
नयाँदिल्ली, २०७२ श्रावन ११,
सामाजिक कार्यकर्ता अन्ना हजारेले आइतबार भारतका पूर्वसैनिकको विरोध प्रदर्शनलाई समर्थन गरेका छन् । उनी प्रदर्शनीस्थलमै पुगेर पूर्वसैनिकको विरोधलाई समर्थन गरेका हुन् । दिल्लीको जन्तरमन्तरमा पुगेर अन्नाले सैनिकहरूको माग एउटा पद, एउटै पेन्सन योजना राम्रो भएको पनि बताए ।
अन्नाले पूर्वसैनिकको मागको समर्थनमा नै २ अक्टोबरदेखि रामलीला मैदानमा प्रदर्शन गर्ने पनि घोषणा गरेका छन् । ‘यो माग उचित छ,’ उनले भने, ‘केन्द्र सरकारले यसलाई सम्बोधन गर्नुपर्छ । यसको समर्थनमा म रामलीला मैदानमा २ अक्टोबरदेखि धर्नामा बस्नेछु ।’ अहिले युद्धमा पति गुमाएका महिलालाई समस्या भइरहेको पनि अन्नाले स्मरण गराए । ‘देशका लागि युद्धमा ज्यान गुमाएका परिवारलाई अहिले ४ हजार मात्र पेन्सन मिल्छ । आजको दिनमा त्यसले कसरी सम्भव होला ?’ उनले सरकार आफ्नो वाचाबाट पछाडि हट्न नहुने पनि बताए । पूर्वसैनिकले आफूहरू छिटो सेवानिवृत्त भएको र पेन्सनमा अत्यन्तै थोरै रकम मिलेको भन्दै आन्दोलन गरिरहेका छन् ।
भारतीय जनता पार्टीले यही विषयलाई आफ्नो चुनावी घोषणापत्रमा प्रमुखताका साथ उठाएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले बारम्बार यो विषय आफूले सम्बोधन गर्ने, तर केही समय लाग्ने बताउँदै आएका छन् ।
श्रोत : नया पत्रिका