ताजा खबर

सेयर बजार थप आक्रमक

काठमाडौ,  २०७२ श्रावण ११,

मौद्रिक नीतिपछि हौसिएको सेयर बजार आइतबार थप आक्रामक देखिएको छ । बजार खुल्न नपाई अस्वाभाविक रूपमा बजार बढ्दै सीमा नाघ्न थालेपछि तीन पटक सर्किट ब्रेक लगाएर कारोबार नियन्त्रणमा लिनुपरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले दुई वर्षभित्र आफ्नो पुँजी चार गुणासम्म वृद्धि गर्नुपर्ने मौद्रिक नीतिको प्रावधानले ठूलादेखि साना र नयाँ लगानीकर्तालाई पनि हौस्याएको हो । पुँजी वृद्धि गर्नुपर्ने कारणले एक/दुई वर्षभित्रै ठूलो परिमाणमा अग्राधिकार सेयर किन्न पाइने बुझाइ लगानीकर्तामा छ । नयाँ लगानीकर्तासमेत ह्वात्तै बढेकाले सेयर बजार अनियन्त्रित बन्न पुगेको हो ।

मौद्रिक नीति सार्वजनिक भएपछि सेयर कारबोर भएको दास्रो दिन आइतबार बजार खुलेको पहिलो १५ मिनटमै सेयर ३ दशमलव १ प्रतिशतले बढेको थियो । यसपछि कारोबार नियन्त्रण गर्न पहिलो पटक १५ मिनेटका लागि सर्किट ब्रेक लगाइयो । त्यसपछि खुलेको सेयर बजारमा ९ मिनेट नबित्दै ४ दशमलव ४ प्रतिशत वृद्धि भएपछि फेरि सर्किट ब्रेक लगाइयो । त्यसबेला ३० मिनेट कारोबार बन्द भएको थियो ।

१ बजे र १० मिनेट जाँदा सुरु भएको कारोबार फेरि चार मिनटमै ५ प्रतिशतले बढेपछि सर्किट ब्रेक लगाएर कारोबारै बन्द गर्नुपरेको थियो । आइतबारको कारोबारमा नेप्से परिसूचक ५३ दशमलव ५७ विन्दुको वृद्धि भयो । कारोबार ५ दशमलव ४ प्रतिशतले बढेको थियो ।

यो वृद्धिपछि नेप्से परिसूचक १ हजार ५३ दशमलव ९५ विन्दुमा पुगेको छ । १ सय १४ कम्पनीका ८ सय २ कारोबारबाट ३४ करोड ३ लाख रुपैयाँ पुँजीकृत भएको छ । कुल १७ लाख कित्ता सेयर कारोबार भएका थिए ।

दुई वर्ष अघि नेप्से १ हजार ८३ विन्दुसम्म पुगेको थियो । सात वर्षअघि बाबुराम भट्टराई अर्थमन्त्री हुनुअघि यसरी नै बढेको थियो । त्यसबेला १ हजार एक सय ७५ सम्म पुगेको थियो । त्यसपछि शेयर बजार थलिएर हजार भन्द तलै रहेको थियो ।

त्यसैले वृद्धिलाई सेयरविज्ञले भने अस्थायीका रूपमा लिएका छन् । ठूला लगानीकर्ताको खेलका रुपमा बपनि विश्लेषण गरिएको छ । मौद्रिक नीतिको प्रभावले बजारमा बढे पनि सम्बन्धित कम्पनीको मुनाफा र त्यसबाट प्राप्त हुने लाभांशले सेयर वृद्धिलाई ‘जस्टिफाई’ नगर्ने सेयर विश्लेषक रवीन्द्र भट्टराई बताउँछन् । ‘पूर्णतया मौद्रिक नीतिकै कारण लगानीकर्ता सेयरमा आकर्षित भएका देखिन्छन्,’ उनले भने, ‘कम्पनीको मुनाफा र लाभांशलाई ख्याल नगरी लगानी गर्नेहरू धेरै देखिएकाले वृद्धि अस्वाभाविक देखिन्छ ।’

मौद्रिक नीतिले घोषणाजस्तो बैंक वित्तीय संस्थाले पुँजी जुटाउन सक्नेमा सेयरविद् शंका व्यक्त गर्छन् । पुँजी जुटिहाले पनि सानो बजार भएकाले यी संस्थाले कारोबार बृहत् गरी नाफा नै कमाउँछन् भन्ने अवस्था छैन । त्यसैले अहिलेका लगानीकर्ताले नाफा र लाभांशलाई नहेरी लगानी गरेको भट्टराईको बुझाइ छ । ‘छोटो समयमा नाफा आर्जन गर्न खोज्नेका लागि ठिक समय हो,’ उनले भने, ‘दीर्घकालका लागि फाइदाजनक नहुन सक्छ ।’

आइतबार कारोबार भएका १ सय १४ कम्पनीमध्ये अधिकांशको मूल्य बढेको थियो । स्टक एक्सचेन्जका अनुसार एउटा कम्पनीको कारोबार मात्र ० दशमलव ७ प्रतिशतले घटेको थियो । सबैभन्दा धेरै बैंक, वित्तीय संस्था र जलविद्युत् कम्पनीका सेयरको कारबार भयो ।

एक्सचेन्जका अनुसार बिमा कम्पनीहरूको कारोबार २ सय विन्दुले वृद्धि भएको थियो । त्यसैगरी जलविद्युत् कम्पनीको नेप्से १ सय ६ दशमलव ९८ विन्दुले बढ्यो । बैंकिङ क्षेत्रको नेप्से भने ६० दशमलव ६७ विन्दु र विकास बैंक २९ दशमलव ८२ विन्दुले बढेको थियो ।

कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । त्यसमध्ये पनि हिमालयन बैंकको परिसूचक ९० विन्दुले बढेको थियो । १० प्रतिशतभन्दा बढी सेयर बढ्ने कम्पनीमा प्राइम कमर्सियल, सिटिजन्स, सनराइज, एनसीसी, सिभिल, आईएलएफसी, .प्रभु बैंक, एनआईसी एसिया, ज्योति विकास, जनता र एभरेस्ट बैंक छन् । २० भन्दा बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।

नेप्से नियमअनुसार एक दिन सेयरमा १० प्रतिशतभन्दा बढी वृद्धि भए सम्बन्धित कम्पनीको कारोबारमा रोक्ने गरिन्छ । आइतबार यी कम्पनीको कारोबारमा पनि रोक लगाउनुपरेको थियो । सबैभन्दा कम फाइनान्स कम्पनी र होटल क्षेत्रको वृद्धि भएको थियो । होटल क्षेत्रको कारोबार २८ दशलव ६८ विन्दुले वृद्धि भएको देखिए पनि कारोबार रकममा १ दशमलव ४९ प्रतिशत बढेको थियो । त्यस्तै फाइनान्स कम्पनीमा ७ दशलव ९ विन्दु (१ दशमलव ४९ प्रतिशत) ले वृद्धि भएको थियो ।

सेयर बढ्नेमा अधिकांश साना बैंक तथा वित्तीय संस्था छन् । चुक्ता पुँजी र सेयर मूल्य कम भएका कम्पनीमा लगानीकर्ताको चासो बढेको सेयर ब्रोकर बताउँछन् ।

सेयर ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अञ्जन पौडेल सेयर बजार बढ्नुमा मौद्रिक नीति मात्र नभई राजनीतिक कारण पनि रहेको बताउँछन् । राजनीतिक दलहरूको १६ बुँदे सहमतिले बजारलाई सान्त्वना दिइरहेका बेला संविधान जारी हुने पक्कापक्कीले पनि लगानीकर्तालाई आश्वस्त पारेको उनको बुझाइ छ । ‘पछिल्लो समय मौद्रिक नीतिको प्रभाव देखिए पनि सेयर बढ्नुमा राजनीतिक कारण पनि छ,’ पौडेलले भने, ‘एक महिनाभित्र संविधान जारी हुने, मुलुकमा स्थायित्व हुने विश्वासले पनि लगानीकर्ता आकर्षित देखिन्छन् ।’

यो वृद्धि दीर्घकालीन हुनेमा पौडेललाई पनि शंका छ । उनी लगानीकर्ताहरू परिपक्व हुँदै गएकाले बजार चाँडै ‘करेक्टिभ’ हुनेमा विश्वस्त छन् । १६ बँुदे सहमतिपछि पनि यस्तै उछाल आएको थियो । तर भोलिपल्टै ‘करेक्सन’ भएको उदाहरण पौडेलले दिए । ‘यो वृद्धिमा पनि करेक्सन हुँदै जान्छ,’ उनले भने, ‘भोलिदेखि नै सुधार हुँदै जाला ।’

श्रोत : कान्तिपुर

Related posts