेशमा सम्पन्न टी–२० विश्वकपमा सहभागिता जनाएको नेपाल यसपटक छनोटको १२औँ स्थानमा सीमित भयो । नेपाल समूह एमा सातौँ भएको थियो । केन्या, जर्सी, नामिबिया, पपुवा न्युगिनी, अमेरिका, युएई तथा क्यानडा छनोट चरणबाटै बाहिरिए । पछिल्लो छनोटमा युएईले पनि विश्वकप स्थान बनाएको थियो ।

श्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *