
जनकपुरधाम , २०७२ श्रावन ११,
संविधानको प्रारम्भिक मस्यौदा मधेसविरोधी रहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताले मञ्चमा भाषण गरिरहँदा दर्शकदीर्घामा बसेका सहभागी भने तिनै नेतालाई ‘धोकेबाज’ भन्दै थिए।
मोर्चाद्वारा आइतबार जनकपुरमा आयोजित विरोधसभामा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव उपस्थित थिए।
मञ्चबाट सद्भावना पार्टीका अध्यक्ष महतोले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘बेइमान’ रहेको र उनले मधेससँग गद्दारी गरेको आरोप लगाए । उनको भाषण सुनिरहेका सर्वसाधारण भने व्यक्तिगत स्वार्थका कारण आफू मिलेर बस्न नसक्ने मधेस केन्द्रित दलले अरुलाई ‘बेइमान’ भन्नु अशोभनीय हुने टिप्पणी गर्दै थिए । करिब एक घण्टा भाषण गरेका महतोले आफ्नो अधिकांश समय कांग्रेस, एमाले, एमाओवादी र विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई आलोचना गर्नमै खर्च गरेका थिए।
तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष वृषेशचन्द्र लालले अगामी दिनमा जनताको निर्णयबिना कुनै पनि सम्झौता नगर्न मोर्चाका शीर्ष नेतालाई आग्रह गरे । त्यसपछि तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रले मधेसी दलहरुले पहिला जे–जस्तो गल्ती गरे पनि अबका दिनमा जनताको सहमतिबिना कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।
२४ जनाजति मोर्चाका नेता कार्यकर्ता मञ्चमा बसेकामा तीनजना महिला नेतृमात्र थिए । मञ्चको एक कुनामा बसेका तीनजना महिला नेतृमध्ये कसैलाई पनि सम्बोधन गर्न नबोलाइएपछि दर्शकदीर्घाबाट सहभागी महिलाले समेत आक्रोश पोखेका थिए । आक्रोश साम्य पार्ने प्रयासमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू बोल्ने समय एकजना महिला नेतृ र एकजना दलित नेतालाई दिन्छु भनेका थिए ।
उद्घोषकमाथि आक्रोश व्यक्त गर्दै यादवले भने, ‘मधेसको मुक्ति भनेको यहाँका महिला, दलित, जनजाति, आदिवासी सबैको मुक्ति रहे पनि यत्रो कार्यक्रममा एकजना महिलालाई पनि बोल्ने समय नदिनु अति नै निन्दनीय छ । महिला नेतृले नबोलेसम्म म बोल्दिनँ ।’
यादव रिसाएपछि केहीबेर कार्यक्रम स्थलमा हल्लाखल्ला भएको थियो । अन्त्यमा उद्घोषकले माफी माग्दै सभासद उर्मिला साहलाई बोल्न आग्रह गरेका थिए । त्यसपछि बोलेका यादवले मधेसलाई समावेश नगरी ल्याइने संविधान आफूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। ‘यस्तो संविधान ल्याइयो भने त्यसको विरुद्धमा मधेसमा पुनः ठूलो आन्दोलन हुनेछ । मधेसीले आफ्नो संविधान आफैं लेख्ने छन्’, यादवले भने।
मोर्चाका शीर्ष नेताले ११ गते विराटनगरमा गरिने विरोधसभाबाट मोर्चाका आगामी कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए । मधेसी दलहरुसँग गरिएको सम्झौता अनुरुप अन्तरिम संविधान ल्याइए पनि संविधानको प्रारम्भीक मस्यौदामा मधेसको अधिकार कुण्ठित गर्ने प्रयास गरिएको भन्दै मोर्चाका शीर्ष नेताले मस्यौदाअनुरुप नै संविधान जारी गरियो भने मधेसलाई मान्य नहुने चेतावनी दिएका थिए।
श्रोत : अन्नपुर्ण पोस्ट