
इस्लामावाद, २०७२ श्रावन ११,
अमेरिकी दूतावासमा काम गर्ने स्थानीय कर्मचारीको पाकिस्तानमा बन्दुकधारीले हत्या गरेका छन् । स्थानीय कर्मचारीको हत्याको जिम्मेवारी कुनै समूहले लिएको छैन । मारिने अमेरिकी कर्मचारी इकबाल बेग रहेको पाकिस्तानी प्रहरीले जनाएको छ । आइतबार साँझ बेगमाथि उनकै घरबाहिर गोली हानी हत्या गरिएको हो । अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनमा काम गर्ने बेगको हत्याको कारण खुलेको छैन । प्रहरीले यस विषयमा छानबिन सुरु गरेको छ । बेगमाथि गोली चलाउने व्यक्ति फरार भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।
प्रहरीले हत्याको कारण पत्ता लगाउने र उनीमाथि गोली प्रहार गर्नेलाई यथाशक्य पक्राउ गरेर कारबाही गर्ने बताएको छ । पाकिस्तान सरकारले बेगको हत्याले प्रहरीलाई चरमपन्थविरुद्ध लड्न अझै सन्देश दिएको बताएको छ । सरकारले पाकिस्तानबाट चरमपन्थ अन्त्य नगरेसम्म आक्रमण गर्न नछाड्ने बताएको छ । तर, यस विषयमा अमेरिका तथा अमेरिकी दूतावासले कुनै प्रतिक्रिया दिएको छैन ।
श्रोत : कान्तिपुर