काठमाडौं , २०७२ श्रावन ११,
नयाँ संविधानको मस्यौदामा जनताले दिएका रायसुझावसहितको एकीकृत प्रतिवेदन सोमबार बुझाइने भएको छ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले सोमबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमक्ष प्रतिवेदन बुझाउने भएको छ। पचत्तरै जिल्लामा खटिएका सभासद्सहितको टोलीले जनताका सुझावसहितको प्रतिवेदन समितिलाई बुझाइसकेको छ। ती सबैलाई एकीकृत गरी समितिले आज रातिसम्ममा अन्तिम प्रतिवेदन तयार गर्नेछ।
मंगलबार बस्ने संविधानसभाको बैठकमा जनताको सुझावसहितको प्रतिवेदन पेस गर्ने तयारी छ। त्यसपछि त्यो प्रतिवेदनमा छलफल गरी परिमार्जनका आधार तयर गर्न बाबुराम भट्टराई अध्यक्ष रहेको राजनीतिक, संवैधानिक तथा सम्वाद समितिमा पठाइने छ। छोटो समयमा समितिले छलफल टुंग्याएर संविधानसभामा पेस गर्नुपर्नेछ। त्यसलाई संविधानसभाले मस्यौदा समितिमा पठाउने छ।
जनताबाट आएको सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि मस्यौदा समितिले पहिले तयार भएको मस्यौदामा परिमार्जन तथा सुधार गरी नयाँ संविधानको विधेयक तयार गर्नेछ। त्यसलाई फेरि संविधानसभामा पेस गरिनेछ।
यी सबै प्रकिया र काम पुरा गरेर साउन मसान्तभित्रै संविधान जारी गर्नका लागि आन्तरिक रुपमा कार्यतालिका बनाएर काम भइरहेको सभाध्यक्ष सुवास नेम्वाङले बताए । उनले भने, सचिवालय कार्यतालिका बनाएर अघि बढिसकेको छ। मैले दलका नेताहरुलाई भनिसकेको छु।
श्रोत : अन्नपुर्ण पोस्ट